काठमाडौं। नेपाल टेलिकमको ‘वायरलेस ब्रोडब्यान्ड’ (फोरजी) सेवा ७ सय ४० स्थानीय तहमा विस्तार भएको छ।
यसअघि मुलुकका ७ सय ३९ स्थानीय तहमा रहेको फोरजी सेवा विस्तार गरी टेलिकमले ७ सय ४० स्थानीय तहमा पुर्याएको हो। बाँकी १३ स्थानीय तहमा भने फोरजी पहुँच पुग्न सकेको छैन, त्यहाँका नागरिक थ्री र टुजीमै सीमित हुनुपरेको छ।
तर, टेलिकमले बाँकी स्थानीय तहमा पनि आफ्नो फोरजी सेवा विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएको जनाएको छ।
‘फोरजी सेवा अहिले बढेर ७ सय ४० स्थानीय तहमा पुगेको छ भने बाँकी १३ स्थानीय तहमा टुजी र थ्रिजी सेवा नै सञ्चालनमा छ,’ टेलिकमका प्रवक्ता शोभन अधिकारीले क्यापिटल नेपालसँग भने, ‘बाँकी स्थानीय तहमा पनि फोरजी सेवा पुर्याउने प्रक्रिया निरन्तर चलिरहेको छ भने साथसाथै अध्ययन पनि भइरहेको छ।’
उनले केही स्थानीय तहमा अबको केही समयमै फोरजी सेवा विस्तार हुने बताए।
‘७ सय ४० स्थानीय तहमा फोरजी सेवा अहिले पुगेको छ भने अब दुई/चारवटामा चाँडै विस्तार हुने देखिन्छ। यसमा केही काम अगाडि बढेको पनि छ,’ प्रवक्ता अधिकारीले भने, ‘तर, कतिपय ठाउँमा भने माइक्रोवेभ पनि लग्न कठिन छ। माइक्रोवेभबाट लग्न पनि एकअर्कामा देखिनुपर्ने हुन्छ। नत्र, कनेक्सन हुँदैन। कति ठाउँमा नजिकको स्थानमा पुर्याउनका लागि पनि धेरैवटा माइक्रोवेभ आवश्यकता पर्ने देखिन्छ।’
उनले यही कारण फोरजी सेवा विस्तारमा केही कठिनाइ देखिएको बताए। तर, यसका लागि एउटा समूहले अध्ययन भने गरिसकेकाले सोहीअनुसार काम अगाडि बढाउने उनको भनाइ छ।
‘हाइवे कभरेज थपेर बढाउने प्रयत्न पनि भइरहेको छ। पश्चिमको लामो-लामो जंगलमा भने निकै कठिन हुने देखिएको छ। त्यहाँ पावरका लागि बिजुलीको समस्या पनि छ।
तर जति छ, त्यसलाई थपथाप गर्न भनेर काम अगाडि बढेको छ भने कतिपय ठाउँमा काम पनि भइरहेको छ,’ प्रवक्ता अधिकारीले भने, ‘अहिले स्पेसल एन्टेना प्रयोग गरेर लामो-लामो दुरीमा कभरेज गर्ने गरी फोरजी सेवा विस्तार गर्ने भन्ने योजनामा पनि हामी काम गरिरहेका छौं।’
त्यस्तै नाम्चेतर्फ तथा पानीट्यांकी र त्योभन्दा माथि पनि फोरजीको गुणस्तर सुधार गर्ने गरी काम भइरहेको अधिकारीले जानकारी दिए।
दुई जिल्लाबाहेक अन्य ठाउँमा यही एफटिटिएच पुग्ने
नेपाल टेलिकमले फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने एफटिटिएच सेवा विस्तार योजनालाई पनि तीव्र्रता दिएको जनाएको छ।
यसअघि ६८ जिल्लामा विस्तार भएको एफटिटिएच सेवा दुई जिल्लाबाहेक अन्य जिल्लामा यसै वर्ष पुर्याउने लक्ष्य टेलिकमले लिएको छ।
‘मुलुकको माथिल्लो स्थान पातलेसम्म हाम्रो एफटिटिएच फाइबर पुगेको छ। नाम्चेमा पनि एफटिटिएच सुरु भएको छ,’ प्रवक्ता अधिकारीले भने, ‘डोल्पा र हुम्लाबाहेक अन्य जिल्लामा यो वर्ष फाइबर पुर्याउने लक्ष्य हाम्रो छ। यसमा सफलता मिल्नेजस्तो पनि देखिएको छ।’
उनले यसअघि त्यहाँ तामाका तार गाडिएको र त्यसमा खिया लागेर समस्या आएको जानकारी दिए। यसलाई समाधान गर्न एफटिटिएचको काम अगाडि बढेको उनको भनाइ छ।