काठमाडौं। सडक सञ्जालमा आधुनिक प्रविधि प्रयोग गरेर बन्न लागेको नेपालकै दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको ‘पोर्टल’ (प्रवेशमार्ग) को काम सुरु भएको छ।
आयोजना प्रमुख रामपुकार जैसवालका अनुसार आइतबारबाट निर्माण कम्पनीले पोर्टलको काम सुरु गरेको हो। तर, पुरै सुरुङ निर्माण कार्य भने सुरु भएको छैन।
सुरुङमार्ग निर्माण जिम्मेवारी ‘चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनी’ ले पाएको छ। निर्माण कम्पनीले सुरुङको डिजाइनसमेत बनाउने गरी सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र र चाइना स्टेटबीच २०७८ फागुनमा ठेक्का सम्झौता भएको थियो।
जसअनुसार एक वर्षभित्र डिजाइन बनाएर केन्द्रलाई दिनुपर्ने र चार वर्षमा सुरुङ निर्माणको काम पूरा गर्नुपर्ने सम्झौता छ। डिजाइन तयार र निर्माणको कामसहित चाइना स्टेटलाई पाँच वर्षको समय रहेको छ।
सम्झौताअनुसार चाइना स्टेटले २०७९ पुसमा विकास केन्द्रमा सुरुङमार्गको डिजाइन पेस गरेको थियो। उक्त डिजाइन अध्ययन गर्न नेपालका प्राविधिकले मात्रै सम्भव नभएपछि विकास केन्द्रले सडक विभागको सहायतामा स्विजरल्यान्डका प्राविधिकको सहयोगमा डिजाइन अध्ययन गरिरहेको छ।
निर्माण कम्पनीले दिएको सुरुङको डिजाइन अध्ययन विकास केन्द्रले विभिन्न चरणमा अध्ययन गरिरहेको केन्द्रका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) दीप बाराही बताउँछन्।
उनका अनुसार आयोजनाको काम अघि बढाउन तत्काल आवश्यक पर्ने डिजाइन पहिला अध्ययन गर्ने र बाँकी डिजाइन बिस्तारै अध्ययन हुँदैछ। सोहीअनुसार सुरुङ खन्नुअघि आवश्यक पोर्टलको डिजाइन स्वीकृत भएर निर्माण कम्पनीले काम सुरु गरेको हो।
‘सुरुङको डिजाइन स्वीकृत भएको छैन, अध्ययन हुँदैछ,’ आयोजना प्रमुख जैसवालले क्यापिटल नेपालसँग भने, ‘तर, पोर्टलको डिजाइन स्वीकृत गरेर काम गर्न हामीले अनुमति दिएका हौं।’
उनका अनुसार पोर्टलको काम हुनुलाई सुरुङ खनेको भनेर बुझ्न मिल्दैन। साथै, सुरुङको डिजाइन स्वीकृत हुने समय अझै निश्चित भएको छैन। विकास केन्द्रलाई डिजाइन अध्ययन गर्ने समय नौ महिना छ। २०७९ पुसबाट केन्द्रले सुरुङको डिजाइन अध्ययन गर्दै आएको छ।
पहिलो चरणमा केन्द्रले सुरुङ प्रवेशमार्ग (पोर्टल) को डिजाइन स्वीकृत गरेको छ। अझै सुरुङ र सडकको डिजाइन अध्ययन क्रममा रहेको केन्द्रले जनाएको छ।
प्रवेशमार्ग निर्माण गरेपछि मात्रै सुरुङ खन्ने काम हुन्छ। प्रवेशमार्ग, सुरुङ र सडकको छुट्टाछुट्टै डिजाइन तयार हुन्छ। सामान्यतया ५/६ महिनामा प्रवेशमार्ग तयार गरेर सुरुङ खन्ने व्यवस्था गर्न सकिन्छ।
१ हजार १ सय २६ मिटर लामो सुरुङमार्गको लागत ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ छ। सुरुङ ‘इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन’ (इपिसी) मोडेलमा निर्माण हुँदैछ।
पृथ्वी राजमार्गमा पर्ने उक्त सुरुङ बनेपछि पहिरोबाट हुने क्षति र सवारी आवतजावत समस्या समाधान हुने विश्वास सरकारको छ। सरकारले आफ्नै लगानीमा निर्माण गर्न लागेको सिद्धबाबा नेपालकै पहिलो सुरुङमार्ग हो। नागढुंगामा निर्माणाधीन सुरुङमार्गमा जापानले ऋण सहयोग गरेको छ।