काठमाडौं। सन् २०१८ ताका राइड सेयरिङ कम्पनी ‘पठाओ’ सुरु गर्ने तयारी चल्दै गर्दा असिममान सिंह बस्न्यातले आफ्नो टिमका साथीहरूलाई भने– ‘हामी इभीमा जानुपर्छ।’
‘के कुरा गरेको असिम? कसले किन्छ इभी? कती हुन्छ त्यसको रेन्ज? त्यत्तिकै हावामा गफ गरेर हुन्छ?,’ उनका साथीहरूले प्रश्न गरे।
‘दुई वर्ष लाग्ला वा चार वर्ष लाग्ला, मलाई थाहा छैन तर इभीमा जाने हो–जाने हो,’ बस्न्यातले भने।
पाँच वर्ष अघिको उनको घोषणा र ८/९ वर्ष अघिदेखिको उनको सपनाले मूर्तरूप पाउन लागेको छ।
तीन वर्षदेखिको अनुसन्धान र परीक्षणपछि पठाओले ‘राइड सेयर’ गर्न योग्य ‘इलेट्रिक स्कुटर’ विकास गराई परीक्षण पनि सफल भइसकेको छ।
पठाओले भनेअनुसारको इलेक्ट्रिक स्कुटर भारतीय इलेक्ट्रिक स्कुटर कम्पनी बुमले तयार पारेको छ।
‘राइड सेयरका लागि चाहिने भनेको धेरै रेन्ज र थोरै चार्जिङ टाइम हो। साथै मूल्य पनि कम हुनुपर्छ,’ बस्न्यातले भने, ‘बरु, स्कुटर हेर्दा राम्रो नदेखिए पनि हुन्छ। नचाहिने फिचर्स हटाएर भने पनि मूल्य सस्तो पार्नुपर्छ।
पठाओले पहिलो चरणमा मगाएका तीनमध्ये दुइटा स्कुटर अहिले राइड सेयरका सेवा दिइरहेका छन् भने एउटा नेपाल भित्रिने क्रममा छ।
यसका लागि कम्पनीले तीन वर्षदेखि तयारी गरेको थियो भने आगामी तीन वर्षभित्र २ हजार ५ सय स्कुटरबाट राइड सेयर गराइने उनले जानकारी दिए।
उनका अनुसार पठाओकाे भगिनी कम्पनी नेपाल माेबिलिटी प्रालिमार्फत २ हजार ५ सय इलेक्ट्रिक स्कुटर ल्याइने छ र साेही कम्पनीकाे आइपिओ जारी गर्ने तयारी भइरहेकाे छ।
‘हामीलाई एउटा स्कुटर र तीनवटा ब्याट्रीको करिब चार लाख पर्ने रहेछ,’ उनले भने, ‘त्यो हिसाब गर्दा २५ सय स्कुटरको १ अर्ब पर्ने देखिन्छ।’
२ हजार ५ सय स्कुटर एकैपटक भने नल्याइने उनले बताए। यो ठूलो लगानी भएकाले पहिलो चरणमा ५० वटा ल्याइने उनले बताए।
‘यसका लागि हामीसँग भएको पुँजीले पुग्दैन। बैंक, लगानीकर्ता लगायतसँग कुरा भइरहेको छ। तत्काल कसैले लगानी नगरे पनि हामी आफ्नै लगानीमा २० वटा ल्याउँछौं। काम गरेर देखाएपछि त लगानी ल्याउन सकिहालिन्छ,’ उनले भने।
इभीबाट राइडसेयर गरायो भने राइडरको मुनाफा पनि बढ्ने उनको दाबी छ।
‘राइडरले एउटा बाइक किनेर राइड सेयर गरायो भने दिनको १४ घन्टा चलाउँदा एउटा राइडरको तेल, किस्ता, बिमा, सर्भिसिङ गर्दा दैनिक झन्डै १२ सय खर्च हुन्छ,’ बस्न्यातले भने, ‘हामीले राइडरलाई दिउँसोको ८/९ सयमा र रातको समयमा ४/५ सय रुपैयाँ भाडामा दियौं भने राइडरलाई झन् धेरै नाफा हुन्छ।’
इभीबाट राइड सेयर गर्दा हुने मुख्य समस्या रेन्जबारे पनि कम्पनीले योजना बनाएको छ।
‘फुल चार्जले ६० किलोमिटर मात्रै रेन्ज दिन्छ। हामी काठमाडौंको विभिन्न ठाउँमा ब्याट्री स्वाप स्टेसन बनाउँछौं। ब्याट्री सकिन लागेपछि राइडर नजिकैको ब्याट्री स्वाप स्टेसनमा गएर निःशुल्क चेन्ज गर्न सक्छन्,’ बस्न्यातले भने।
यस्तो अटोमेटिक ब्याट्री स्वापिङ सेन्टर एटिएम बुथजस्तो हुने उनले बताए। यस्ता स्टेसन विद्युत प्राधिकरण, बैंक, पठाओका अफिस, पेट्रोल पम्पमा राख्ने योजना भएको उनको भनाइ छ।
‘राइड सेयर कम्पनीहरू ठूलो बन्दैछ। हामीले कम्पनी सुरु गर्दा प्रतिलिटर ९० रुपैयाँको पेट्रोल अहिले १ सय ७५ पुगिसक्यो। हामी पुरै इभीमा गयौं भने पेट्रोलको मूल्य १ हजार पुगे पनि केही फरक पर्दैन,’ उनले भने।
२ हजार ५ सय इलेक्ट्रिक स्कुटरको लक्ष्य पूरा गरेपछि कम्पनीले आइपिओ निकाल्ने उनले बताए।
‘सार्वजनिक यातायात भनेको सर्वसाधारणको सम्पत्ति हो र यसलाई एक दिन सर्वसाधारणलाई नै जिम्मा दिने हो। त्यसैले हामीले आइपिओ निकाल्ने सोच बनाएका हौं,’ बस्न्यातले भने।
पठाओमार्फत सार्वजनिक यातायातको रूप–रङ फेरेका बस्न्यात यो क्षेत्रमा अउँछु भन्ने कहिले नसोचेको बताउँछन्। उनका पुर्खा सबै नेपाली सैनिक भएकाले उनी पनि सानैदेखि सैनिक बन्न चाहन्थे।
उनको बुबा ताजमानसिंह बस्न्यातलाई नेपाली सेनाले सैनिक सहचरी बनाएर चीनस्थित नेपाली दूतावासमा खटाएको थियो। उनका बुबासँगै आमा, भाइ र हजुरआमा पनि उतै थिए। उनी ए लेभलमा प्रविणता प्रमाणपत्र तह सकेपछि सेनामा जागिर खान जाने तरखर गर्दै थिए।
‘बुबाले आर्मीमा गएपछि विदेश घुम्ने भनेको मिसनमा जाँदामात्र हो, यो खाली समयमा दुई÷चार महिना चीन घुम्न आऊ भन्नुभयो। मैले फर्कने टिकट पनि पठाउनुहोस् बल्ल आउँछु भनेपछि टिकट पठाइदिनुभयो,’ उनले भने।
उनी चीन पुगेपछि बुबाले फर्कने टिकट रद्द गरिदिए। त्यसपछि उनको सैनिक बन्ने सपना अपूरो रह्यो।
उनी ५/६ वर्ष उतै बसे। बुबा–आमा नेपाल फर्किसकेका थिए। बुढा बुबाआमा नेपालमा एक्लै भएका कारण हेरचाह गर्ने मान्छे नभएपछि उनी २००८ मा नेपाल फर्किए।
फर्किएसँगै उनी बैंक, विज्ञापन एजेन्सी र टुरिस्ट गाइडका रूपमा काम गर्न थाले। साथै, उनले फेटोग्राफी पनि सिकाउन थाले।
केही वर्षपछि उनको वैवाहिक सम्बन्ध बिग्रियो। उनी डिप्रेसनको सिकार बन्न पुगे।
‘मैले गरिरहेको सबै काम छाडेँ। एक/दुई वर्ष कोठाबाटै निस्किँन,’ उनले भने, ‘पछि कलेजको साथीको हौसलाले डिप्रेसनबाट मुक्त भएँ।’ उनै साथीले उनलाई चौधरी ग्रुपमा जागिर लगाइदिए।
‘त्यो बेला सिजीले उबर ल्याउने तयारी गरेको थियो। त्यो टिममा म पनि थिएँ। तर त्यो प्रोजेक्ट सफल हुन सकेन र केही समयपछि मैले जागिर पनि छाडेँ,’ उनले भने।
एक दिन उनका साथी यशु थकालीले पठाओका लगानीकर्ताले नेपालमा राइड सेयर सुरु गर्ने सोच बनाइरहेको र उनीहरूसँग भेटाइदिनसक्ने बताए। सिजीमा उबरको प्रोजेक्ट पूरा गर्न नपाएका उनले तुरुन्तै सहमति जनाए।
‘हामी बंगलादेशमा इन्भेस्टर मिटमा गयौं। हाम्रो योजना सुनायौं। उनीहरूले पठाओको टेक्नोलोजी दिन्छौं, पैसा पनि हालिदिन्छौं तर पठाओ नाम दिँदैनौं भने,’ उनले सुनाए। उनीहरूले जसरी पनि पठाओकै नाम लिन राजी गराए। पठाओका लगानीकर्ताले केही समयमा सम्पर्क गर्छौं भनेपछि मात्र उनीहरू फर्किए।
केही महिनापछि लगानीकर्ताले फोन गरे र २० करोड लगानी गर्ने बताए।
त्यसपछि सातजनाको टिमले सुरु गरे पठाओ, नेपाल। सुरुमा ५० जना राइडरबाट पठाओ सुरु भयो। तर, खासै राइड आउँदैनथ्यो। कम्पनी सुरु भएको करिब तीन महिनापछि ट्राफिक प्रहरीले राइडरलाई धरपकड गरेपछि पठाओ रातारात चर्चित बन्यो।
कम्पनी सुरु गर्दा दिनको १० हजार राइड भए भाग्य भन्ने सोचेका उनीहरूको यो लक्ष्य तोडिन केही महिना पनि लागेन। उनीहरू बजारीकरण (मार्केटिङ) का लागि राइडरलाई पठाओ ज्याकेट, हेल्मेट, मोबाइल होल्डर पनि दिन थाले।
पठाओ चर्चित हुँदै गएपछि कमिसनका विषयमा राइडरहरूले कार्यालय तोडफोड पनि गरे। त्यस्तै एकपटक गोंगबुमा ट्याक्सी चालक र पठाओ राइडरबीच झडप पनि भयो। यस्ता घटनाले पठाओलाई झनै चर्चित बनाइदियो।
‘हाम्रा राइडरलाई फोन गरेर गैरकानुनी काम किन गरिस् भनेर थर्काउनेलगायत काम भइरहे तर हामी रोकिएनौं,’ उनले भने।
पछि उनीहरूले पठाओ ट्याक्सी, पठाओ फुड पनि सुरु गरे। सुरुमा पठाओको विरोध गरेका ट्याक्सी चालक कमाइ राम्रो देखेपछि पठाओ ट्याक्सीमा आबद्ध हुँदै गए।
हाल पठाओ ट्याक्सीमा ८/१० हजार ट्याक्सी चालक आबद्ध छन्। त्यस्तै दुईपांग्रेमा १ लाख ३० हजारभन्दा धेरै राइडर छन्। दुईपांग्रेबाट दैनिक ८० हजारसम्म राइड भएको उनको सम्झना छ। त्यस्तै, पठाओले फुड डेलिभरीका लागि साइकल प्रयोग पनि सुरु गर्याे।
‘अहिले फुड डेलिभरीमध्ये हाम्रो मार्केट सेयर कम्तीमा ६० प्रतिशत छ। हाम्रा फुडम्यानमध्ये ८० प्रतिशतले साइकल प्रयोग गर्नुहुन्छ,’ बस्न्यातले भने, ‘मैले साइकलबाट १ सय ६० वटा मोटरसाइकल विस्थापित गरिसकेँ। यो भनेको वर्षमा ४ हजार रुख रोपेबराबर हो।’ आगामी दिनमा सबै राइड सेयर गर्ने बाइकलाई इलेक्ट्रिकमा विस्थापित गर्ने उनको योजना छ।
‘त्यति थोरै मोटरसाइकल विस्थापित गर्दा त वातावरणमा त्यति धेरै फाइदा पुग्ने रहेछ भने सबै राइड सेयरका मोटरसाइकललाई इलेक्ट्रिकले विस्थापित गर्न सक्यो भने कति राम्रो होला। कहिले होला थाहा छैन तर यो मेरो सपना अवश्य पूरा हुन्छ,’ उनले भने।