काठमाडौं। सरकारले आयातित मदिराको भन्सार उच्च गतिमा बढाउँदा चोर बाटो (अवैधानिक बाटो) हुँदै एक वर्षमै ३ अर्ब रुपैयाँबराबरको मदिरा नेपाल भित्रिएको छ।
मदिरा आयातकर्ताहरूले गरेको अध्ययनअनुसार ३ अर्बको मदिरा वैधानिक बाटोबाट नेपाल भित्रिँदा भने सरकारले डेढ अर्ब रुपैयाँबराबर राजस्व प्राप्त गर्थ्याे।
तर, तस्करी भएर मदिरा भित्रिँदा राज्यले पनि अर्बौं राजस्व गुमाएको व्यवसायीको भनाइ छ। त्यसको मुख्य कारण भनेकै मदिरामा अत्यधिक कर लगाउनु र नेपालको तुलनामा छिमेकी भारतमा मदिरा सस्तो हुनु हो।
चालू आर्थिक वर्ष अन्तःशुल्क ३० रुपैयाँले थप गरी २ सय २८ बनाइएको छ। यसअघि प्रतिलिटर १ सय ९८ रुपैयाँ शुल्क लाग्दै आएको थियो।
त्यसैगरी ४२.८ प्रतिशत अल्कोहल भएका हकमा १ हजार १ सय ८८ बाट बढाएर १ हजार ३ सय ६ रुपैयाँ पुर्याइएको थियो। ४८.५ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा प्रतिलिटर १ हजार ५ सय ९२ बाट १ हजार ७ सय ५० रुपैयाँ बनाइएको थियो।
त्यसैगरी ३९.९४ प्रतिशत अल्कोहल भएको मदिरामा १ हजार १ सयबाट बढाएर १ हजार २ सय १५ रुपैयाँ बनाइएको थियो। अन्य मदिराका हकमा १ हजार ७ सय ५० रुपैयाँ बनाइएको थियो। साथै, ह्विस्कीको कच्चापदार्थका रूपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर १ सय ९८ लाई बढाएर २ सय २८ रुपैयाँ बनाइएको थियो।
३४.२३ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर ५ सय ५५ रुपैयाँ रहेकोमा ६ सय १० बनाइएको थियो भने २८.५३ प्रतिशत अल्कोहल भएको मदिरामा ४ सय ५० बाट ४ सय ७२ रुपैयाँ पुर्याइएको हो।
हरेक वर्ष सरकारले मदिरामा अचाक्ली कर वृद्धि गर्दा चोरबाटोबाट नेपाल भित्रिने मदिरा हिस्सा वैधानिक बाटोबाट आउनेभन्दा बढी भएको आयातकर्ताहरू बताउँछन्।
चोरी भएर भित्रिएको मदिरा नेपालका गाउँगाउँमा भेटिन्छन्। ‘सरकारले राजस्व बढाउन मदिरामा जथाभावी कर बढाइदियो, रिजल्ट उल्टो भयो,’ एक आयातकर्ताले भने, ‘बढी कर लगाउँदा बढी राजस्व आउँछ भन्ने सरकारको सोच थियो। तर, अवैधानिक बाटोबाट भित्रिएको मदिराले बजार कब्जा गर्याे। सरकारी राजस्व पनि गुम्यो। वैधानिकरूपमा आयात गर्नेहरू पनि मरे।’
विदेशी मदिरा आयात गरिरहेका एक व्यवसायीका अनुसार यो वर्षमात्रै झन्डै ३ अर्ब रुपैयाँबराबर मदिराको माग घटेको छ। तर, बजारमा कुनै पनि ब्रान्डका मदिरा अभाव भने छैन। यसको अर्थ गैरकानुनी भित्रिएको मदिराले नेपाली बजार माग पूरा गरिरहेको छ। सरकारले यसैगरी कर वृद्धि गर्ने हो भने आउने वर्ष चोरबाटोबाट भित्रिने मदिरामात्रै नेपाली बजारमा पाइने छ।
चोरी भएर भित्रिएको मदिरा नेपालका गाउँगाउँमा भेटिन्छन्।वर्षेनि कर बढाएपछि नेपालभन्दा भारतमा मदिरा बोतलमै १ हजार रुपैयाँ सस्तो पर्न थालेको छ। भाउ फरकले सिमावर्ती सहरमा तस्करी भएर भित्रिने भारतीय मदिराले बजार लिन थालेका छन्।
तस्करले भारतीय मदिरा भित्र्याउँदा नेपाली बजारको व्यावसायिक चक्र प्रभावित भएको व्यवसायीको भनाइ छ।
भारतीय बजारमा उपलब्ध मदिराको मूल्य।सिग्नेचर, रोयल स्ट्यागलगायत ‘ब्रान्ड’ नेपाल र भारत दुवैतर्फ उत्पादन हुन्छ। भारतभन्दा नेपालमा त्यो मदिरा बोतलमा १ हजार रुपैयाँ महँगो भएपछि यहाँका उद्योगको बिक्रीमा ठूलो गिरावट आएको छ।
नेपालमा सिग्नेचर प्रिमियम ग्रिन ह्विस्की ७ सय ५० एमएलको २ हजार ४ सय ८० रुपैयाँ पर्छ। भारतमा यसको मूल्य ९ सय २० भारु अर्थात १ हजार ४ सय ७२ रुपैयाँमात्र पर्छ।
भारतीय बजारमा उपलब्ध मदिराको मूल्य।यो हिसाबले प्रतिबोतल नै १ हजार ८ रुपैयाँ फरक छ। नेपालमा ३ सय ७५ एमएल बोतलको भाउ १ हजार २ सय ४० पर्छ। यसको मूल्य भारतमा ७ सय ६४ मात्र पर्छ।
यसैगरी ७ सय ५० एमएलको सिग्नेचर रेयर एज्ड ह्विस्कीको नेपालमा २ हजार ३ सय २० रुपैयाँ र भारतमा १ हजार ७ सय ६० पर्छ। यही मदिरा भारतमा ५ सय ६० रुपैयाँ सस्तो पर्न जान्छ। यस्तै ३ सय ७५ एमएल नेपालमा १ हजार १ सय ६० पर्छ भने भारतमा ७ सय ३६ मै पाइन्छ। यसमा प्रतिबोतल ४ सय २४ रुपैयाँ फरक छ।
वैशाखमा मात्रै विभागले अवैध मदिरा कारोबारका ३ सय २० वटा घटना फेला पारेको छ। अनुगमन जाँदा एउटै पसलमा ५० बोतलसम्म अवैध मदिरा भेटिने गरेको छ।
भारतीय बजारमा उपलब्ध मदिराको मूल्य।नेपालमा भारतीय मदिरा ट्रकमै लोड गरेर ल्याइने गरेको नेपाली व्यवसायीले सूचना दिने गरेका छन्। त्यस्ता सूचनाका आधारमा छापा मार्न जाँदा एक–दुई बोतलमात्रै भेटिने गरेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ।
चालू वर्ष मदिराका सबै शीर्षकमा कर बढाए पनि सरकारको कर संकलन भने घटेको छ। मदिरामा गत वर्षभन्दा १५ प्रतिशत कम राजस्व उठेको छ। यसले सरकारको राजस्व नीतिमै प्रश्न उठिसकेको छ।
भारतीय बजारमा उपलब्ध मदिराको मूल्य।सीमा क्षेत्रका स्थानीय बजारमा भारतमा उत्पादित ‘हनी बी’, ‘सिक्किम मिलोन’ र ‘ओल्ड मंक’ लगायत मदिरा बिक्री भइरहेका छन्। सरकारले प्लास्टिकका बोतलमा ७० युपीका मदिरामात्रै उत्पादन गर्न अनुमति दिएको छ। तर, यहाँ त्योभन्दा कम युपीका मदिरा प्लास्टिकका बोतलमा राखेर गाउँ–गाउँ पु¥याइनुले तस्करी कुन तहमा छ भन्ने छर्लङ्गै हुने व्यवसायीहरू बताउँछन्।
अन्तःशुल्क र राजस्व छल्दा लाइन मिलाउन सहज
प्राप्त विवरणअनुसार नेपाली बजारमा अहिले अस्वाभाविकरूपमा दोस्रो बाटो भएर महँगा मदिरा भित्रिएका छन्। भारत नयाँदिल्लीमा भन्सार शुल्कसहित अधिकतम खुद्रा बिक्री मूल्य २ हजार १ सय भारु पर्ने ७ सय ५० एमएलको चिभास रिगल (१२ वर्ष) को मूल्य नेपाली बजारमा तस्करीबाट ल्याउनेले ५ हजार रुपैयाँमा बेचिरहेका छन्। जबकि, नेपाली व्यवसायीले वैधानिकरूपमा भन्सार तिरेर चिभास रिगल बेच्दा ७ हजार रुपैयाँ पर्छ।
नेपालमा ७० युपी बाहेक अन्य मदिरा प्लास्टिकका बोतलमा उत्पादन गर्न नपाइने भएपनि भारतीय बजारबाट खुलेआम बिक्री।नयाँदिल्लीमा भन्सार शुल्कसहित अधिकतम खुद्रा बिक्री मूल्य २ हजार १ सय भारु पर्ने ७ सय ५० एमएलको ब्ल्याक लेभल (१२ वर्ष) को मूल्य नेपालमा तस्करीबाट ल्याउनेले ५ हजार रुपैयाँमा बिक्री गरिरहेका छन्।
एक व्यवसायीका अनुसार उनीहरूले भारतीय बजारमा २ हजार ५ सय भारुसम्ममा यस्तो मदिरा पाउने गरेको बताउने गरेका छन्। जबकि, नेपालमा यस्तो मदिराको खुद्रा बिक्री मूल्य ८ हजार ६ सय ५० रुपैयाँ छ।
नेपालमा ७० युपी बाहेक अन्य मदिरा प्लास्टिकका बोतलमा उत्पादन गर्न नपाइने भएपनि भारतीय बजारबाट खुलेआम बिक्री।सरकारी राजस्व छलेपछि बजारमा बोतलमै ४ हजार रुपैयाँसम्म सस्तोमा मदिरा पाइन थालेको छ।
‘भारतमा खरिद र नेपालमा बिक्री मूल्यको अन्तर नै प्रतिबोतल २ हजार रुपैयाँसम्म भएका कारण तस्करले लाइन मिलाउन प्रशस्त रकम खर्च गर्न पुगेको देखिन्छ,’ एक व्यवसायीले भने।