काठमाडौं। व्यवसाय नै विस्तार गर्न अप्ठेरो पर्ने बैंकहरूलाई हकप्रद सेयर निष्कासनकौ मौका दिनुपर्ने नेपाल बैंकर्स संघले माग गरेको छ। हाल २१ वटा वाणिज्य बैंक सञ्चालनमा रहेकोमा ४ वटा वाणिज्य बैंकको पुँजीकोष (क्यापिटल एडेकुसी) कसिलो स्थितिमा छ।
पुँजीकोष कसिलो हुँदा व्यवसाय विस्तार गर्नै अप्ठेरो पर्न थालेपछि हकप्रद सेयर निष्कासनका लागि बैंकर्स संघ लबिङमा उत्रिएको हो। नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले केही बैंक अप्ठयारोमा परेकाले उनीहरूलाई सहज गराउन केन्द्रीय बैंकले केही न केही बाटो खोलिदिनुपर्छ,’ उनले भने, ‘हामीले पहिलो औजारका रूपमा हकप्रदलाई प्राथमिकता दिएका हौं। अन्य उपाय पनि छलफल गर्न सकिन्छ।’
अन्य विकल्पमा विभिन्न प्रकृतिमा ऋणपत्र जारी गर्न दिएर पनि पुँजीकोष सहजताको स्थिति ल्याउनुपर्ने संघको माग छ। यसअघि विकास बैंक र फाइनान्स कम्पनीले पनि पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न दिइनुपर्ने माग गरिरहेका थिए। तर, राष्ट्र बैंक यस मामलामा सकारात्मक देखिएको छैन।
२०७९ पुसमा माछापुच्छ्रे बैंक, कुमारी बैंक, प्रभुको प्राथमिक पुँजी (टायर वान क्यापिटल) ९ प्रतिशतभन्दा तल छ। टायर वान क्यापिटल ८.५ प्रतिशत हुनुपर्छ। त्यसैगरी, एनआईसी एसिया बैंकको पनि टायर वान क्यापिटल ९.१२, सिद्धार्थ बैंक ९.१८, लक्ष्मी बैंक ९.३१ र सनराइज बैंक ९.३ प्रतिशत छ।
टायर वान क्यापिटल तोकिएभन्दा तल भएपछि २०७७/७८ र २०७८/७९ को नाफाबाट लगानीकर्ता एनआइसी एसिया बैंकले लाभांश दिएको छैन।
टायर वान क्यापिटल कसिलो हुँदा यी बैंकहरूलाई थप व्यवसाय विस्तार गर्न समस्या पर्ने देखिन्छ। यद्यपि, लक्ष्मी बैंक र सनराइज बैंकले सोमबार मात्रै मर्जका लागि अन्तिम सम्झौता गरेर असारभित्र एकीकृत कारोबार गर्ने घोषाण गरेका छन्।
उता प्रभु बैंकले केही समयअघि मात्रै सेन्चुरी कमर्सियल बैंकलाई आफूमा विलय गराएको थियो। टायर वान क्यापिटल कम भएका कारण व्यवसाय विस्तार गर्न अप्ठयारो हुने भएपछि उनीहरूले माग गर्दा हकप्रद सेयरको मौका दिनुपर्ने पक्षमा बैंकर्स संघ देखिएको हो।