काठमाडौं । प्रस्तावित ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजना बनाउन लगानी जुटेको छ।
आयोजना बनाउन नेपाल विद्युत प्राधिकरण, तामाकोसी जलविद्युत कम्पनी लिमिटेड र कर्मचारी सञ्चय कोषबीच आइतबार ऋण लगानी सम्झौता भएको छ।
सम्झौताअनुसार सञ्चय कोषले आयोजनामा १३ अर्ब ७४ करोड रुपैयाँ ऋण लगानी गर्ने छ। ऋणको ब्याजदर ९ प्रतिशत रहेको छ।
आयोजना बनाउन २१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। बाँकी ७ अर्ब ३९ करोड रुपैयाँ संस्थापक लगानी सेयर जारी गरेर जुटाइने भएको छ।
स्वपुँजी (इक्विटी) ३५ र सञ्चय कोषको ऋण ६५ प्रतिशत हुने गरी लगानी संरचना तयार पारिएको छ। आयोजनाबाट वार्षिक ५४ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। आयोजनाको कूल हेड १ सय ७४ मिटर छ।
आयोजनामा सञ्चय कोषले लगानी गर्ने विषयमा २०७८ साउन १४ गते समझदारीपत्र (एमओयु) भएको थियो।
जनताको जलविद्युत कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको आयोजनाको बाँकी रकम सर्वसाधारणलाईसमेत सेयर निष्कासन गरी जुटाइनेछ।
जसअनुसार सर्वसाधारण तथा संस्थालाई १५, आयोजना प्रभावित जिल्लावासीलाई १०, विद्युत प्राधिकरण र कम्पनीका कर्मचारीलाई ५, अतिविपन्न नागरिक, सहिद तथा वेपत्ता परिवारलाई २ प्रतिशत लगानी सुरक्षित गरेको तामाकोसी जलविद्युतका प्रवन्ध सञ्चालक विनोद भण्डारीले बताए।
माथिल्लो तामाकोसीको विद्युतगृह रहेको ठाउँबाट टेलरेस सुरुङ हुँदै बाहिर निस्केको पानी प्रयोग गरेर निर्माण गर्न लागिएको आकर्षक आयोजना हो।
आयोजनामा ९ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ। यसमा बाँध निर्माण गर्नु नपर्ने भएकाले पनि थप सहज भएको छ। तामाकोसी पाँचौंमा २५ मेगावाट क्षमताको चार युनिट रहनेछ ।
बाँध बनाउन नपर्ने, सडक र प्रसारण लाइन पूर्वाधार तयार भएकाले थप लगानी गर्नु नपर्दा आयोजना सस्तो देखिएको हो।
जलविद्यतमा सञ्चय कोषको ६० अर्ब लगानी
सञ्चय कोषका प्रशासक जितेन्द्र धितालले जलविद्युतमा मात्रै ६० अर्ब रुपैयाँ लगानी गरिसकेको बताए। उनले विद्युत प्राधिकरणका आयोजना र निजी क्षेत्रमा गरेर सो रकम लगानी गरेको उनले बताए।
हालसम्म ८ सय १५ मेगावाट क्षमताका विभिन्न आयोजना बनाउन सो रकम लगानी गरेको उनले बताए। निर्धारित समयमा आयोजना सम्पन्न गर्न उनले प्राधिकरण व्यवस्थापनलाई अनुरोध गरे।
यस्तै कम्पनीका अध्यक्ष तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धेरै जलविद्युत आयोजना निर्माणका लागि तयारी अवस्थामा रहेको बताए। उनले वर्खामा बिजुली खेर जाने अवस्था नरहेको बताउँदै बजार सुनिश्चित भइसेको जानकार िदिए।