काठमाडौं। नेपालमा आयकर बुझाउने सूचीमा पब्लिक लिमिटेड कम्पनी अग्रणी देखिएका छन्। चालू आर्थिक वर्षको वैशाखसम्मको आयकर तथ्यांक हेर्दा प्राइभेटले भन्दा पब्लिक कम्पनीले बढी आयकर तिरेका छन्।
चालू वर्षको वैशाखसम्म आन्तरिक राजस्व विभागमार्फत असुली भएको कूल कर ३ खर्ब ७१ अर्ब ६० करोड रुपैयाँ छ। गत वर्षको वैशाखसम्म ३ खर्ब ७८ अर्ब ३२ करोड रुपैयाँ संकलन भएको थियो।
यसरी संकलित रकममा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, आकस्मिक लाभकर, बहाल कर, स्वास्थ्य सेवाकर, सामाजिक सुरक्षा करलगायत पर्छन्।
आन्तरिक राजस्व विभागबाट असुली भएको कूल करमध्ये १० प्रतिशतभन्दा बढी पब्लिक लिमिटेडमार्फत आयकर जम्मा भएको छ।
यसअवधिमा पब्लिक लिमिटेड कम्पनीले ३९ अर्ब ५६ करोड रुपैयाँ कर सरकारलाई बुझाएका छन्। गत वर्ष सोही अवधिमा ३७ अर्ब ७७ करोड रुपैयाँ आयकर तिरेका थिए।
पब्लिक लिमिटेड कम्पनीलाई पच्छ्याएका प्राइभेट लिमिटेडले वैशाखसम्म २९ अर्ब ४५ करोड रुपैयाँ कर तिरेका छन्। गत वर्ष वैशाखसम्म ३५ अर्ब १९ करोड ४२ लाख रुपैयाँ आयकर उठेको थियो। गत वर्षको तुलनामा चालू वर्ष प्राइभेट कम्पनीतर्फको आयकरमा ठूलो ह्रास आएको छ।
तेस्रो स्थानमा पारिश्रमिक आयकर देखिएको छ। वैशाखसम्म २६ अर्ब ९ करोड रुपैयाँ संकलन भएको छ। गत वर्ष सोही अवधिमा २५ अर्ब ९९ करोड रुपैयाँ परिश्रमिक आयकर बुझाएका थिए। निजामती कर्मचारीहरूको तलब वृद्धि भएका कारण आयकरमा सामान्य वृद्धि भएको हो।
पुँजीगत लाभकर व्यक्तिगतमा यो वर्ष ह्वात्तै घटेको छ। गत वर्ष २५ अर्ब ५८ करोड रुपैयाँ आयकर असुली भएकोमा चालू आवको वैशाखसम्म ११ अर्ब ७६ करोड रुपैयाँ मात्रै उठेको छ। यसले पुँजीगत लाभ हुने खालका आर्थिक क्रियाकलाप न्यून भएको देखाउँछ।
विभागका अनुसार १० महिनामा ब्याजकर मात्रै ३० अर्ब २८ करोड रुपैयाँ संकलन भएको छ। गत वर्षको सोही अवधिमा २२ अर्ब ४६ करोड रुपैयाँ असुली भएको थियो। चालू वर्ष ब्याजदर बढेर उच्च बिन्दु कायम हुँदा त्यसको सिधा असर ब्याजदरमा परेको हो।
त्यस्तै मूल्य अभिवृद्धि कर (उत्पादन) २८ अर्ब ८३ करोड रुपैयाँ संकलन भएको छ। यो गत वर्षको भन्दा कम हो। गत वर्षको वैशाखसम्म २९ अर्ब ७१ करोड रुपैयाँ उठेको थियो। वस्तु बिक्री र वितरणमार्फत २२ अर्ब २० करोड उठेको छ। गतवर्ष २३ अर्ब ७६ करोड रुपैयाँ राजस्व असुली भएको थियो। यो पनि सामान्य घटेको छ।