काठमाडौं। बनेपा मूलसडकबाट तीन किलोमिटर उकालो चढेपछि पुगिने आगन्तुक रिसोर्ट पछिल्लो समय आन्तरिक पर्यटक केन्द्र (हब) बनेको छ।
सन् २०१९ बाट सञ्चालनमा आएको रिसोर्ट कोभिड महामारी झेल्दै अहिले पूर्णरूपमा सञ्चालनमा आएको हाे।
७५ रोपनी क्षेत्रफलमा निर्माण भएको रिसोर्ट झट्ट हेर्दा माटोले बनेको ढिस्कोजस्तै देखिन्छ। जग्गा बनावटअनुसार नै संरचना निर्माण गरिएकाले बाहिरबाट आउनेबित्तिकै हेर्नेलाई लाग्न सक्छ यो त पुरानै घर हाे। तर, त्यो घरभित्र रहेका कोठा भने आधुनिक शैलीमा सजिसजावटसहित ‘लक्जरियस’ छन्।
रिसोर्टमा राखिएका हरेक सामान कलात्मक छन् भने हरेक कोठामा बालकोनी छ। जसबाट बाहिरी वातावरण प्रत्यक्ष नियाल्दै प्रकृतिसँग साक्षात्कार गर्न पाइन्छ।
अझ मौसम खुलेको बेला सर्वाेच्च शिखर सगरमाथासहित विभिन्न हिमालका दृष्य सहजै नियाल्न सकिने रिसोर्टका अध्यक्ष सरस्वती ज्ञवालीले बताइन्।
२ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको रिसोर्टमा अहिले ५२ वटा कोठा सञ्चालनमा छन्।
कमिला घरमा `मुगल थिम´ का रुम
रिसोर्टको मुख्य विषेशता भनेको कलात्मक तर पुरानै शैलीमा निर्माण गरिएको `कमिला घर´ हो। गाउँका घरमा लगाइने कमेरो माटोकाे झल्को दिने गरी निर्माण भएको घर धेरैको आकर्षणको केन्द्र बनेको छ।
रिसोर्टका रेसिडेन्ट म्यानेजर बिमल पौडेलका अनुसार बाहिरी ‘लुक्स’ भने इजिप्सियन र मेडिटेरियन ‘कम्बाइन’ गरेर युरोप र इजिप्टको बीचको पाटोकाे झल्को दिने खालको बनाइएको छ।
रिसोर्टको सम्पूर्ण थिम स्वर्गीय हरि नेपालले बनाएका हुन्। उनको दुई वर्षअघि कोभिडका कारण निधन भएको थियो। उनै नेपालले विभिन्न देश घुम्दा देखेका दृष्यलाई सँगालेर आफ्नो रिसोर्ट डिजाइन गरेका थिए।
उनले नेपाली कलात्मकता झल्काउन कमिला घरको नाम दिएको म्यानेजर पौडेलले बताए। त्यही घरभित्र मुगल थिमका चार कोठा छन्।
खासगरी भारतीय राजस्थानी संस्कृतिसँग जोडिएर उनीहरूले प्रयोग गर्ने सामान बढी मात्रामा सजाइएकाे छ। रिसाेर्ट सञ्चालकहरूले परम्परागत नेपाली झल्को दिने खालको बनाउँदा बाहिरी डिजाइन र रङ भने त्यस खालको झल्को दिएको म्यानेजर पौडेलले बताए।
त्यसभित्रका चार कोठा भने राजस्थानी रङ, डिजाइन र उनीहरूले प्रयोग गर्ने सामानका रङ समावेश गरेर `मिनी स्वीट´ का रूपमा `मुगल रुम´ को नाम दिइएको छ।
यी काेठा विषेश गरेर मारवाडी समुदायले बढी मात्रामा रुचाउने गरेका छन्। यसको मूल्य रातको १५ हजार रुपैयाँ ताेकिएकाे छ।
उक्त रकमभित्र दुईजनालाई डिनर र ब्रेकफास्टको व्यवस्था गरिएको हुन्छ। कमिला घर तीन तलाको छ। घर भित्र ३२ कोठा छन्।
कर्पोरेट `रिट्रिट´ बढी
रिसोर्टमा हाल कर्पोरेट `रिट्रिट´मा आउनेको संख्या बढेको छ। तीन वर्षमा ९९ प्रतिशत ग्राहक नेपाली नै रहेका छन्। काठमाडौंबाट नजिकको गन्तव्य भएकाले पनि सबैको रोजाइमा रिसोर्ट परेको हुनसक्ने सञ्चालक ज्ञवालीको भनाइ छ।
रिसाेर्टमा साढे १२ हजारदेखि २० हजार रुपैयाँसम्मका कोठा पाइन्छन्। रिसोर्टले आन्तरिक पर्यटकलाई प्राथमिकतामा राख्दै विभिन्न प्याकेजसमेत ल्याउन लागेको छ।