काठमाडौं। विदेशी पर्यटक संख्या बढेसँगै हेलिकोप्टर सेवा प्रदायक कम्पनीबीच हेलिकोप्टर थप्ने होडबाजी सुरु भएको छ।
कोभिडपछि जारी आर्थिक मन्दीका कारण केही समय समस्यामा परेका हेलिकोप्टर कम्पनीले पछिल्लो समय उत्साहजनक व्यापार गरिरहेका छन्। जसका कारण उनीहरूबीच हेलिकोप्टर थप्ने होड चल्न थालेको हो।
केही वर्षदेखि सुस्ताएको पर्यटन बजारमा चहलपहल व्यापक भएसँगै आगामी सिजन झनै राम्रो हुने अपेक्षा व्यवसायीको छ। विशेषगरी पर्यटन क्षेत्रमा दुई सिजनलाई विशेष मानिँदै आएको छ। मार्च–अप्रिल र सेप्टेम्बर–अक्टोबर–नोभेम्बरलाई पर्यटकीय सिजनका रूपमा लिँदै आएको छ। तथापि, पछिल्ला केही वर्षयता अफसिजन मानिएका महिनामा पनि पर्यटकको नेपाल आगमन बढिरहेको छ।
मार्च–अप्रिलमा व्यवसायीले अपेक्षा गरेभन्दा धेरै विदेशी पाहुना नेपाल आएका छन्। पछिल्लो चार महिना अवधिमा ३ लाख २६ हजार ५० विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपालमा आए। यो संख्या पर्यटन व्यवसायीको अपेक्षाभन्दा धेरै हो।
हेलिकप्टर कम्पनीका एक अधिकारीका अनुसार अपेक्षाभन्दा धेरै पर्यटक नेपाल आउँदा हेलिकोप्टर व्यवसायीले राम्रो आम्दानी गरेको छ।
केही वर्ष अघिसम्म बैंकको किस्ता तिर्न समेत धौधौको अवस्थामा पुगेका व्यवसायीले यो वर्ष राम्रो आम्दानी गरेको ती व्यवसायीको भनाई छ।
‘हिमाल आरोहण र पदयात्रामा जानेले हेलिकोप्टर प्रयोग गर्दा व्यापारमा सकारात्मक प्रभाव परेको छ,’ एक व्यवसायीले क्यापिटल नेपालसँग भने, ‘समग्रमा भन्नुपर्दा हामी उत्साही छौं।’
पर्यटक आगमन ध्यानमा राख्दै हेलिकोप्टर थप्ने तयारीमा समेत व्यवसायी लागेका छन्। हुन त यही वर्ष तीनथान हेलिकोप्टर दुर्घटना भएको छ। तीमध्ये हेली एभरेस्ट र सिम्रिक एयरको हेलिकोप्टर कामै नलाग्ने भएका छन् भने एयर डाइनेस्टीको भने मर्मतपछि सञ्चालनमा ल्याउन मिल्ने भएको छ।
त्यही भएर अहिले हेली एभरेस्टले नयाँ हेलिकोप्टर ल्याउने तयारी गरेको छ। उसले दुर्घटनामा परेको हेलिकोप्टरका ठाउँमा नयाँ ल्याउने र अर्को वर्ष अर्को एउटा ल्याएर चार पुर्याउने तयारी थालेको छ।
यस्तै सिम्रिक एयरले पनि यसै वर्ष थप दुई हेलिकोप्टर ल्याउने गरी प्रक्रिया अगाडि बढाएको जनाएको छ। हाल सिम्रिकसँग चारवटा हेलिकोप्टर छन्।
योसँगै अर्को कम्पनी प्रभु हेलिकोप्टर्सले पनि दुईवटा हेलिकोप्टर ल्याउने भएको छ। कम्पनीका नायब महाप्रबन्धक नोबलकुमार राजलवटले पाँच रोबिन्सन हेलिकोप्टरमध्ये चारवटा बेचेर दुईवटा ‘बि–३’ ल्याउन लागेको जानकारी दिए।
अर्को कम्पनी एयर डाइनेस्टीले दुईवटा र मुस्ताङले एक हेलिकोप्टर थप्ने तयारी अगाडि बढाएका छन्। पछिल्लो समय बैंकको ब्याजदर घट्दै गएकाले व्यवसायीहरूले नयाँ हेलिकोप्टर खरिदमा चासो बढाएका हुन्। पछिल्लो समय नेपालमा एयरबस हेलिकोप्टर्समा उत्पादित बि–३ सिरिजको हेलिकोप्टर नेपाल आइरहेका छन्।
ती कम्पनीले नाैथान हेलिकाेप्टर थप्न पाैने ३ अर्बहाराहारी लगानी गर्दैछन्। एउटा हेलिकाेप्टर खरिद गर्न न्यूनतम ३० कराेड रूपैयाँ पर्छ। याे हिसाबले नाैथान हेलिकाेप्टर खरिद गर्न उनीहरूले २ अर्ब ७० कराेड रूपैयाँ लगानी गर्नेछन्।