काठमाडौं। सुन्दर अटो इन्जिनियरिङ प्रालिले नेपालमा एसेम्बल गरेको पहिलो विद्युतीय मोटरसाइकल ‘गन्तव्य ईभी १००एस’ सार्वजनिक गरेको छ।
सुन्दर यातायातको भगिनि संस्थाको रूपमा रहेको सुन्दर अटो इन्जिनियरङि प्रालिले बिहीबार एक कार्यक्रमका बीच ‘गन्तव्य ईभी १००एस’ मोटरसाइकल सार्वजनिक गरेको हो। सुन्दर अटो इन्जिनियरिङको प्राविधिकद्वारा आफ्नो डिजाइन र च्यासीस निर्माण गरिएको यस मोटरसाइकलको उद्घाटन उर्जा जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले गरे।
प्रतिघण्टा २४ देखि ५५ किलोमिटरको उच्च गति दिन सक्ने ‘गन्तव्य ईभी १००एस’ एक पटकको फूल चार्जमा १०० किलोमिटर देखि १२० किलोमिटरसम्म कुद्न सक्छ। १५०० वाटको बीएलडीसी मोटर रहेको यस मोटरसाइकलमा ५१.२ भोल्टेजको ब्याट्री उपलब्ध छ। यस मोटरसाइकलमा प्रयोग भएको ४० देखि ५० प्रतिशत पार्टपुर्जा नेपाली र अन्य बाहिरी मुलुकको रहेको कम्पनीले जनाएको छ।
कम्पनीले यसको न्यूनतम मूल्य २ लाख ५० हजार रुपैयाँ तोकेको छ। तर एक महिनाभित्र बुकिङ गर्नेलाई भने २ लाख ४० हजार रुपैयाँमा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ।
मोटरसाइकल सार्वजनिक कार्यक्रममा उर्जा जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारीसाधनको विकास र विस्तारका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार भएको बताए। सुन्दर यातायातले गरेको कामको प्रशंसा गर्दै मन्त्री बस्नेतले समृद्धि र स्वच्छ वातावरणका लागि उर्जा भन्ने नारामा काम गरेको बताए। सरकारले विद्युतीय सवारीलाई सँधै प्राथमिकता राखेको उनको भनाइ छ।
कार्यक्रममा सुन्दर अटो प्रालिका अध्यक्ष भेशबहादुर थापाले ‘गन्तव्य ईभी १००एस’ पक्की तथा कच्ची सडक दुबैका लागि उपयुक्त भएको दाबी गरे। उनले मोटरसाइकल परिमार्जन र फिचर थप गर्दै जाने बताए।
त्यस्तै मोटरसाइकल सार्वजनिक कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाले विद्युतीय सवारीसाधनक प्रमुख पूर्वाधारको पमा रहेको चार्जिङ स्टेसनलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताए।