वार्षिकरूपमा सरकारले ल्याउने बजेटको मूलउद्देश्य अर्थतन्त्र सुधार गरी गाउँ–गाउँसम्म विकासको लहर पुर्याउने भन्ने हो। बजेट उद्योगी/व्यवसायीका लागिमात्र नभएर सर्वसाधारणका लागि पनि महत्वपूर्ण मानिन्छ।
बजेटमार्फत मुलुकको समग्र आर्थिक विकासको नीति तय हुने भएकाले आमजनता, उद्योगी/व्यवसायी र कर्मचारी सबै प्रत्यक्ष/अप्रत्यक्षरूपमा लाभ/हानीको हिस्सेदार बन्छन्।
बजेट घोषणा हुँदा प्रायः जनतामुखी रहेको बताइन्छ। तर, पूर्णरूपमा बजेट कार्यान्वयन नहुँदा त्यसको हिस्सा प्रत्यक्षरूपमा जनतासम्म पुग्न मुस्किल भइरहेको छ। त्यसैले बजेट कार्यान्वयन हुने गरी ल्याइनुपर्छ।
बजेट आन्तरिक उत्पादन (कृषि र जलविद्युत), पर्यटन र पूर्वधार क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर आउनुपर्छ। आन्तरिक उत्पादन बढाएर आयात घटाउँदै निर्यातमा जोड दिइनुपर्छ र त्यसका लागि आवश्यक प्रोत्साहन नीति अवलम्बन गर्नुपर्छ।
मुलुकमा जारी आर्थिक समस्या आयातमा बढी निर्भर हुँदा र निर्यात हिस्सा बढ्न नसक्दा आएको हो। आन्तरिक उद्योग प्रोत्साहित गर्ने नीति बजेटले अँगाल्नुपर्छ।
पछिल्ला दुई÷तीनवटा बजेट नजिकबाट नियाल्दा भाषणका रूपमा बजेट निकै राम्रा आउने, तर बजेटमा समेटिएका कार्यक्रम लागू गर्न सरोकारवाला मन्त्रालयले कार्यविधिसमेत बनाएको पाइँदैन।
त्यसैले बजेटमा के र कस्तो आउँछ भन्दा पनि आएका विषय कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने विषय सबैभन्दा महत्वपूर्ण विषय हो। सरकारले आफ्नो बजेट अघि सारिरहँदा कार्यान्वयन गर्न सक्छु कि सक्दिन, स्रोत सुनिश्चित हुन्छ कि हुँदैन यकिन गर्नु आवश्यक छ।
क्षणिक खुसी दिने वा वाहवाही कमाउने बजेटले मुलुकको हित गर्दैन। कुनै व्यक्ति वा संस्था विशेषका लागि नभई समग्र मुलुकको हितका लागि सोचेर÷बुझेर समय अनुकूल बजेट ल्याउन जरुरी छ।
नेपालजस्तो सानो मुलुकमा राजनीतिक नेतृत्वले चाह्यो भने आर्थिक विकास गर्न धेरै समय लाग्दैन। हामी सबैको चाहना छ, ‘विकसित देशका तहमा नेपाल पनि पुगोस्। त्यहाँको जस्तै सडकसहितका पूर्वधार बनोस्। घर र सहर त्यही किसिमको होस्। नेपालको राहदानीको महत्व पनि अन्य देशको जस्तै बनोस्।’
अहिले विकसित देशमा नेपालको राहदानीको मूल्य (भ्यालु) दोस्रो र तेस्रो दर्जामा राख्ने गरिएको छ, जुन नेपालका लागि दुखद विषय हो। नेपालीहरू बाहिर जाँदा गौरवसाथ आफ्नो राहदानी अगाडि देखाउन सक्ने हुनुपर्छ।
मुलुकको स्थिति कस्तो छ भन्ने हामीलाई थाहा भए पनि बाहिरका मानिसलाई नेपालको विकास र राजनीतिको विषयमा खासै जानकारी हुँदैन। त्यसैले राजनीतिक नेतृत्वले तीव्र इच्छाशक्ति देखाएर काम गरे मुलुकको विकासले फड्को मार्न सक्छ।
मुलुकको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजनाहरू बजेटले छनौट गर्नुपर्छ। जलविद्युत, पर्यटन र कृषि क्षेत्रमा दक्षिण एसियाली देशमै नेतृत्व गर्ने गरी नेपालले काम गर्न सक्छ। त्यसैले बजेट कनिका छरेजस्तो गर्नुभन्दा निश्चित क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ।
मुलुकमा विदेशी मुद्रा भित्र्याउने माध्यमका रुपमा वैदेशिक रोजगारी र पर्यटन क्षेत्र सीमित छ। औद्योगिक क्षेत्रले पनि विदेशी मुद्रा भित्र्याउन सक्छ भन्ने मान्यता राखेर आन्तरिक उद्योगलाई प्रोत्साहन गर्न जरुरी छ।
(गोल्यान गोल्यान ग्रुपका निर्देशक हुन्।)