कम्प्युटर एसोसिएसन क्यान महासंघको केन्द्रिय महाधिवेसनबाट १३ औं कार्यसमितिको चयन मंसिर ७ गते हुँदैछ । क्यान महासंघको नेतृत्व पाउन वरिष्ठ उपाध्यक्ष नवराज कुवरले प्यानल सहित अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् । १५ बुँदे घोषणापत्र सार्वजनिक गरी निर्वाचनमा प्रतिस्पर्धाको तयारी गरिरहेका अध्यक्षका प्रत्यासी कुँवरसँग क्यापिटल नेपाल युजु खालिङले गरेको कुराकानी :
क्यान महासंघमा अध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा गर्र्नुभएको छ । तपाई र पुरै प्यानलाई किन जिताउने ?
मंसिर ७ गते क्यान महासंघको अधिबेशन हुदैछ । सोहि अधिबेशनबाट नयाँ कार्यसमिति चयन हुने हो । त्यसैको तयारीमा हामी लागेका छौं । मंगलबार मात्र हामीले पुरै प्यानलको घोषणा गरिसक्यौं । बर्तमान वरिष्ठ उपाध्यक्ष भएको हुनाले म अध्यक्षको स्वाभाविक उम्मेद्वार हुँ । अहिले भएको क्यानको कार्यसमितिमा सबैभन्दा पुरानो मान्छे म हुँ । क्यानको २७ बर्षे इतिहासमा मेरो संलग्नता २४ वर्ष पुगिसकेको छ । वरिष्ठता र लामो अनुभवका कारणले पनि मलाई धेरैले रोज्नु हुन्छ । अर्को महत्वपूर्ण कुरा के छ भने काठमाडौंमा स्थापना भएको क्यान काठमाडौलाई देशव्यापी बनाउने अभियान मैले नै सञ्चालन गरे । मेरै नेतृत्वमा क्यान ५७ जिल्लामा गठन भएको छ । देश संघीयतामा गएसँगै महासंघलाई पनि संघीय स्वरुपमा लैजान मैले धेरै योगदान दिए । प्रदेश जिल्ला सबैमा स्थानमा मैले गरेको मिहिनेतलाई सबै साथीहरुले कदर गर्नुहुन्छ भन्ने मेरो विश्वास छ ।
महासंघको नेतृत्वमा तपाईको पुरै प्यानल विजयी भएमा क्यानलाई कसरी अगाडी लैजानुहुन्छ ? तपाईको एजेण्डा र भिजन के हो ?
हामीले १५ बुँदे घोषणपत्र सार्वजनिक गरिसकेका छौ । महासंघको आन्तरिक, प्रशासनिक सुदृढिकरण पहिलो प्राथमिकता हो । देशकै सूचनाप्रविधि क्षेत्रको नेतृत्वदायी संस्था भएको नाताले नेपालमा सूचना प्रविधिको विकासमा हाम्रो ठूलो महत्व रहन्छ । त्यसकारण सरकारसँग मिलेर काम गर्न मैले तीनओटा नीति बनाएको छु । पहिलो सरकारले सूचना प्रविधि क्षेत्रमा गरेका राम्रो कामलाई समर्थन गर्ने । अर्को, सरकारलाई आवश्यक सूझाव दिने र तेस्रो, व्यवसायीलाई अनुकूल हुने नियम कानुन र नीति बनाउन सरकारलाई खबरदारी गर्ने । यसमा सरकारका तीनओटै तहसँग मिलेर काम गर्ने मैले योजना लिएर आएको छु ।
क्यान इन्फोटेक, क्यान सफ्टटेकलाई निरन्तरता दिनुका साथै थप परिस्कृत गर्ने सोचेका छौं । अर्को योजना मैले के ल्याएको छु भने, नेपाल सरकारले पर्यटन वर्ष २०२० घोषणा गरेको छ । त्यसलाई पनि सहयोग हुने किसिमले सूचना प्रविधि र पर्यटनलाई मिलाएर अन्तराष्ट्रिय स्तरको सेमिनार पोखरामा गर्ने लक्ष्य छ । नयाँ प्रविधिलाई नेपालमा भित्र्याउन गैर आवासीय नेपालीहरुसँग मिलेर लगानी ल्याउने र ठुला आईटीका कम्पनीहरु नेपालमा सञ्चालन गर्ने वाताबरण बनाउने हो । यसले सूचना प्रविधिमा बाहिरिएको जनशक्तीलाई नेपालमा फर्काउने एउटा बाटो बन्छ । हाम्रो व्यापारिक नभएर सामाजिक संस्था हो । सोहि अनुरुप घोषणापत्र बनाएको छु ।
सूचना प्रविधि विश्वकै उदाउदो क्षेत्र हो, तर विश्वमा जून गतिमा यसको विकास भईरहेको छ सो अनुपातमा नेपाल पछाडी छ, अब यो सेक्टरलाई द्रुत गतिमा अगाडी बढाउन के गर्नुहुन्छ ?
त्यसको लागि सबैभन्दा पहिला पूर्वाधार चाहिन्छ । पूर्वाधार बनाउने भनेको सरकारले हो । अहिले सरकारले एउटा नारा लिएको छ ‘समेद्ध नेपाल सुखी जनता’ । त्यसलाई सार्थकता दिन आवश्यक इन्डीकेटरहरुमा कृषि, व्यवसाय, उद्योग, शिक्षा, स्वास्थसँगै सूचना प्रविधिलाई पनि सरकारले राखेको छ । त्यसकारण हामी आशावादी छौ । जुन देशले सूचना प्रविधिमा फड्को मारेको छ त्यो विकासमा अगाडी लम्किदैँछ । त्यसैले पर्यटन, आधुनिक कृषि, शिक्षा, उद्योगधन्दा सबैको विकास चाहने हो भने पहिलो प्राथमिकता प्रविधिलाई दिनुपर्छ । प्रविधिको विकास भयो भने सबै क्षेत्रमा लक्ष्य हासिलि गर्न सहज हुन्छ भनेर हामीले सूझाएका छौं । आशा छ नेपालमा सूचना प्रविधिको विकासका लागि सरकारले पूर्वाधारलाई बनाउँछ । र त्यही पूर्वाधारका आडमा हामी अगाडी जाने छौं ।
क्यान महासंघको कार्यसमिति सुस्ताएको काम नगरेको भन्छन् नि, के समस्या र कारण देख्नुुहुन्छ ?
यो दुईचार वर्षको अवधिमा हामी संघबाट महासंघ भयौं । यसको अर्थ हामी काठमाडौंमा मात्र थियौं अब उपत्यकाबाहिर ५७ जिल्लामा पुग्यौं । तर यो आन्तरिक देखियो बाहिर देखिएन । हामी संघबाट महासंघमा जाँदै गर्दा केही समस्याहरु देखिएको हो । तर, वास्तवमा त्यो सामान्य हो किनभने हामी आफ्नो आन्तरिक सुदृढिकरणमा लागेका थियौं । हामीले पहिलोपटक प्रदेश र ४८ ओटा जिल्लाको चुनाव एकैपटक गर्यौ । यो परिर्वतन हुँदा एक दुई वर्ष लागेको मात्र हो । क्यानले केही नगरेको भने होइन । आफ्नो आन्तरिक काममा लागेका हुँदा बाहिर कम देखिएको मात्र हो ।
क्यानमा राजनीतिक चलखेल र खिचातानी छ, मान्नुहुन्छ ? तपाईको हातमा नेतृत्व परेपछि क्यान कस्तो संस्था बन्छ ?
तपाईले नेपालको व्यवसायिक र सामाजिक संगठन हेर्नु भयो भने क्यानलाई यस्तो संस्थाको रुपमा पाउनु हुन्छ जहाँ अहिलेसम्म कुनै राजनीतिक गन्ध आएको छैन । कसैले राजनीतिक गरेको छैन । न त उम्मेद्वारले गरेको छ न त पार्टीले गरेको छ । राजनीतिक रुपमा स्वतन्त्र छ । म अध्यक्ष भएपछि मेरो नेतृत्वमा यसलाई राजनीतिकबाट अलग गरेर व्यवसायिक संस्थाको रुपमा लिएर जान्छु । मैले भनिहाले क्यानमात्र नेपालमा एउटा यस्तो उदाहरण हो जहाँ राजनीति हुँदैन ।
भोली तपाईको हातमा नेतृत्व गईसकेपछि क्यान र सिंगो सूचना प्रविधि क्षेत्रमा कस्तो परिवर्तिनको आशा राख्न सक्छौं ?
यसमा जोडिएको सदस्यको सदस्यताको हिसाबले भन्नुहोस् वा शाखाको हिसाबले नेपालमा दोस्रो तेस्रो ठूलो संस्थाको रुपमा पर्छ । मैले मेरो कार्यकालमा क्यानलाई आइटीको क्षेत्रमा लिडिङ संस्था बनाउँछु भन्ने जमर्को गरेको छु । विगत वर्षका कार्यकालभन्दा मेरो कार्यकाललाई फरक बनाउछुँ । मेरो दुई वर्षको कार्यकालमा केके गर्नसक्छु भन्ने कुरा सार्वजनिक रुपमा भनिसकेको छु । मेरो प्रतिबद्धतामा खरो उत्रिन सकिन भने मेरा मलाई खबरदार गरिरहनु होला । मेरो सदस्यहरुको सहयोगले क्यानलाई मैले सोचेको ठाउँसम्म पुर्याउन सक्छु ।