मुलुक ठूलो आर्थिक अशान्तिको समयबाट गुज्रिरहेको छ। हाम्रा दीर्घकालीन लक्ष्यसँगै दैनिक गतिविधि गम्भीर आर्थिक खतरामा परेका छन्। बजेट बनाउनुअघि कम्तीमा एक दशकको परिस्थिति अध्ययन गर्नुपर्छ। १० वर्षअघि के थियौं र अहिले के छौं? १० वर्षअघि अन्य देश के थिए र अहिले कहाँ छन् भनेर विश्लेषण गर्नुपर्छ।
प्रत्येक वर्ष बनाइएका पूर्वाधार परियोजना र नयाँ विकासका योजना हाम्रो क्रयशक्ति, हाम्रो विकास समय र अन्य देशसँगको लयमा छैन। आधारभूत सडक निर्माणमा पाँच वर्ष लाग्ने र आर्थिक वर्षको अन्तिम दिन सडक निर्माणका लागि ढुंगा र गिटी हालेर बजेट सिध्याउने नीति अहिले पनि उस्तै छ। परिवेश सबैले देखेबुझे पनि अहिलेसम्म केही गर्न सकिएको छैन।
हामीले कहाँ गल्ती गर्याैं भनेर बुझ्ने र यसपटक दोहोर्याउन नदिनु धेरै महत्वपूर्ण छ। गैरप्रभावी क्षेत्र, कामदार, एजेन्ट आदि पहिचान गर्न र त्यसको सुधार सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो। नेपालले अहिलेको परिस्थितिमा विश्वसँग प्रतिस्पर्धा गर्न सक्दैन। विश्वविकास हुँदैछ र नेपालले पनि त्यसै गर्ने बेला आएको छ।
लगानी अवरुद्ध भएका क्षेत्र, अनावश्यक पैसा ‘लोड’ हुने क्षेत्र, स्रोत अभाव हुने ठाउँ पहिचान गरी आवश्यक कदम चाल्नुपर्छ। आधारभूत पूर्वाधारका लागि समग्र लागत घटाउन मद्दत पुग्ने नीति अंगिकार गर्नुपर्छ। १० दिनमा गर्न सकिने आयोजना एक महिनामा बन्द गर्नु प्रभावकारी हुँदैन। जति धेरै समय उति धेरै लागत लाग्छ र ठूलो घाटा हुन्छ। समग्र सुधार गर्नु सजिलो काम होइन, तर चुनौतीपूर्ण पनि होइन।
हामीले संसारबाट सिक्नुपर्छ र हाम्रा स्रोतसाधनलाई प्रभावकारी प्रयोग गर्नुपर्छ। विश्वको नजरमा आज पनि हाम्रा उत्पादन मानक मानिन्छन्। समय, काल, परिस्थितिअनुसार यसमा परिवर्तन हुनसक्छ। अनुत्पादक र गैरसान्दर्भिक क्षेत्रबाट स्रोत थप आवश्यक र आधारभूत क्षेत्रमा लैजानुपर्छ। आधार बलियो नबनाइ अग्लो भवन बनाउन सकिँदैन। पहिले आधार बलियो बनाउन ध्यान केन्द्रित गर्नुपर्छ।
(शर्मा सिंगापुर बेभरेजका प्रबन्ध निर्देशक हुन्।)