ढाका, रोयटर्स। अमेरिकी डलर सञ्चिति घटेपछि दक्षिण एसियाली देश बंगलादेशले आयातित इन्धन भुक्तानी गर्न संघर्ष गरिरहेको छ। राज्यको पेट्रोलियम फर्मले डलर भुक्तानी गर्न नसके आगामी दिनमा इन्धन भण्डारणमा धेरै कमी आउने र यसले बजारमा अभाव सिर्जना हुने चेतावनी दिएको छ।
बंगलादेश पेट्रोलियम कर्पोरेसन (बिपिसी) ले ६ विदेशी कम्पनीलाई ३० करोड डलरभन्दा बढीको उधारो तिर्न बाँकी छ। जसले गर्दा पेट्रोलियम पदार्थ आयात राेक्ने धम्की कम्पनीले दिएका छन्। बंगलादेशले पहिले नै विद्युत कटौती सामना गरिरहेको छ। जसले यसको निर्यात उन्मुख गार्मेन्ट उद्योगलाई चोट पुर्याएको छ। बिजुली उत्पादन र वितरणको जिम्मेवार निकायले पनि डलर सञ्चिति घटेका कारण भुक्तानीमा ढिलाइ भइरहेको बताएको छ।
देशमा इन्धन आयात र बजारीकरण नियन्त्रण गर्ने बिपिसीले स्वदेशी वाणिज्य बैंकहरूद्वारा भारतलाई तिर्नुपर्ने रकम रुपैयाँमा तिर्ने अनुमति दिन सरकारसँग माग गरेको छ।
‘घरेलु बजारमा विदेशी मुद्रा अभाव र केन्द्रीय बैंकले अमेरिकी डलरको माग पूरा नगरेको कारण वाणिज्य बैंकहरूले समयमै आयात भुक्तानी गर्न असमर्थ भएका छन्,’ बिपिसीले ऊर्जा मन्त्रालयलाई मे ९ मा लेखेको पत्रमा भनेको छ।
पत्रबारे सोध्दा केन्द्रीय बैंकले रोयटर्सलाई तर्कसंगत काम गरिरहेको र विश्वअर्थतन्त्रको सन्दर्भ ध्यानमा राख्दै डलर वितरणलाई प्राथमिकता दिइरहेको बताएको छ। बिजुली उत्पादन र वितरणको जिम्मेवार निकायले पनि मुद्रा संकटका कारण भुक्तानीमा ढिलाइ हुने जानकारी दिएको छ।
त्यसले अप्रिलमा एउटा पत्रमा चेतावनी दियो। जसमा भनिएको थियो, ‘यदि मेका लागि तयार गरिएको इन्धन आयात तालिकाअनुसार गर्न सम्भव भएन भने इन्धन भण्डारणमा डरलाग्दो कमीको साथ देशभरि आपूर्ति अवरुद्ध हुनसक्छ।’
गत वर्ष फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण गरेपछि बंगलादेशको डलर सञ्चिति एक तिहाइभन्दा बढीले घटेर ३०.१८ अर्ब डलरमा सीमित भएको छ। यो सात वर्षकै न्यून बिन्दुमा पुगेको हो।
झन्डै १७ करोड जनसंख्या भएको देशले आयातित इन्धन र खाद्यान्नका लागि यो वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट ४.७ अर्ब डलर ऋण लिनुपरेको छ।
केन्द्रीय बैंकले यो आर्थिक वर्ष बिपिसीलाई ५ अर्ब डलर र एलएनजी आयातका लागि पेट्रोबाङ्लालाई २ अर्ब डलर दिएको जनाएको छ। वाणिज्य बैंकहरूसँग पनि ३ अर्ब डलरभन्दा बढी थियो। जुन आयातकर्ताले एलसी खोल्न प्रयोग गर्न सक्नेछन्।
‘हामी सबै कुरा तर्कसंगत रूपमा व्यवस्थापन गरिरहेका छौं। विश्व अर्थतन्त्रको सन्दर्भ ध्यानमा राख्दै हामीले प्राथमिकतामा राख्नुपर्छ,' बंगलादेश बैंकका प्रवक्ता मेजबाउल हकले भने, 'सबै उतारचढावबीच हामीले ३० अर्ब डलरभन्दा बढीको विदेशी सञ्चिति कायम गरिरहेका छौं।’
बिपिसीले हरेक महिना ५ लाख टन प्रशोधित तेल र १ लाख टन कच्चा तेल आयात गर्छ।
बिपिसीले यस वर्ष भारत नुमालीगढ रिफाइनरीलाई ४ करोड १० लाख डलर तिर्नुपर्ने भएको छ। जसमा बहुसंख्यक आयल इन्डियाको स्वामित्व छ। आइओसीलाई डिजेल र जेट इन्धनका लागि १४ करोड ७२ लाख डलर तिर्न बाँकी छ। बिपिसीले सरकारलाई राष्ट्रियकृत वाणिज्य बैंकहरू र भारतीय कम्पनीलाई रुपैयाँमा भुक्तानी गर्न अनुमति दिन आग्रह गरेको छ।
स्टेट बैंक अफ इन्डियाले निर्यातकर्तालाई बंगलादेशसँग डलर र अन्य प्रमुख मुद्रामा सम्झौता गर्नबाट जोगिन आग्रह गरेको थियो। अहिले ४ खर्ब १६ अर्ब डलर विश्वको सबैभन्दा द्रुत गतिमा वृद्धि भएको अर्थतन्त्र हो। तर, यो अर्थतन्त्रले अहिले धेरै चुनौती सामना गरिरहेको छ।
राज्यको स्वामित्वमा रहेको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड विद्युत उत्पादन र वितरणका लागि जिम्मेवार छ। जसले अमेरिकी डलर नभएको भन्दै निजी ऊर्जा उत्पादकलाई १.५ अर्ब डलरभन्दा बढी भुक्तानी गर्न महिनौं ढिलाइ गरेको छ।
‘यस ढिलाइले धेरै स्थानीय ऊर्जा कम्पनीलाई संकटाेन्मुख बनाउँदै छ,’ बंगलादेश स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष फैजल खानले भने, ‘यसको समाधान नभए विद्युत आपूर्ति अवरुद्ध हुनेछ।’
यसैगरी बंगलादेश पावर डेभलपमेन्ट बाेर्डका प्रवक्ता शमिम हसनले भुक्तानी प्रक्रिया जारी रहेकाले चाँडो भुक्तान गर्न कोसिस गरिरहेकाे बताए। ‘तर, अरूहरू जस्तै हामीले पनि डलर अभाव सामना गरिरहेका छौं,’ उनले भने।
बंगलादेशले वार्षिक ४० अर्ब डलरबराबरको तयारी पोसाक निर्यात गर्छ। ऊर्जा संकट समधान गर्न बंगलादेशले नेपालबाट बिजुली किन्न लागेको छ। बंगलादेश नेपालसँग ४० मेगावाट बिजुली किन्न सहमत भएको छ। यस्तै ६ सय ८३ मेगावाटको सुनकोसी तेस्रो जलासय आयोजनामा लगानी गर्न लागेको छ।