काठमाडौं। अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१.५५ प्रतिशत रहेको पाइएको छ। नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को सहकार्यमा गरिएको एक अध्ययनबाट अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ८१.५५ प्रतिशत रहेको देखिएको हो।
सरकार र नीजि क्षेत्रले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ७० प्रतिशत रहेको बताइरहेका बेला साढे ८१ प्रतिशत हिस्सा रहेको अनुसन्धानबाट देखिएको छ। नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान, रोजगारी, राजस्व, पुँजी निर्माणलगायतमा निजी क्षेत्रको योगदानबारे पहिलो पटक अध्ययन गरिएको हो।
महासंघ र आइएफसीले ३ महिना लगाएर गरेको ‘स्टेट अफ प्राइभेट सेक्टर इन नेपाल’ अध्ययन प्रतिवेदनअनुसार अर्थतन्त्रका १८ वटा क्षेत्रमा निजी क्षेत्रको योगदान र अवस्था पत्ता लगाइएको छ। अध्ययनमा वैधानिकरूपमा दर्ता भएका व्यवसाय र दर्ता नभइ सञ्चालित घरधुरीलाई पनि निजी क्षेत्रकै रूपमा लिएको छ। व्यक्तिगत घरधुरीले गरेको आम्दानीलाई पनि निजी क्षेत्रकै रूपमा व्याख्या गरिएकाको छ।
अहिलेसम्म वास्तविक तथ्यमा आधारित भएर कस्को हिस्सा कति छ भन्ने एकिन भएको थिएन। अध्ययनमा उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, घरेलु तथा साना उद्योगमा दर्ता भइ खुलेका उद्योगले दिएको रोजगारीको अवस्थासमेत पत्ता लगाइएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गर्ने राष्ट्रिय लेखा गणनामा आधारित रहेर कुल ग्राहस्थ्य मूल्य अभिवृद्धि (ग्रस भ्यालू एडिएन) विधिद्वारा यो तथ्यांक निकालिएको हो। यसमा नेपालको कुल ग्राहस्थ्य उत्पादनमा गणना गरिने १८ वटा क्षेत्रमा निजी तथा सार्वजनिक क्षेत्रको योगदान निकालिएको हो।
यसैको आधारमा निजी क्षेत्रको कुल योगदान पारिएको हो। यसैबाट निजी क्षेत्रको योगदान आर्थिक वर्ष २०२१/२२ मा ८१.५५ प्रतिशत पुगेको देखिएको हो। यो अध्ययन प्रतिवेदनमा पछिल्लो एक दशकमा निजी क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदान पनि निकालिएको छ। पछिल्लो दशकमा निजी क्षेत्रको योगदान औसतमा ८० प्रतिशत देखिएको छ। अर्थतन्त्रमा नीजि क्षेत्रको सबैभन्दा बढी हिस्सा २०१२/१३ मा ८६.६७ प्रतिशत थियो। २०२०/२१ मा ८० प्रतिशतमा झरेको थियो।
सरकारको खर्च गर्ने क्षमतामा ह्रास, सार्वजनिक सेवा प्रवाहको गुणस्तर खस्किएको, सार्वजनिक संस्थानको प्रभावकारी कार्य कुशलता नहुँदा सरकारी हिस्सा घट्न पुगेको हो। अध्ययनअनुसार निजी क्षेत्रले सन् २०२१/२२ सम्म ५५ लाख जनालाई रोजगारी दिएको छ। त्यसैगरी, लगानीमा वृद्धि ७१.६ प्रतिशत छ। देश भित्र हुने कुल लगानीको ७६.९ प्रतिशत नीजि क्षेत्रको हिस्सा रहेको अध्ययनमा उल्लेख छ।
प्रतिवेदनअनुसार पछिल्लो १० वर्षमा औसतमा निजी क्षेत्रको कुल ग्राहस्थ्य मूल्यअभिवृद्धिमा योगदान उच्च देखिएको छ। क्षेत्रगतरूपमा हेर्दा कृषि ९७.६, खानी उत्खनन्मा ९९.६१, उत्पादनमुलक क्षेत्रमा ९९.९९, विजुली, ग्यासलगायतमा ६५.८८, खानेपानी आपूर्ति व्यवस्थापनमा, ९६.७१, निर्माण क्षेत्रमा ८४.४, होलसेल रिटेल व्यापारमा ९३.१९, यातायात तथा भण्डारणमा ९७.१८, होटल रेष्टुरेन्टमा सतप्रतिशत, सूचना प्रविधिमा ५८.६३, वित्तीय क्षेत्रमा ७१.०४, घरजग्गामा ९९.९३, व्यावसायिक, वैज्ञानिक तथा प्रविधि क्षेत्रमा ६४, प्रशासनिक सहयोगमा (आउटसोर्सिङ व्यवसाय) १०० प्रतिशत, स्वास्थ तथा सामाजिक कार्यमा ३०.६१, शिक्षामा ६२.९, मनोरञ्जन क्षेत्रमा ८६.४ प्रतिशत योगदान रहेको छ।
त्यसैगरी, आयकरतर्फ निजी क्षेत्रको योगदान उच्च देखिएको छ। प्रतिवेदनअनुसार कुल आयकरको ८० प्रतिशत योगदान निजी क्षेत्रबाटै हुने गरेको छ। सन् २०२१/२२ मा निजी क्षेत्रले आयकरबापत सरकारलाई ७४९ मिलियन बुझाएको छ। त्यसैगरी, सूचीकृत कम्पनीहरूले ५६० मिलियन आयकर बुझाएका छन्।
प्रतिवेदनले सरकारद्वारा सञ्चालित ४४ संस्थानको अवस्था पनि बाहिर ल्याएको छ। सार्वजनिक संस्थानको कारोबार अर्थतन्त्रको १० प्रतिशत मात्रै छ। यही पनि घट्दोक्रममा रहेको देखिन्छ, जसले गर्दा निजी क्षेत्रको योगदान बढी देखिएको अनुमान लगाउन सकिन्छ।
प्रतिवेदनले कोरोना अघि र पछिको अवस्थाको पनि उल्लेख गरेको छ। कोरोनापछि नेपालको व्यावसायिक वातावरणमा कस्तो असर पर्यो भनेर देशभरबाट ५०० भन्दा बढी व्यवसायीसँग सर्वेक्षण गरेको छ।
कोभिडका बेला ८७ प्रतिशत व्यवसाय भन्दा बन्द रहेको अध्ययनबाट देखिएको छ। आंशिक बन्द ३१ प्रतिशत, ८५ प्रतिशत व्यवसाय ४ हप्ताभन्दा बढी बन्द भएको देखिएको हो। ९ देखि १२ हप्ता बन्द भएका व्यवसायको हिस्सा १४ प्रतिशत छ। कोभिडका बेला ७९ प्रतिशत व्यवसाय नोक्सान रहेका थिए।
तर, कोभिडपछि ५० प्रतिशत व्यवसाय नाफामा गइसकेको अध्ययनबाट देखिएको हो। ३१ प्रतिशत व्यवसायीले कोभिडका बेला रोजगारी कतौटी गरेका थिए भने २७ प्रतिशतले उत्पादन घटाए। ६ प्रतिशत नयाँ प्रविधिको प्रयोगमार्फत व्यवसायलाई निरन्तरता दिएको अध्ययनबाट देखिएको हो। २३ प्रतिशत व्यवसायीले आधा तलब दिएर काममा लगाएका थिए।
सर्वेक्षण गरेका मध्ये ७१ प्रतिशत व्यवसाय पुरुषका नाममा दर्ता भएको पाइएको छ भने २१ प्रतिशत व्यवसाय महिलाका नाममा दर्ता भएर सञ्चालन भएका छन्।
महिला पुरुष दुवैको स्वामित्व दर्ता भएर सञ्चालनमा रहेका व्यवसायको संख्या ५ प्रतिशत छ। अन्यको संख्या ३ प्रतिशत छ।
व्यवसाय सञ्चालन गर्न ३१ प्रतिशत व्यवसायीले बैकबाट ऋण लिने गरेको अध्ययनबाट देखिएको छ। १४ प्रतिशतले व्यवसायीले सहकारीबाट, ११ प्रतिशत सरसापटी लिएर व्यवसाय सञ्चालन गरेको पाइएको हो।