काठमाडौं। भारतबाट वार्षिक १५ लाख टनभन्दा बढी धान आयात गरिरहँदा नेपाली उद्योगी–व्यवसायीले भने रातो बासमती चामल निर्यात खुला गर्नुपर्ने माग अगाडि सारेका छन्।
व्यवसायीले रातो बासमती चामल अन्य चामलको तुलनामा महँगो हुने भएकाले नेपाली बजारमा त्यसको माग नरहँदा उत्पादन नै खुम्चिरहेको भन्दै विदेश निर्यातको बाटो खुला गर्न माग गरेका हुन्।
केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुदकुमार दुगडका अनुसार ‘ज्ञान चक्की आँटा’ ३० देखि ३५ देशमा बिक्री भइरहेको छ भने रातो बासमती चामल निर्यातको सम्भावना पनि अधिक छ।
‘यदि सरकारले रातो बासमती चामल निर्यात खुला गर्ने हो भने नेपालबाट रातो बासमती ब्रान्डमा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सकिन्छ,’ दुगडले क्यापिटल नेपालसँग भने।
नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले तराई क्षेत्र खासगरी भारत देरादुन नजिकै रहेको भूमिमा रातो बासमती धान उत्पादन राम्रो हुने गरेको र यसलाई भारतसहित अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सके राम्रो मूल्य आउन सक्ने बताए।
हाल नेपालबाट धान निर्यातमा प्रतिबन्ध छ। रातो बासमती अन्य चामलभन्दा महँगो पर्ने भएकाले विदेशी बजारमा नेपाली उत्पादनका रूपमा बिक्री गर्न सहज हुने उनको भनाइ छ। राम्रो मूल्य नपाएकै कारण अहिले किसानले रातो बासमती धानको सट्टा मोटा धान लगाउन थालेको उनले बताए। भारतबाट आउने धानबाट उत्पादन हुने चामल रातो बासमतीभन्दा सस्तो पर्ने भएकाले खपत नै घटेको उनी बताउँछन्।
अहिले हुलास ग्रुपले रातो बासमती चामल बिक्री गरिरहे पनि उचित मूल्य र बजार भने पाउन सकेको छैन। जसका कारण पछिल्लो समय तराईका खेतीयोग्य जमिनमा रातो बासमतीका ठाउँमा अन्य उन्नत जातको धान लगाउन थालेकाले भारतसहित विदेश निर्यातका लागि बाटो खुलाउनुपर्ने माग राखेका हुन्।
रातो बासमती धान विदेश निर्यात गर्न सके किसानले दोब्बर बढी भाउ पाउने र नेपालको पहिचान बन्ने दाबी उद्योगीहरूको छ। तराई क्षेत्रमा रातो बासमती धान उत्पादन वार्षिक ३० हजार टनभन्दा बढी उत्पादन हुने क्षेत्र रहेको भए पनि मूल्य नपाउने कारण अन्य जातका धानमा किसान आकर्षित भएको व्यवसायीको भनाइ छ। अहिले रातो बासमती चामल केही उच्च वर्गको भान्सामा मात्र पाक्ने गरेको छ।
धानको कोटा बढाएर १० लाख टन पुर्याउन माग
अहिले भारतबाट वार्षिक ६ लाख टन धान आयात भइरहेको छ। तर, त्यति धानले नेपाली बजारको माग धान्न नसकेको भन्दै आयात संख्या बढाएर १० लाख टन पुर्याउनुपर्ने चामल दाल उद्योग संघको भनाइ छ।
संघ अध्यक्ष गुप्ताका अनुसार सरकारले गत वर्ष ५ लाख टन चामल र ५ लाख टन धान आयात गरेको थियो। यो वर्ष सरकारले त्यसको मात्रा बढाएर १० लाख टन बनाउनुपर्ने संघका अध्यक्ष गुप्ताले बताए।
यसरी हेर्दा मोटामोटी साढे १५ लाख टन धान भारतबाट आयात भएको भन्न मिल्छ। किनकि, १० लाख टन धानबाट ५ लाख टन चामल उत्पादन गर्न मिल्छ।
त्यसैले अहिले दिइरहेको ६ लाख टनले अपुग भएकाले १० लाख पुर्याउनुपर्ने आफूहरूको मान्यता रहेको उनले बताए।