काठमाडौं । प्रदेश नं ५ का सहकारीहरुले कम्तीमा ३० प्रतिशत लगानी कृषि क्षेत्रमा गर्नुपर्ने भएको छ । कृषिमा युवाको आकर्षण बढाउन र कृषि उत्पादन वृद्धि गर्न प्रदेशले बनाएको सहकारी ऐनमा उक्त व्यवस्था गरिएको प्रदेश नं ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले जानकारी दिए ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ र १२ मा स्थापना गरिएको सहकारी कृषि बजारको बिहीबार उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले सहकारीले बचत मात्र नगरी कम्तीमा ३० प्रतिशत लगानी कृषि उद्योगमा गर्नुपर्ने प्रावधान ऐनमै व्यवस्था गरिएको बताए।
मन्त्री पौडेलले भने, “सहकारीको नाम कृषि राख्ने तर बचतमा सीमित भएर अब समृद्धि प्राप्त हुँदैन, कृषि सहकारीहरुले गाउँगाउँमा उत्पादन भएका कृषि उपजको बजारीकरण गरेमात्र नामअनुसारको काम गरेको ठहर्छ, तसर्थ कृषि, बचत तथा ऋणलगायत जुनसुकै सहकारीले पनि कम्तीमा ३० प्रतिशत लगानी कृषि उद्यममा गर्नुपर्ने प्रावधान हामीले ऐनमा व्यवस्था गरेका छौँ”, उनले भने, “बचत सहकारीहरुले विभिन्न कोषको नाममा करोडौँ रकम लगानी नगरी बचत गरेर राखेका छन्, यता कृषकले मल बीउ किन्न सकिरहेका छैनन्, अब यस्तो परिस्थितिको अन्त्य हुनुपर्छ ।”
कृषि व्यवसाय गर्ने सहकारीलाई यान्त्रिकीकरण, प्रशोधन, बिक्री वितरण बजारीकरणलगायतमा प्रदेश सरकारले यथेष्ठ सहयोग गर्ने उनले बताए। प्रदेश सरकारले कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन विशेष योजना सञ्चालन गर्न लागेको बताउँदै मन्त्री पौडेलले भने, “स्वदेशमा बस्ने युवामा कृषिप्रति रुचि छैन तर विदेशबाट फर्केका युवाहरु उत्साहित भएर कृषि गरिरहेका छन्, हामी युवालाई आफ्नै ठाउँमा बसेर, परिवारसँगै रमाएर उद्यम गर्ने वातावरण बनाउँदै छौँ, कृषि पढ्ने विद्यार्थीहरुलाई लक्षित गरी किसानसँग विद्यार्थी कार्यक्रम पनि सञ्चालन गर्न लागेका छौँ, विद्यार्थीले पढ्दै कमाउँदै गर्न सक्नेछन् ।”
गाउँगाउँमा सहकारीमार्फत व्यवसाय गर्नका लागि ५० प्रतिशत सहकारीले लगानी गरे प्रदेश सरकारले ५० प्रतिशत लगानी गरेर सहयोग गर्ने मन्त्री पौडेलले बताए। महिला सहकारीलाई भने सकारात्मक विभेदको नीति अवलम्बन गर्दै ७५ प्रतिशत प्रदेश सरकारले लगानी गरेर व्यवसाय प्रवद्र्धन गर्न सहयोग गर्ने उल्लेख गरे।
सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले कृषि बजारलाई प्रवद्र्धन गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए। उनले सहकारीका सबै सदस्यलाई कृषि उद्यम गर्न सहकारीले जोड दिनुपर्ने बताए। कृषिमा पहिलो प्राथमिकता दिइएको बताउँदै उनले कृषि पेशा गर्न आवश्यक सीप प्रदान गर्न नगरपालिका तयार रहेको उल्लेख गरे।
सहकारी बजारका अध्यक्ष देवीलाल डुम्रेका अनुसार प्रदेश सरकारको रु ५० लाख र सहकारी संस्थाको रु ५० लाख गरी रु एक करोडको लागतमा कृषि सहकारी बजार सञ्चालनमा ल्याइएको जानकारी दिए । बजारमा स्थानीय कृषकले उत्पादन गरेका तरकारी, फलफूल, खाद्यान्नलगायत कृषि उपज पैँचो पसलको अवधारणामा सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले बताए।
कृषि बजारमा विषादीसहित प्राङ्गारिक उपज खरीद बिक्री भइरहेको कृषि बजार सञ्चालन समितिका अध्यक्ष उपेन्द्रमान प्रधानले जानकारी दिए। आगामी दिनमा विषादी परीक्षण प्रविधि राख्ने तयारी पनि गरिएको उनले बताए। कृषि बजार स्थापना भएपछि स्थानीय कृषकले आफ्नो उत्पादनको उचित मूल्य पाउनुका साथै उपभोक्ताले पनि ताजा र प्राङ्गारिक उपज सुपथ मूल्यमा प्राप्त गर्ने अध्यक्ष प्रधानले उल्लेख गरे। कृषि बजार सञ्चालनमा आएपछि यस क्षेत्रका कृषक उत्साहित भएका छन् ।रासस