काठमाडौं। निजी लगानीमा सञ्चालित चारतारे हाेटल 'क्राउन इम्पेरियल’ को कारोबारमा उछाल आएको छ। सन् २०२३ को ८ महिनामा होटलले १३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ।
कारोबारसँगै होटलको वित्तीय अवस्थामा पनि सुधार आएको छ। होटल अकुपेन्सी दरमा सुधार आएपछि क्राउन इम्पेरियलको आम्दानीमा बढोत्तरी आएको हो। होटलको अकुपेन्सी दर २१ प्रतिशत बढेको क्राउन इम्पेरियलले जनाएको छ।
होटलका अनुसार २०२२ मा ६ करोड ६० लाख रुपैयाँको मात्र व्यापार गरेको थियो। यो वर्ष अकुपेन्सी दर ६ प्रतिशतमात्र थियो। अघिल्लो वर्ष २ करोड ३० लाख रुपैयाँको मात्र व्यापार गरेको थियो। २०२० मा सञ्चालन आम्दानी ८ करोड २० लाख थियो।
कन्फरेन्स, मिटिङ र एक्जिबिसनबाट ७२ र बाँकी २८ प्रतिशत आम्दानी रुम बिक्रीबाट भएको होटलले जनाएको छ। होटलले १ अर्ब ऋणको रेटिङ गराएको छ।
पछिल्लो समय पर्यटक आगमनमा सुधार भएपछि होटलको कोठा, खाद्यान्न र पेयपदार्थ बिक्री बढेको छ। २०२२ सुरु भएदेखि व्यवसायमा केही सुधार आएको थियो।
अर्किड होल्डिङस लिमिटेडले सञ्चालनमा ल्याएको क्राउन इम्पेरियल २०१९ अगस्टदेखि व्यावसायिकरूपमा सञ्चालनमा आएको हो। होटल सञ्चालनमा आएको केही महिनापछि नेपालमा कोरोना महामारी फैलियो र होटलले आम्दानी गर्न पाएन। चारतारे होटल क्राउन इम्पेरियल १४ तला छ। होटलमा १ सय ३१ कोठा छन्।
होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा नाै किलोमिटर पर रविभवनमा छ। हाल होटलका प्रबन्ध निर्देशकमा सुधीरमान मास्के छन्।
अर्किड होल्डिङ्स २००७ मा स्थापना भएको हो। २०२२ मा आएर होटल पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो। होटल क्राउन इम्पेरियल ब्रान्डमा सञ्चालनमा छ।