काठमाडौं। नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक, फोनपे पेमेन्ट सर्भिस लिमिटेडले प्राथमिक सेयर (आइपिओ) जारी गर्न पुर्वतयारी सुरु गरेको छ।
फोनपे र एनएमवी क्यापिटल लिमिटेडबीच परामर्शसेवा सम्बन्धि सम्झौता भएको छ। एनएमबी क्यापिटलले फोनपेलाई आफ्नो विशेषज्ञता र क्षमताका आधारमा आइपिओ जारी गर्ने सम्बन्धमा परामर्श सेवा प्रदान गर्नेछ।
यो सम्झौता सँगै एनएमवी क्यापिटलले फोनपेलाइ आइपिओ जारी गर्न चाहिने पुर्वतयारी गर्न सघाउने छ। पुर्वतयारीको काम सकिएपछि नियमक निकायबाट आवश्यक स्वीकृति लिइ फोनपेले सर्वसाधारणका लागि आइपीओे जारी गर्ने छ।
फोनपे आइपीओ जारी गर्ने तयारीमा रहेको नेपालको पहिलो फिनटेक कम्पनी हो। नेपालको पूँजी बजारमा सार्वजनिक सूचिकृत कम्पनी बन्न पाइला चालिरहेको फोनपेको लागि एनएमबीसँग सम्झौता एक महत्वपूर्ण कोसेढुङ्गा बनेको छ।
सम्झौतामा हस्ताक्षर गर्दै फोनपेका प्रमुख कार्यकारी प्रमुख दिवस सापकोटाले एनएमबीसँगको सम्झौताले आफुहरुलाइ थप सहज हुने बताएका छन।
“हामीले साधारण सेयर जारी गर्ने मात्र भन्दा पनि प्रविधि क्षेत्रमा काम गरिरहेका नेपालका अन्य कम्पनीहरुलाई प्रेरणा दिन र बेन्चमार्क सेट गर्न खोजेका हौँ। यस सपनालाई हासिल गर्न हामीलाई आवश्यक पर्ने सहयोग र मार्गदशन गर्नका लागि एनएमबी क्यापिटलसँग सहकार्य गर्न लागेका हौं।
फोनपे नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको रूपमा इजाजतपत्र प्राप्त एक अग्रणी डिजिटल भुक्तानी नेटवर्क हो। सन् २०१९ देखि सञ्चालनमा रहेको फोनपेले बैंक तथा वालेट प्रदायकका ग्राहकहरूलाई मोबाइल फोन मार्फत नगदरहित भुक्तानी सेवा दिदै आएको छ।
फोनपे नेटवर्कमा ५८ वटा भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु सदस्य छन। १ करोड ८० लाख भन्दा बढि सन्तुष्ट सेवाग्राही र १२ लाख बढि मर्चेन्टहरु आवद्ध छन। यसले दैनिक ७ अर्ब रुपैयाँ बढीको नगद रहित कारोबारलाइ सहजिकरण गरिरहेको छ।