काठमाडौं। सेयर बजारले बल्ल सकारात्मक गति समात्ने संकेत गरेको छ । बिहीबार नेप्से सूचक ३२.३० अंकले बढेर १८७७.३२ विन्दुमा आएको छ । करिब १ अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
बुधबारदेखि नेप्से सूचकका साथमा दैनिक कारोबार रकमले पनि उचाई लिन थालेको छ । यसले बजारमा केही सकारात्मक चालहरु देखिन खोजेको जानकारहरु बताउँछन् ।
विशेषतः सूचकले १८०७ विन्दुलाई बारम्बार परीक्षण गरिसकेको छ । यसपटक पनि सूचक सोही विन्दुबाट फर्किएको हो । १८०७ विन्दुबाट बजार तल नजरेपछि बाउन्स ब्याक भएको हो । नेप्सेको उचाई कति हुन्छ वा कुन ट्रेन्डमा वृद्धि हुन्छ भनेर अनुमान लगाउनका लागि भने अझै केही दिनको बजार अध्ययन गर्नुपर्ने विश्लेषकहरु बताउँछन् ।
ब्याजदर घट्न थालेको छ । केन्द्रीय बैंकको नीतिले पनि ब्याजदर घटाउनेतर्फ नै जोड दिएको छ । मुख्ययतः ब्याजदर घट्न सुरु गरेकै कारण बजार सकारात्मक देखिएको हो, अरु नीतिगत अवरोधहरु त यथावत् नै रहेको अवस्था छ ।
अहिले बजारमा सकारात्मक माहोल देखिनुको अर्को कारण सेयर भाउ निकै सस्तो हुनु पनि हो । निरन्तर घटेको बजारमा सबल वित्तीय सूचक भएकै कम्पनीको मूल्य पनि निकै तल्लो विन्दुमा आइसकेको छ । पीई रेसियोले पनि यसको पुष्टि गर्छ । निरन्तर घटेको बजारमा अल्पकालीन र दीर्घकालीन दुवै प्रकारका लगानीकर्ता उत्साहित हुँदै जानु स्वभाविक नै हो ।
यस्तै, सेयर बजार सधैंभरि एउटै बाटो पनि हिँड्दैन । महिनौं बियरिस ट्रेन्डमा रहेको बजारले सकारात्मक माहोल समाउनु स्भाविक भएको विश्लेषकहरुको भनाई छ । तथापि, बजारले कुन तहसम्मको उचाई तय गर्छ वा कति बढ्छ त्यो भने हेर्न बाँकी नै छ । दुई दिनको वृद्धिबाटै ठोस आँकलन गरिहाल्ने अवस्था नभएको उनीहरुको भनाई छ ।
मौद्रिक नीति ब्याजदर घटाउनेतर्फ केन्द्रित भए पनि सेयर बजारलाई भने प्रत्यक्ष छुन सकेन । लगानीकर्ताको अबको ध्यान बजेटतिर तेर्सिएको छ । बजेटमा पुँजीगत लाभकरका दर घट्न सक्यो भने पुँजी बजारका लागि राम्रो पक्ष साबित हुनेछ । अहिले लाभकरको दर बढी छ ।
सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानले पनि ठूलो भूमिका खेल्छ । बजार बढ्छ भन्ने विश्वास लगानीकर्तामा जागृत हुन आवश्यक छ । आम लगानीकर्तालाई बजार बढ्ने र लगानी गर्दा लाभ मिल्छ भन्ने लागेमा बजारमा पैसा आउन सक्छ । नयाँ लगानीकर्ताको पनि प्रवेश हुन सक्छ । तर यसका लागि सरकार र नियामकले सकारात्मक भूमिका खेल्नुपर्ने हुन्छ ।
यस दिन २६४ कम्पनीको ४४ लाख २२ हजार कित्ता सेयर कारोबार भएको छ । ८ करोड ३३ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र एनआइसी एसिया बैंक परेका छन् ।