काठमाडौं। नेपाल पर्यटन बोर्ड र साझा यातायातको सहकार्यमा सम्पदा घुम्ती बस सेवा सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उक्त सेवाको औपचारिक सुरुवात गरेका हुन्।
पर्यटन बोर्ड र साझा यातायातबीच भएको सहमतिका आधारमा उपत्यकाका महत्वपूर्ण सम्पदास्थल भ्रमण गराउने उद्देश्यसहित बस सेवा सुरु गरिएको साझाले जनाएको छ।
बस सेवाले काठमाडौं साथै ललितपुर महानगरपालिकाका सम्पदास्थल तथा संग्रहालय भ्रमण अवलोकन समेट्ने छ। यसका लागि साझा यातायात पुल्चोकबाट ललितपुर महानगरपालिकास्थित टुरिस्ट बसपार्क हुँदै काठमाडौं महानगरपालिकास्थित महाँकाल मन्दिर, आर्मी अस्पताल, जमल, दरबारमार्ग, नारायणहिटी दरबार संग्रहालय, कमलपोखरी, पशुपतिनाथ मन्दिरस्थित टुरिस्ट बसपार्क, गौशाला, चाबहिल चोक, तारागाउँ संग्रहालय हुँदै जोरपाटीसम्मको रुट तय गरिएको छ।
त्यस्तै फर्र्कंदा जोरपाटीबाट तारागाउँ संग्रहालय हुँदै नारायणगोपाल चोक, गोगंबु बसपार्क, स्वयम्भू भगवान पाउ, छाउनी संग्रहालय, परोपकार (कालिमाटी), कालिमाटी चोक र त्यहाँबाट रिङरोड हुँदै एकान्तकुना, सदर चिडियाखाना (जावलाखेल चोक), साझा यातायात पुल्चोकसम्मको रुट तोकिएको छ।