काठमाडौं। उन्नत अर्थतन्त्र बन्न उच्च वृद्धि हासिल गरिरहेका छिमेकी मुलुक चीन र भारत अहिले स्टिल उत्पादनमा सबैभन्दा अगाडी देखिएका छन्। चीन र भारतले अन्य उन्नत अर्थतन्त्रलाई धेरै पछि पार्दै विश्वमा सबैभन्दा बढी स्टिल उत्पादन गर्ने मुलुक भएका छन्।
विश्वको स्टिल उत्पादनमा चीन र भारतको हिस्सा ६०.५ प्रतिशत रहेको विश्व स्टिल संघले जनाएको छ। कूल स्टिल उत्पादनमा चीनको हिस्सा ५३.९ र भारतको ६.६ प्रतिशत रहेको संघले जनाएको छ। सन् २०२२ मा चीनले १ अर्ब १ करोड ३० लाख टन स्टिल उत्पादन गरेको थियो।
यस्तै भारतले १२ करोड ४८ लाख टन स्टिल उत्पादन गरेको संघले जनाएको छ। चीन र भारतले मात्रै विश्वमा १ अर्ब १३ करोड ७८ लाख टन स्टिल उत्पादन गरेका छन्। चीन विश्वको दोस्रो र भारत पाँचौ ठूलो अर्थतन्त्र भएका उदयिमान मुलुक हुन्।
स्टिल उत्पादनको तेस्रो स्थानमा उन्नत मुलुक जापान रहेको छ। जापानको विश्व बजारमा स्टिल उत्पादन हिस्सा ४.८ प्रतिशत मात्र छ। सन् २०२२ मा जापानले ८ करोड ९२ लाख टन स्टिल उत्पादन गरेको छ।
चौथो स्थानमा विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका रहेको छ। अमेरिकाले ८ करोड ५ लाख टन स्टिल उत्पादन गरेको छ। पाँचौं स्थानमा रसिया छ। उसले ७ करोड १५ लाख टन स्टिल उत्पादन गरेको संघले जानकारी दिएको छ।
यसैगरी छैठौ स्थानमा रहेको उन्नत अर्थतन्त्र दक्षिण कोरियाले ६ करोड ५९ लाख टन स्टिल उत्पादन गरेको छ सातौं स्थानमा जर्मनी रहेको छ। जर्मनीले ३ करोड ६८ लाख टन उत्पादन गरेको छ। आठौं स्थानमा रहेको टर्कीले ३ करोड ५१ लाख र नवौं स्थानमा ब्राजिल छ। ब्राजिलले ३ करोड ४० लाख टन स्टिल उत्पादन गरेको छ।
१० औं स्थानमा इरान छ। इरानले ३ करोड टन र इटालीले २ करोड १६ लाख टन स्टिल उत्पादन गरेको संघले जानकारी दिएको छ।
यसैगरी ताइवानको २ करोड ७ लाख,भियतनामको २ करोड, मेक्सिकोको १ करोड ८२ लाख र इन्डोनेसयाको १ करोड १ करोड ५६ लाख टन उत्पादन रहेको छ। बाँकी मुलुकको हिस्सा २० करोड १० लाख टन रहेको छ।
संघका अनुसार सन् २०२२ मा विश्वमा १ अर्ब ८७ करोड ८० लाख टन स्टिल उत्पादन भएको थियो। कोभिड महामारी सुरु हुनुअघि सन् २०१९ मा १ अर्ब ८७ करोड ५० लाख टन स्टिल उत्पादन भएको थियो।
स्टिल आधुनिक उद्योग र अर्थतन्त्रको एक महत्वपूर्ण भाग हो। भवन, अटोमोबाइल र हाम्रो दैनिक जीवनमा प्रयोग हुने अन्य धेरै उपकरणहरू र पूर्वाधारहरू निर्माणमा स्टिल आवश्यक पर्छ।
स्टिल उत्पादन गर्ने शीर्ष १५ देशहरूमध्ये केवल तीन देशहरु भारत, इरान र इन्डोनेसियाले आफ्नो वार्षिक उत्पादन बढाउँदै गएका छन्। टर्की, इटाली, ताइवान र भियतनामको उत्पादनमा दोहोरो अंकले गिरावट आएको छ। अन्य धेरैजसो शीर्ष स्टिल उत्पादक देशहरूको वार्षिक उत्पादन ५ प्रतिशत भन्दा बढी घटेको देखिन्छ।
विश्वको शीर्ष स्टिल उत्पादक चीनको पनि २ प्रतिशत घटेको छ। चीनको उत्पादन १ करोड ९८ लाख टन घटेको छ। जुन अन्य धेरै राष्ट्रहरूले एक वर्षमा उत्पादन गर्ने भन्दा बढी छ।
विश्वको दोस्रो ठूलो स्टिल उत्पादक भारतले आफ्नो उत्पादन ५.३ प्रतिशत बढाए पनि सो उत्पादन चीनले उत्पादन गरेको स्टिलको १० भागमा १ भाग मात्रै हिस्सा छ।
यद्यपि चीनले आज ५४ प्रतिशत भन्दा बढी सेयरको साथ विश्वको स्टिल उत्पादनमा प्रभुत्व जमाएको छ। सन् १९६७ मा विश्व स्टिल एसोसिएसनले पहिलो पटक स्टिल उत्पादनको तथ्याङ्क रेकर्ड गरेको थियो। त्यो वर्ष चीनले मात्र १ करोड ४० लाख टन स्टिल उत्पादन गरेको थियो।
जुन विश्वव्यापी उत्पादनको ३ प्रतिशत मात्र हो। त्यसबेला, अमेरिका र तत्कालिन सोभियत संघले क्रमशः ११ करोड ५० लाख र १० करोड २ लाख टन उत्पादन गरेका थिए। विश्वको शीर्ष स्टिल उत्पादकको रूपमा प्रतिस्पर्धा गरिरहेका थिए। त्यसपछि जापानको ६ करोड २० लाख टन मात्र थियो।
झण्डै तीन दशकपछि सन् १९९६ मा चीनले रुस, अमेरिका र जापानलाई उछिनेको थियो। त्यस वर्ष चीनले १० करोड टन स्टिल उत्पादन गरेको थियो। सन् २००० को प्रारम्भमा चीनका लागि तीव्र आर्थिक वृद्धिको समय थियो। त्यसपछि प्रत्येक वर्ष चीनको स्टील उत्पादनमा लगातार दोहोरो अंकको वृद्धि भएको थियो।
चीनको उत्पादनमा गिरावट
सन् २००० को प्रारम्भदेखि, चीनको स्टिल उत्पादनमा एक दशक (सन् २०१३ देखि २०२२) मा औसत वार्षिक वृद्धिदर ३.४ प्रतिशत कम भएको छ। जुन अघिल्लो दशक (सन् २००३ देखि २०१२) औसत वार्षिक वृद्धि दरको तुलनामा उल्लेखनीय गिरावट हो।
विगतका दुई वर्षहरूमा चीनको स्टिल उत्पादनमा गिरावट आएको देखियो। २०२१ र २०२२ मा पहिलो पटक लगातार दुई वर्षसम्म देशको उत्पादन घटेको थियो।
उत्पादनमा केही कमी आए पनि चीनले कुनै पनि समयमा शीर्ष स्टिल उत्पादन गर्ने राष्ट्रको रूपमा आफ्नो स्थान गुमाउने छैन्। हालको गिरावटले नयाँ प्रवृतिको सुरुवात हो वा देशको लगातार उत्पादन वृद्धिबाट केवल एक छोटो विचलन हो यो हेर्न बाँकी छ।