काठमाडौं। २०७९ साउन १७ गते काठमाडौं टोखास्थित कालिका इन्टरप्राइजेज प्रालिले दुबईबाट खाद्यान्न सामग्री (मुङ दाल) भनेर भित्र्याइएको फेला पारेपछि वीरगन्ज भन्सार कार्यालयले कम्पनीलाई १० करोड ७२ लाख जरिवाना तोकेको थियो।
दुबईबाट भारतसम्म पानी जहाजमा र भारत कोलकाताबाट रेलमार्ग हुँदै मुङ दाल भनेर वीरगन्ज सुक्खा बन्दरगाहसम्म ल्याइएको (जिइएसयु ५०४८८०३४५ जी १) नम्बरको कन्टेनरमा जेठ १३ गते शंका लागेपछि जाँच गर्दा ठूलो परिमाणमा विदेशी ब्रान्डको चुरोट फेला परेको थियो।
कन्टेनर जाँच्दा २६ हजार ६ सय १० किलो दाल घोषणा गरिएको कन्टेनरमा १४ हजार ८ सय २५ किलोमात्र दाल थियो। यसबाहेक ५८ लाख ३८ हजार ४ सय खिल्लीका ४ सय कार्टुन विदेशी चुरोट आयात भएको भेटिएको थियो।
यो उदाहरण सरकारी अधिकारीको कारबाहीमा परेपछि बाहिरिएको थियो। तर, सरकारी अधिकारीको सेटिङमा भित्रिने चुरोटको बजारले बिस्तारै कब्जा जमाउँदै गएको छ।
अहिले बजारमा अन्तःशुल्क नलगाइएका चुरोट छ्याप्छ्याप्ती छन्। स्रोतका अनुसार काठमाडौं उपत्यकामै अन्तःशुल्क स्टिकर नलगाइएका र भन्सार छलेर भित्रिएका ब्ल्याक, गुड्यामगरम, इस्से र डनहिल लगायत ब्रान्डका चुरोट छ्याप्छ्याप्ती पाइन थालेका छन्।
व्यापार घाटा नेपालको सबैभन्दा ठूलो आर्थिक चुनौतीका रूपमा देखापरेको छ। जसलाई कम गर्न नेपाली चुरोट उद्योगको योगदान उच्च छ। तै पनि विदेशी आयातित वस्तुको पकड बढ्दै गएकोमा व्यवसायी चिन्तित हुन थालेका छन्।
अत्याधिक कर वृद्धिका कारण वर्षेनि गैरकानुनीरूपमा विदेशी चुरोट भित्रिन थालेका छन्। केही समयअघि विराटनगर भन्सार नाका हुँदै नेपाल भित्र्याइएका २ सय बट्टा खुकुरी चुरोट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि भारतमा उत्पादित नक्कली चुरोट नेपालका बजारमा आउने गरेको प्रमाणित भएको थियो।
चुरोटको बट्टा नेपालको उत्पादनसँग हुबहु मिल्छ। बरामद गरिएका गोल्ड स्टेप टोबाको प्रालिको उत्पादन नक्कली खुकुरी चुरोट सशस्त्र प्रहरीको विराटनगर गुल्मले नियन्त्रणमा लिएको थियो।
गोल्ड स्टेप टोबाको प्रालिको स्थायी ठेगाना भारत बिहारको राजधानी पटनामा छ। भारतमा उत्पादित नक्कली चुरोट नेपालको भन्दा एक बट्टामा ३० रुपैयाँ सस्तो छ।
नेपालमा कर बुझाएर उत्पादन भएका वस्तुको नक्कली उत्पादन भारतबाट ल्याइँदा राजस्वमा असर परेको कर अधिकृतहरू बताउँछन्। भारतमा उत्पादित पान मसला रजनीगन्धा र तुलसी पनि नक्कली बनाएर नेपाल भित्रिने गरेको छ।