काठमाडौं। उद्योगपति स्वर्गीय विश्वनाथ केडियामाथि लेखिएको पुस्तक अथक, शान्त साधक सार्वजनिक गरिएको छ। पुस्तकको सार्वजनिक उपराष्ट्रपति रामसाय प्रसाद यादवले गरेका हुन्।
देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको नेपालको पुरानो व्यावसायिक घराना केडिया अर्गनाइजेसनका प्रबन्ध निर्देशकसमेत भइसकेका स्वर्गीय केडियाले सुरु गरेका व्यवसाय, त्यसले देशको अर्थतन्त्रमा पुर्याएको योगदान र उनको समाज सेवामा आवद्धतामाथि पुस्तकमा प्रकाश पारिएको छ।
केडियाले आफैँले उद्योग स्थापना नगरे पनि पारिवारिक रूपमा स्थापना भएका उद्योग, व्यापार व्यवसायहरूको जग बलियो पार्ने काममा निरन्तर लागेका उद्योगी हुन्।
गोर्खा फाइनान्स कम्पनीमा केडिया लामो समयसम्म निर्देशकका रूपमा रहे। उक्त फाइनान्सको चुक्ता पुँजी २ करोडबाट १८ करोड पुर्याउनुमा केडियाकै योगदान थियो।
त्यही बेला नेपाल राष्ट्र बैंकले फाइनान्स कम्पनीको न्यूनतम पुँजी ८० करोड पुर्याउनुपर्ने अनिवार्य नियम बनाएसँगै वित्तीय संघसंस्थाहरू मर्जमा जानुपर्ने बाध्यताका कारण गोर्खा फाइनान्स पनि प्रुडेन्सियल फाइनान्समा मर्ज भयो। अहिले प्रुडेन्सियल फाइनान्स पनि एनएमबि बैकसँग मर्ज भई आफ्नो वित्तीय कारोबार अगाडि बढाउँदै आएको छ।
केडिया विगतमा इन्दुशंकर चिनी उद्योगको अध्यक्ष तथा निर्देशक र अन्तिमसम्म सीताराम गोकुल मिल्क्सको अध्यक्षीय जिम्मेवारीमा थिए।
पुस्तक सार्वजनिक कार्यक्रममा उपराष्ट्रपति यादवले स्वर्गीय विश्वनाथ र उनी आवद्ध उद्योगले देशको अर्थतन्त्रलाई माथि लैजान ठूलो योगदान गरेको बताए।