काठमाडौं। भन्सार विभागले विदेशबाट फर्कने यात्रुले ल्याउन पाउने मोबाइल फोनसम्बन्धी व्यवस्था परिवर्तन गरेसँगै नेपालबाट दुई वटा मोबाइल लिएर घुम्न जानेको हकमा फर्कदा के हुन्छ? भन्ने प्रश्न उठेको छ। विभागले जेठ १ गतेबाट लागू हुनेगरी विदेशबाट फर्कने यात्रुले आफ्नो साथमा महसुल सुविधामा ल्याउन पाउने मोबाइल फोन सम्बन्धी नयाँ व्यवस्था गरेको थियो।
यस व्यवस्थामा विदेशबाट फर्किने यात्रुले आफूले प्रयोग गरिरहेको महसुल नतिरी ल्याउन पाउने एक थान मोबाइल फोन सेटको घोषणा भन्सार कार्यालयमा गर्नु नपर्ने र उक्त फोन नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा व्यक्ति स्यवंमले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने उल्लेख छ।
त्यस्तै यो व्यवस्थामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले महसुल सुविधामा ल्याउन पाउने थप एक थान मोबाइल फोनको सम्बन्धमा भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पुरा गर्नुपर्ने व्यवस्था गरेको छ। तर, नेपालबाट दुईवटा मोबाइल बोकेर विदेश घुम्न जाने व्यक्ति नेपाल फर्कदा उसले साथमा दुई मोबाइल ल्याउन पाउँछ वा पाउँदैन भन्ने विषयमा भने स्पष्ट व्यवस्था नहुँदा अन्यौल सिर्जना भएको हो।
तर, भन्सार विभागका सूचना अधिकारी पूण्यविक्रम खड्का व्यक्तिले कतिवटा मोबाइल बोक्छ भन्ने कुराले असर नगर्ने बताउँछन्। ‘नेपालबाट विदेश घुम्न गएका व्यक्तिले दुईवटा वा सो भन्दा बढी मोबाइल लग्न र ल्याउन पाउँछ। तर, नेपालबाट लगेको दुई मोबाइल दर्ता छ वा छैन भन्ने विषयले त्यसको निर्धारण गर्छ,’ खड्काले क्यापिटल नेपालसँग भने, ‘उसले यताबाट लगेको दुबै मोबाइल दर्ता छ भने सो दुईवटै मोबाइल ल्याउन पाउँछ। यताबाट दुई लगेर उताबाट नयाँ दुई ल्याएको खण्डमा भने दर्ता गर्नुपर्ने हुन्छ। दर्ता नगरेको खण्डमा नेपालमा सो मोबाइल चल्दैन।’
यताबाट पुराना दुई मोबाइल लगेर नयाँ दुई ल्याएको खण्डमा व्यवस्था बमोजिम दर्ता नगरेसम्म सो मोबाइल नचल्ने उनको भनाइ छ। ‘व्यक्तिले कतिवटा मोबाइल बोक्यो भन्ने विषयसँग भन्सारको सरोकार रहँदैन। उसले व्यवस्थाअनुसार मोबाइल ल्याएर दर्ता नगरेको खण्डमा उसको मोबाइल स्वतः चल्दैन,’ खड्काले भने, ‘उसको मोबाइल दर्ता छ वा छैन भन्ने विषय एमडिएमएसले छुट्याउँछ। त्यसैले बरु ल्याउनेले व्यवस्थाबमोजिम ल्याएर दर्ता गर्ने विषयमा सचेत हुनुपर्छ।’
उनले यताबाट दर्ता भएका दुई वा सो भन्दा बढी मोबाइल लान र ल्याउन पाउने तर उताबाट नयाँ ल्याएको खण्डमा भने व्यवस्थाबमोजिम दर्ता गर्नुपर्ने बताए। सूचना अधिकारी खड्काका अनुसार नेपालबाट विदेश घुम्न जाने व्यक्तिले दुई वा त्यसभन्दा बढी मोबाइल लग्न र ल्याउन पाउँछ। तर, नेपालबाट विदेश लगेको मोबाइल र विदेशबाट नेपाल ल्याएको मोबाइल परिवर्तन गरिएको छ र दर्ता भएको छैन भने सो मोबाइल ल्याए पनि दर्ता नगरेसम्म चल्दैन।
त्यस्तै विभागका सूचना अधिकारी खड्काले थप एक मोबाइल ल्याउन पाउने व्यवस्था वैदशिक रोजगारीमा गएका व्यक्तिका लागि मात्रै गरिएको भन्दै अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशीएका व्यक्तिलाई यो छुट नभएको बताए। ‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपालीले थप एक थान मोबाइल ल्याउन पाउने व्यवस्था गरिएको छ,’ खड्काले भने, ‘यो बाहेक वैदेशिक अध्ययन र अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले भने थप एक थान मोबाइल ल्याउन पाउने छैनन्।’
उनका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा ‘सिलप्याक’ वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउँछन् तर त्यसबाहेक अन्य प्रयोजनमा विदेशी व्यक्तिले भने एकथान मोबाइलमात्रै ल्याउन पाउँछन्। दर्ता भइसकेको फोन भने जोसुकै व्यक्तिले दुई वा त्यसभन्दा बढी पनि ल्याउन र लान पाउँछन्।
यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, २०७७ बमोजिम विदेशबाट फर्कने यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल फोन थान १ महसुल नतिरी ल्याउन पाउने व्यवस्था रहेको छ। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले थप १ थान मोबाइल फोनसमेत ल्याएमा कुनै पनि महसुल नलाग्ने गरी नेपाल सरकार, मन्त्रिपरिषदबाट वैशाख २६ मा निर्णय भएको थियो।
यो भन्दाअघि सरकारले २०७७ जेठ १० मा निजी झिटीगुन्टासम्बन्धी व्यवस्थाका लागि राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार विदेशबाट आएका नेपालीले बोकेको पहिलो मोबाइलको दर्ताका लागि निःशुल्क प्रज्ञापनपत्र जारी गर्ने, दोस्रोका लागि १८ प्रतिशतसम्म भन्सार तिरेर प्रज्ञापनपत्र लिने र दुईभन्दा बढी मोबाइल ल्याए जफत गर्ने व्यवस्था थियो। जसको विरोध भएपछि नयाँ व्यवस्था लागू गरिएको हो।
हाल नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा ल्याएको छ भने भन्सार विभागले पनि जेठ १ बाट वैदेशिक रोजगारीबाट फर्कने नेपालीले थप एकथान मोबाइल ल्याउन पाउने व्यवस्था लागू गरेको छ। एमडिएमएस पूर्णकार्यान्वनयनमा आएसँगै प्रज्ञापनपत्र जारी भएका मोबाइलमात्र दर्ता हुन थालेका छन्।