काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला कमिटी सिन्धुलीको सातौं जिल्ला अधिवेशन हिजो शनिबारदेखि सिन्धुलीमाढीमा सुरु भएको छ। अधिवेशनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालले गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले १० वर्षे सशस्त्र द्धन्द्ध, १९ दिने जन आन्दोलन र सहिदहरूको बलिदानबाट प्राप्त भएका उपलब्धिलाई गुम्नबाट जोगाउन सकेमात्र आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण गर्न सकिने बताए। उनले देशलाई भ्रष्टाचार मुक्त बनाउने जिम्मेवारी सरकारको काधँमा आएको धारणा रखे।
त्यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरण जुनसुकै पार्टीको भएपनि कारबाहीका लागि आफ्नो पार्टीले पहल गर्ने बताए। साथै, उनले गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रममा देशको राष्ट्रिय गौरवको आयोजनालाई पहिलो प्राथमिकता राखिएको उल्लेख गरे।
निजगढ विमानस्थल निमार्ण र फास्ट ट्रयाक रोड बनाउने, सिन्धलीको खुर्कोट मरिण डाइभर्सन, मेची महकाली राजमार्ग चारलेन सडक विस्तार, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, जलविद्युत, रोजगार प्रवर्द्धन, पर्यटन प्रवर्द्धन विकासकालाई नीति कार्यक्रमको पहिलो प्राथमिकतामा राखिएको बताए।