काठमाडौं। युवाहरूको प्रमुख गन्तव्यको रूपमा विस्तार भएको ठमेलको ‘एलओडी’ अर्थात 'लर्ड अफ द ड्रिंक्स' विश्वकै उत्कष्ट ४९औंमा परेको छ। विश्वभरका १०० क्लबमध्येबाट ४९औं स्थानमा एलओडी परेको सञ्चालक एवंम प्रमुख कार्यकारी अधिकृत रविन श्रेष्ठले जानकारी दिए।
युकेस्थित डिजे म्यागले हरेक वर्ष क्लबहरुको र्यांकीङ गर्दै आएको छ। केही समयअघि क्लब डिजे म्याग टप १०० को नोमिनेसनमा परेको थियो। यसअघि सन २०२२ का लागि एलओडी १०० क्लबले ५२औं स्थानमा प्रवेश पाएको थियो।
म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ। टप १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो।
४९औं स्थानमा परेसँगै यसले थप नेपालको प्रचार विश्वभर फैलिएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ। 'यो हाम्रो मात्र सफलता हैन', प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने, ‘यसले नेपालको प्रतिनिधित्व विश्वभर फैलाएको छ। यो खुसी सबैमाझ साट्न चाहन्छौं।'
एलओडी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा चार वर्षअघि स्थापना भएको थियो। एलओडी युवा पुस्तामात्र होइन, सबै उमेर समूहकै रोजाइमा परिसकेको छ। अहिले हरेक रात युवापुस्ता दिनभरिको थकाइ मेट्न एलओडी पुग्छन, जहाँ संगीतमा झुम्दै मन बहलाउनुको मजा नै बेग्लै हुने गर्छ।
नेपालको एकमात्र अन्तर्राष्ट्रियस्तरको क्लब एलओडीमा नेपालीसहित विदेशी पर्यटक पनि दिल खोलेर नाचिरहेका हुन्छन। ९ हजार वर्गफिट क्षेत्रफल ओगटेको एलओडीमा रंगीचंगी बत्तीको सौन्दर्यसँगै गुञ्जिने डिजे म्युजिकको वातावरणले धेरैलाई झुम्न बाध्य पार्छ। एलओडीमा एकपटकमा ५ हजारजना उभिएर रमाइलो गर्न सक्छन।
सामान्य अवस्थामा दैनिक १ हजार २ सयहाराहारी ग्राहक आउँछन। शुक्रबार छुट्टै माहौल हुन्छ किनकि शुक्रबार ४ हजारसम्म ग्राहकको भीड एलओडीमा हुन्छ। पारिवारिक माहौलमा सांगीतिक मजा दिँदै आएको एलओडी नेपालीसहित चर्चित विदेशी सेलिब्रिटी तथा गायक–गायिकाका कारण चर्चामा आउँछ।