काठमाडौं । कोपिला किताबले बुधबार ५ वटा बालपुस्तक एकसाथ लोकार्पण गरेको छ। ‘टेल्स एन्ड लाइज’ शृङ्खलाअन्तर्गत विभिन्न लेखकले लेखेका ५ बालपुस्तक बेखामान र राक्षस, साङ्केनको खुलदुली, अन्नको बखान, कपासको घोडा र जन्तरमन्तर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरियो।
ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, थाङ फाउन्डेसनकी अध्यक्ष मार्लिन फिसर भरबुक, कथावाचक समाजका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरे, नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिज र ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले छुट्टाछुट्टै पुस्तक लोकार्पण गरे।
कार्यक्रममा कथावाचक समाजका अध्यक्ष प्रा.डा. घिमिरेले कथाका लागि नेपाल समृद्ध देश रहेको बताए। यहाँ कथाका लागि अनगन्ती विषय रहेको र कोपिला किताबले ल्याएका यी पुस्तकले बालबालिकालाई किंवदन्तीदेखि नवीन विषयवस्तुसमेत प्रस्तुत गरेको उनको भनाइ छ। चित्र माध्यमबाट प्रस्ट गरिएको विषयलाई शब्दको गाम्भीर्यले थप प्रभावकारी बनाएको उनको भनाइ छ।
कार्यक्रममा कार्टुनिस्ट क्लबका अध्यक्ष क्षितिजले बालसाहित्यको क्षेत्रमा कोपिला किताबले छोटो समयमा प्रभावकारी काम गरेको बताए। यसले प्रकाशन गरेका पुस्तक अन्तर्राष्ट्रिय स्तरको रहेको र नेपाली बालसाहित्यले नयाँ फड्को मारेको यसले प्रस्ट्याएको उनको भनाइ छ।
अक्षर मात्र भएको पुस्तक सबैलाई मन नपर्न सक्छ, तर चित्रसहितको पुस्तकले सबैलाई आकर्षित गर्ने उनले जनाए। यही विषयलाई बुझेर कोपिला किताबले बालबालिकाका लागि बहुउपयोगी पुस्तक प्रकाशन गरेको उनको भनाइ छ।
बालबालिकालाई विशेषगरी पुस्तकले मनोरञ्जन दिनुपर्ने नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले बताए। उनीहरुलाई जब पुस्तकको पंक्तिले तान्छ, त्यसपछि उनीहरू पुस्तक पढ्न आकर्षित हुन्छन्, त्यसैले बालपुस्तक सुरुमा मनोरञ्जनात्मक हुनुपर्ने उनको भनाइ छ। कोपिला किताबले प्रकाशन गरेका यी पुस्तक मनोरञ्जनात्मकसँगै ज्ञानमूलक पनि रहेको उनले जनाए।
जबसम्म बालबालिकालाई पठन संस्कृतिमा ढाल्न सक्दैनौं, तबसम्म साहित्यका पाठक बढाउन सकिन्न। त्यसैले बालबालिकालाई उपयोगी हुने किसिमले आएका यी पुस्तकले साहित्यका पाठक बढाउन सकिने गरी बालबालिकालाई आकर्षित गर्ने उनको भनाइ छ।
कार्यक्रममा थाङ फाउन्डेसनकी अध्यक्ष मार्लिन फिसर भरबुकले बालसाहित्यका विषयमा आफ्ना धारणा राखेकी थिइन्। बालसाहित्यका विविध विषयमा प्रकाश पारेकी उनले कोपिला किताबले प्रकाशन गरेका बालपुस्तक अन्तर्राष्ट्रिय स्तरका भएको बताइन्।
कार्यक्रममा ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति हार्तम्छालीले कोपिला किताबले ल्याएका पुस्तकले नेपाली बालसाहित्यको आयाममा नयाँपन थपेको दाबी गरे। शब्द र चित्रका माध्यमबाट प्रदान गरिएको ज्ञान बालबालिकाका लागि बहुउपयोगी हुने र त्यो अवसर कोपिला किताबले दिएको उनको भनाइ छ।
‘बेखामान र राक्षस’ पुस्तक बिक्रम भक्त जोशीले लेखेका हुन्। यसमा चित्रकार शोभितमान बनियाले चित्राङ्कन गरेका छन्।
त्यस्तै अर्काे बालपुस्तक ‘जन्तर मन्तर’का लेखक बिन्दु शर्मा हुन्। उनको लेखनमा चित्रकार एलिना छन्तेलको चित्राङ्कन छ। साथै, ‘कपासको घोडा’ बालपुस्तक इन्द्र चौधरीले लेखेका हुन्। यसमा चित्रकार प्रकाश रञ्जितको चित्राङ्कन छ।
अर्को बालपुस्तक ‘अन्नको बखान’को लेखन भने जितेन्द्र बस्नेतले गरेका हुन्। यसमा चित्रकार सुमन महर्जनले चित्राङ्कन गरेका छन्। अर्काे पुस्तक ‘साङ्केनको खुलदुली’का लेखक सिर्जना राई हुन्। यस पुस्तकमा चित्रकार सुरज राईले चित्राङ्कन गरेका छन्।
बाल कथाकार अनुराधाले सबै पुस्तकको सम्पादन गरेकी हुन्।
बालबालिकाहरूको मनोविज्ञान बुझेर र त्यस्तो मनोविज्ञानलाई चित्र अनि सरल भाषामार्फत बुझाइएको पुस्तक ल्याउनुपर्छ भन्ने मनसायले आफ्नो प्रकाशन गृहले यी बालपुस्तक ल्याएको कोपिला किताबका अध्यक्ष भानु भट्टराईले बताए। ‘बालबालिकाका लागि सबै किसिमबाट उत्कृष्ट पुस्तक प्रकाशन गरौं भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘त्यसैले हामीले यी पुस्तकमा बालबालिकाको उमेरअनुसारको भाषा र चित्र समेटेका छौं। उनीहरूले चित्र मात्र हेरेर पनि कथा बुझून् भन्ने उद्देश्य राखेर पुस्तक प्रकाशनमा ल्याएका छौं।’
बालसाहित्यकार कृष्णदीप सिग्देलले सञ्चालन गरेको कार्यक्रममा उनले बालसाहित्यका विविध पक्षमाथि आफ्ना धारणा राखेका थिए। कार्यक्रममा लेखकहरूले समेत आआफ्ना लेखन अनुभूति साटेका थिए।