काठमाडौं। ट्राफिक प्रहरीले विभिन्न मितिमा हराएका २३ ओटा दुईपाङग्रे सवारीसाधन खोजी गरी सवारी धनीलाई हस्तान्तरण गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले १२ ओटा मोटरसाइकल र ११ ओटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन्।
योसँगै चालू आर्थिक वर्षमा ४ सय २७ ओटा सवारीसाधन ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको ट्राफिक प्रहरीले जनाएको छ।
चालू आर्थिक वर्षमै ३० वटा चोरीका २ पाङ्ग्रे सवारीसाधनसहित चोरीमा संलग्न ३४ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको कार्यालयले जनाएको छ।
सवारीसाधन हराएको भनी प्राप्त भएको निवेदनको आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको सुकेधारा, दरबारमार्ग, बालकुमारी, जगाती, नयाँबसपार्क, मुलपानी, नेपालटार, नयाँबानेश्वर, ठिमीलगायतका स्थानमा दुईपाङग्रे सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको हो।
हराएका सवारीसाधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि स्वयम् सवारी धनी विशेष चनाखोका साथै सजक हुनुपर्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।
सवारी चालक थप जिम्मेवार बनी सवारीसाधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गरी चोरी तथा हराउनबाट रोक्न विभिन्न उपाय अवलम्वन गर्न तथा मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न उनले अनुरोध गरे।