काठमाडौं। ग्लोबल सेपर्स कम्युनिटी काठमाडौंले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा आजदेखि ७ गतेसम्म काठमाडौंमा जलवायु परिर्वतन सम्बन्धी सम्मेलन ‘सेप साउथ एसिया २०२३’ आयोजना गर्ने भएको छ।
यस तीन दिने सम्मेलनमा दक्षिण एसिया र अन्य देशहरू गरी १४ देशका १२० भन्दाबढी युवाहरू ‘सेपिङ् क्लाइमेट रेजिलियन्सी टुवार्डस् अ ग्रेट हिमालयन फ्युचर फर अल’ भन्ने थिमका साथ यो सम्मेलनमा भेला हुँदै छन्।
सहभागीले जलवायु परिवर्तनका प्रतिकुल प्रभाव न्यूनिकरणका नयाँ र लागू गर्न सकिने विभिन्न समाधानका उपायहरू प्रस्तुत गर्नेछन्।
जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने युवा तथा संगठनको आवाजलाई एकै ठाउँमा समेट्न, देशको विभिन्न ठाउँमा वातावरण सम्बन्धी गर्न सकिने कार्य विकास गर्न र जलवायु परिवर्तनको समस्या समाधानका लागि निजी क्षेत्रबाट प्रतिबद्धता हस्ताक्षरजस्ता विभिन्न कार्यको सुरुवात गर्नेगरी सेप साउथ एसिया २०२३ सम्मेलनको आयोजना गर्न लागिएको हो।
यस कार्यक्रममा सहभागी राष्ट्रका सेर्पसहरूले आ-आफ्नो पाटोबाट अर्बन पोलिटिक्सदेखि उद्यमशीलतालगायत विभिन्न क्षेत्रमा जलवायु परिवर्तनबारे छलफल गर्नेछन्।
ग्लोबल सेपर्स कम्युनिटी काठमाडाैंका क्युरेटर सौरभ शाहले यस कार्यक्रमबारे जानकारी दिँदै भने, ‘सेप साउथ एसिया जलवायु परिवर्तन सम्बन्धी कार्य गर्न क्षेत्रीय स्तरमा सुरु भएको युवाहरूको सामुहिक पहल हो। काठमाडौंमा हुने यो कार्यक्रममार्फत हामी विभिन्न देशका युवाको संयुक्त पहलमा एड्भोकेसी पेपर तयार पार्नेछौं र दक्षिण एसियामा जलवायु परिवर्तनको समस्या न्यूनिकरण गर्न नेपालका निजी क्षेत्रको प्रतिबद्धता लिएर एक मार्गचित्र तयार पार्नेछौं।’
एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत जलवायु परिवर्तनको समस्या समाधानमा सहयोग गर्ने उद्देश्यअनुरुप प्रमुख सहयोगीको रूपमा सेप साउथ एसिया २०२३ मा आबद्ध भएको छ।
एनसेलका कार्यकारी प्रमुख जाब्बोर कायुमोभले भने, ‘आजियाटा गु्रपको इन्भारोमेन्टल, सोसाइटी एन्ड गभरनेन्स (ईएसजी) फ्रेमवर्कमा रही वातावरण, समाज र सुशासनअन्तर्गत दीर्गकालीन र प्रभावकारी सामाजिक कार्य गर्न एनसेल तत्पर रहेको छ। जलवायु परिवर्तनका प्रतिकूल प्रभाव न्युनिकरणको लागि सामुहिक प्रयासका रूपमा हुन गइरहेको यस महत्वपूर्ण सम्मेलनमा ग्लोबल सेपर्स कम्युनिटी काठमाडौंसँग सहकार्य गर्न पाएकोमा हामी खुसी छौं।’
यस सम्मेलनका लागि ग्लोबल सेपर्स कम्युनिटीले निजी क्षेत्र, उद्योग व्यवसाय, स्थानीय तथा विदेशी संस्थाहरूसँग सहकार्य गरेको छ। प्रमुख सहयोगीहरूमा एनसेल, स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडिसि), सेक्युरिटीपाल, कोकाकोला ग्लोबल, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड), नबिल बैंक आदि छन् । यस कार्यक्रमको प्राविधिक सहयोगीमा क्लाइमेट रियालिटी टिम र योङ् ग्लोबल लिडर्स नेपाल रहेको छ।
ग्लोबल सेपर्स कम्यूनिटी, वल्र्ड इकोनोमिक फोरम (डब्लुइएफ) अन्तर्गत विभिन्न क्षेत्रमा आधारित युवाहरूको पहलमा स्थापना भएको कम्यूनिटी हो र यसमा आबद्घ ४५० भन्दाबढी कम्यूनिटी हबले विश्वभरी विभिन्न प्रभावकारी कार्य गदै आएको छ। सेप साउथ एसिया २०२३ दक्षिण एसियामा रहेका सेपर्सका लागि ग्लोबल कम्युनिटीको सहयोगमा आयोजना गरिएको क्षेत्रीय कार्यक्रम हो।