काठमाडौं। निर्माणाधीन काठमाडौं दृश्यावलोकन स्तम्भ ‘भ्यु टावर’ मा १४ सम्म तला थप्ने तयारी भइरहेको छ। साविक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२ तला सकिइसकेको छ।
१२औं तला निर्माणबारे प्राविधिक जाँचका लागि पुल्चोक इञ्जिनियरिङ क्याम्पसले अध्ययन गरी प्रतिवेदन काठमाडौं महानगरपालिकालाई बुझाइसकेको छ। प्रतिवेदनअनुसार निर्माण मापदण्डबमाेजिम नै काम भएको र तला थप्न सकिने जनाएकाले कामपाको प्राविधिक टोलीले उक्त प्रतिवेद अध्ययन गरी तला थपका लागि अनुमति दिने तयारी गरेको छ।
उक्त टावर २०७२ सालको भूकम्पअघि २९ तलाकै बनाउने भनिए पनि भूकम्पपछि १२ तलाको मात्र काम अघि बढाइएको थियो। अहिले १२ तलालाई बढाएर २४ देखि २६ तलासम्म बनाउने तयारी भइरहेको कामपा सार्वजनिक-निजी साझेदारी एकाई प्रमुख महेश काफ्लेले जानकारी दिए। उनका अनुसार कामपा प्राविधिक टोलीले प्रतिवेदन अध्ययन गरेपछि कति तला थप्नेबारे यकिन हुनेछ।
हाल टावर निर्माण गरिरहेको कम्पनीले तला थपका लागि कामपालाई निवेदन दिनुपर्छ र सोहीअनुसार कामपाले कानुनी प्रक्रिया पूरा गरी तला थप गर्न नक्सा स्वीकृत गर्ने छ। प्रमुख काफ्लेका अनुसार भूकम्पअघि २९ तला नै बनाउने योजना थियो। भूकम्प गएसँगै तला घटाएर १२ बनाउने भन्दै सोहीअनुसार निर्माणको काम अघि बढाइएको हो।
'हालसम्म निर्माण भएको संरचना कस्तो निर्माण भएको छ, निर्माण सामग्री कस्तो प्रयोग गरिएको छ, तला थप्न मिल्छ कि मिल्दैनजस्ता विषयबारे पुल्चोक क्याम्पसले अभ्ययन गरेकाे हो,' काफ्लेले भने।
स्तम्भ निर्माणको काम जलेश्वर, स्वच्छन्द र बिकोईले २०७३ साउनदेखि सुरु गरेका हुन्। स्तम्भ निर्माणका लागि कामपा र ती तीन कम्पनीबीच २०७१ फागुन २२ मा सम्झौता भएको थियो। सम्झौताअनुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख छ। स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्ट्याइएको छ। उक्त भ्यु टावर नेपाली कला-संस्कृति झल्किने किसिमको हुनेछ।
कूल क्षेत्रफलको ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिने छ। ६० प्रतिशत जग्गामा आकर्षक बगैंचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजनाअनुसार निर्माणको काम अघि बढाइएको हो। टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ।
जसमा ४ सय सवारीसाधन अटाउनेछन्। भुइँतलामा मोटरसाइकल पार्किङ रहने छ। टावरमा अत्याधुनिक सिनेमा हल रहने छ। टावरमा बैंक तथा वित्तीय संस्था, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट तथा पुस्तकालय हुनेछन्।
निजी गाडी पार्किङ सुरु
निर्माणाधीन भ्यु टावरको बेसमेन्टमा गत वैशाख २२ देखि निजी सवारीसाधन पार्किङको काम सुरु गरिएको छ। अहिले चारपांग्रे साना सवारी र दुईपांग्रे सवारी उक्त स्थानमा राख्ने गरिएको छ।
अहिले सुरुवाती समयमा निःशुल्क पार्किङको व्यवस्था गरिए पनि केही दिनबाट थप व्यवस्थापनसहित शुल्क लिएर पार्किङ व्यवस्थापन मिलाइने छ। प्रमुख काफ्लेका अनुसार ४ सय साना सवारी र १ हजार मोटरसाइकल अट्ने पार्किङ वैशाख २२ बाट सञ्चालनमा आएको हो।
अहिले पार्किङको समस्या निकै नै रहेकाले पूर्णरूपमा निर्माणको काम पूरा नभई पार्किङ खुला गरिएको हाे। टावर निर्माणकै लागि २०७२ साउनबाट बसपार्कलाई खुल्लामञ्चमा स्थानान्तरण गरिएको थियो।
पाँच वर्षमा भ्यु टावर निर्माणको काम सकेर साविककै बसपार्क रहेको स्थानबाट थप व्यवस्थितरूपमा सवारी आवतजावत गराइने भने पनि हालसम्म पनि उक्त टावर निर्माणको काम भने सिकएकाे छैन।