काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज शुक्रबार सार्वजनिक गर्ने भएको छ। आज बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ।
आज अपराह्न ४ बजे संघीय संसदको बैठक बोलाइएको छ। सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गर्ने कार्यक्रम छ। नीति तथा कार्यक्रम आगामी आर्थिक वर्षका लागि सरकारको वार्षिक कार्यदिशा हो।
संसदमा प्रस्तुत नीति तथा कार्यक्रमलाई टेकेर सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने छ। विश्वव्यापी मन्दीका कारण अहिले मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा छ। आर्थिक गतिविधि शिथिल हुँदा आर्थिक वृद्धि पनि खुम्चिएको छ।
राजस्व संकलन घटेका कारण सरकारलाई स्रोत व्यवस्थापनमा दबाब सिर्जना भएको छ। सीमित स्रोतका कारण सरकारले चालू आर्थिक वर्षको जस्तो महत्वकांक्षी बजेट ल्याउने सम्भावना छैन।
अर्थमन्त्री डा. प्रकाशशरण महतले कनिका छरेको जस्तो बजेट नल्याउने प्रतिफल दिन आयोजना तथा कार्यक्रममात्र बजेटमा समावेश गर्ने जानकारी गराइसकेका छन्।
स्रोत व्यवस्थापनको अवस्था कमजोर भएकाले आगामी आर्थिक वर्षका लागि सरकारले पुराना आयोजनालाई निरन्तरता दिने र नयाँ आयोजना नल्याउने सम्भावना छ।
यसअघिकै ठूला र रणनीतिक महत्वका पूर्वाधार आयोजनालाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा संघीयता सबलीकरण, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधारका विषय नीति तथा कार्यक्रममा समेटिनेछन्।
यता, प्रधानमन्त्री पुष्पकमल दाहालले १० दलको संयुक्त बैठक बोलाएर नीति कार्यक्रममा समेट्नुपर्ने विषयबारे सुझाव लिइसकेका छन्।
प्रधानमन्त्री दाहालले आर्थिक संरचनामा परिवर्तन गर्ने खालको बजेट आउने बताएका छन्। उनले उत्पादन बढाएर रोजगारी सिर्जनामा बजेट केन्द्रित हुने बताइसकेका छन्।
सङ्घीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने तथा त्यसमाथि छलफल गरी पारित गर्ने सङ्घीय संसदकाे मुख्य कार्य जिम्मेवारीभित्र पर्छ।
उक्त बैठक अवलोकनका लागि राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कुूटनीतिक नियोगका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव सहभागी हुनेछन्।
उक्त बैैठकपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्नेछन्। प्रधानमन्त्री दाहालले संसदकाे दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गर्ने सम्बोधनको प्रति ती बैठकमा टेबुल गर्ने छन्।
सरकारले आज पेस गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ। छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था छ।