काठमाडौं। ३ अर्ब रुपैयाँभन्दा बढी लगानीको ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) जडानमा नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच विवाद भएपछि ग्राहक तथ्यांक टेलिकममै राख्ने गरी योजना अघि बढाउन दिने विषयमा छलफल भएको छ।
भ्वाइस, एसएमएस र डेटाको ट्राफिक मनिटरिङ, फ्रड डिटेक्सन र सेवा गुणस्तर जाँच गर्न भन्दै टेरामक्स जडानका लागि सामग्रीसमेत ल्याइसकेको प्राधिकरणले केही समयदेखि दूरसञ्चार कम्पनीसँग टेरामक्स जडानका लागि आवश्यक पहुँच मागिरहेको थियो। तर, अदालतले ग्राहक तथ्यांक टेलिकममा नै राख्न आदेश दिएको भन्दै ग्राहक तथ्यांक आफैंले राख्ने गरी प्राधिकरणलाई पहुँच दिने विषयमा टेलिकममा छलफल भएको हो।
‘दूरसञ्चार कम्पनी एनसेलले टेरामक्स जडानका लागि एक्सेस दिएको भन्ने कुरा बाहिरिएको छ तर एनसेलले यति सजिलै एक्सेस दिएजस्तो लाग्दैन।
हामीले पनि नियामक निकायलाई एक्सेस दिन्न भन्न मिल्दैन,’ टेलिकम उच्च स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘तर, अदालतले ग्राहक तथ्यांक र गोपनीय कुरा दूरसञ्चार कम्पनीलाई नै राख्न जिम्मा दिएकाले ग्राहक तथ्यांक आफैंले राख्ने गरी एक्सेस दिने विषयमा कुरा चलेको छ।’
स्रोतले ग्राहक तथ्यांक टेलिकम आफैंले राखेर दिन मिल्ने एक्सेस दिनुपर्छ भन्ने किसिमको कुरा चलेको तर कुनै निर्णय नभएको जानकारी दिएको छ।
दूरसञ्चार प्राधिकरणले भने नियामक निकायलाई कम्पनीका गतिविधि र क्रियाकलाप निगरानी गर्ने अधिकार भएको बताउँदै कम्पनीले एक्सेस दिन अस्वीकार गर्न नपाउने बताउँदै आएको छ।
ग्राहक र दूरसञ्चार कम्पनीका गोप्य राखिनुपर्ने कुरा प्राधिकरणले गोप्य राख्ने भएकाले टेलिकमभित्र गलत कार्य हुँदैन भने त्यसलाई खुलारूपमा देखाउनुपर्ने प्राधिकरणको भनाइ छ। तर, अदालतले दिएको जिम्मा मध्यनजर गरी ग्राहकको सबै तथ्यांक दिन नसकिएको टेलिकम बताउँछ।
‘हामीले लुकाउनुपर्ने कुरा केही छैनन् तर ग्राहकका कुरा भने दूरसञ्चार कम्पनी स्वयंले लुकाउनुपर्छ भनेर अदालतले भनेको छ र जिम्मा दिएको छ,’ टेलिकम स्रोतले भन्यो, ‘यही कारण टेलिकमले अनुमति दिन नसकेको हो। अहिले पनि कुनै ग्राहकको तथ्यांक चाहिए प्रहरीले अदालतको अनुमति लिएरमात्र लिन सक्ने व्यवस्था छ।’
स्रोतका अनुसार नियामक निकायले ग्राहकका सबै ‘रेकर्ड राख’ भनेर भन्ने र समय–समयमा रेकर्ड राखेको÷नराखेको अनुगमन गर्ने काम गर्नुपर्नेमा आफैंले सबै रेकर्ड राख्न खोज्नु उचित नभएको पनि जनाएको छ।
‘अहिले प्राधिकरणले अलिकति चर्चा बटुल्न र सद्भाव कमाउन टेलिकम कम्पनीको राजस्व घटेको भन्दै यस्तो बाटो अपनाएको देखिन्छ,’ स्रोतले भन्यो, ‘तर, प्राधिकरणले यस्तो भन्नुको अर्थ टेलिकम व्यवसाय नै बुझेको छैन भन्ने हो। अहिले विश्वभरि हेर्ने हो भने संसारका सबैको आम्दानी घटेको छ। यहाँ टेलिकमले लुकायो भन्ने कुरा पनि गर्न मिल्दैन।’
स्रोतका अनुसार अन्य सबै कुराको मूल्य बढिरहेका बेला टेलिकम कम्पनीले प्रदान गर्ने सेवाको मूल्य भने घटिरहेकाले राजस्वमा कमी आएको हो।
‘हाम्रो १० देखि १२ वर्षको तथ्यांक हेर्दा हरेक कुराको मूल्य बढेको छ भने दूरसञ्चार कम्पनीले प्रदान गर्ने सेवाको मूल्य भने घटिरहेको छ। खानेकुरादेखि पानी, बिजुली तथा दैनिक उपभोग्य सामग्रीको मूल्य बढेको छ तर टेलिकम सेवाको भने घटिरहेको छ,’ स्रोतले भन्यो, ‘हाम्रो व्यवसायलाई पनि ओटिटीहरूले खाइदिएको छ।’
यही कारण टेलिकमको राजस्व घट्यो भनेर नियामकले यो किसिमको नियमन गर्न खोज्नु उचित नभएको स्रोत बताउँछ।
टेरामक्स जडानबाट पछि हट्न प्राधिकरणलाई कठिन
प्राधिकरणले टेरामक्स जडान गर्न केही समयअघि नै आवश्यक सामग्री नेपाल भित्र्याइसकेको छ। कूल २ करोड ३७ लाख अमेरिकी डलर (३ अर्ब ८ करोड १० लाख रुपैयाँ) लागत रहेको उक्त योजनाको आवश्यक सामग्री आपूर्ति गर्ने जिम्मा पाएको लेबनानको भानराइस सोलुसन कम्पनीले सर्भर, मोबाइल र टेस्टकिटलगायत आवश्यक सामग्री ल्याइसकेको छ।
यस्तै टेरामक्स जडानका लागि दूरसञ्चार प्राधिकरणले एनसेलबाट एक्सेस अनुमति पाइसकेको बताइसकेको छ। एनसेलले आधिकारिकरूपमा यस विषयमा कुनै धारणा व्यक्त नगरेको भए पनि प्राधिकरणले एनसेलबाट एक्सेस पाएको बताउँदै अब नेपाल टेलिकमबाट एक्सेस पाउनेबित्तिकै जडान योजना अगाडि बढ्ने बताएको छ।
टेरामक्स प्रविधि जडानका लागि प्राधिकरणले सन् २०१७ मै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। जसमा १६ कम्पनीले आशयपत्र बुझाए पनि लेबनान, टर्की, स्विजरल्यान्ड र फ्रान्सका कम्पनी छनौटमा परेका थिए। त्यसपछि लेबनानको सोलुसनले ठेक्का पाएको थियो।
ठेक्कापछिका प्रक्रियामा प्रश्न उठेपछि सर्वोच्चमा मुद्दा परेको थियो। मुद्दाको फैसला गर्दै अदालतले सम्झौताअनुसार काम गराउन आदेश दिएपछि सोहीअनुसार प्राधिकरणले टेरामक्स जडान प्रक्रिया अगाडि बढाएको थियो।
टेरामक्स प्रविधि काठमाडौंको चाबहिल र हेटौंडाको सेकेन्डरी डेटा सेन्टर (जिआइडिसी) मा जडान गर्ने प्राधिकरणको तयारी छ।
विशेषगरी टेरामक्सले टेलिकम कम्पनीले दिने सेवामाथि निगरानी गर्ने काम गर्छ। टेलिकम कम्पनीमा विदेशबाट आउने अनधिकृत फोन कल बाइपासमाथि पूर्णरूपमा निगरानी राख्ने यो प्रविधिले राष्ट्रिय र अन्तर्राष्ट्रिय ‘भ्वाइस डेटा ट्राफिक भोल्युम’ परीक्षणसमेत गर्ने काम गर्छ।
कल रेकर्ड (सिडिआर) विश्लेषण गर्ने, फ्रड पत्ता लगाउने र भ्वाइस ट्राफिकको अवस्था पनि यसले जाँच्न सक्छ। टेलिकम कम्पनीमा रहेको वास्तविक समस्या पत्ता लाग्ने, राजस्व छली गरे दायरामा आउने र समस्या पत्ता लागे समाधानमा सहयोग पुर्याउने उद्देश्यले टेरामक्स जडान गर्न लागेको प्राधिकरणले बताए पनि नेपाल टेलिकमले भने नियामक निकायले अनावश्यक तथ्यांक राख्न खोजेको भन्दै यसलाई अस्वीकार गर्दै आएको छ। जुन विषय हाल निकै पेचीलोरूपमा प्रस्तुत भएको छ।