काठमाडौं। ‘सुन साइँली साइँली, परदेशबाट म आउँला
सुन साइँली साइँली, ४० कटेसी रमाउँला..’
गायक हेमन्त रानाको यो गीत ६ वर्षअघि खुबै चर्चित बन्यो। मुलुकमा रोजगारी नपाएर आफ्नो परिवार छाडेर विदेशिनुपरेको भावको यो गीतले धेरैको मन छोयो।
चितवनकी अम्बिका धितालले भने यो गीतमा भनेजस्तो ‘४० कटेसी रमाउँला’ होइन, ‘६० कटेसी कमाउँला’ भन्ने उदाहरण दिएकी छिन्। भरतपुर महानगरपालिका–१० स्याउली बजारकी धिताल जेठ २ गते ठ्याक्कै ६३ वर्ष पुगिन्। सामान्यतया अरू व्यक्ति अवकाश हुने र उस्तै परे वृद्ध भत्ता थाप्ने उमेरमा उनी भने उद्यमी बनेकी छिन्।
उनले पाँच वर्षअघि सुरु गरेको ‘मान्द्रो नेपाल’ ले अहिले प्रत्यक्ष/अप्रत्यक्ष १५ जनालाई रोजगारी दिइरहेको छ।
उनको कम्पनीले मस्यौरा, गुन्द्रुक, गाभा, मुलाको चाना, कुभिन्डोको सुकुटी, काउलीको सुकुटी, बन्दाको सुकुटीलगायत सिजनअनुसार मौलिक नेपाली खाद्यान्न उत्पादन गर्छ।
सुरुवाती दिनमा १÷२ किलो उत्पादन गरेकी उनले गएको साल २ हजार किलो खाद्यान बेच्न सफल भइन् । करिब २० लाखमा बेचेको उक्त खाद्यान्नबाट सबै खर्च कटाएर ३ लाखभन्दा धेरै नाफा भएको उनी खुसीसाथ सुनाउँछिन्। उनको उत्पादनको करिब ५० प्रतिशत विदेश निर्यात हुन्छ।
आगामी दिनमा उनी बेसार र मसला पनि थप्ने सोचमा छिन्। अहिलेसम्म अरूको पसलमा सामान बेचिरहेकी अम्बिकाको आफ्नै ‘आउटलेट’ खोल्ने तयारी छ।
अम्बिकालाई पहिला कहिल्यै यस्तो उद्योग खोल्छु भन्ने विचारसम्म आएको थिएन। बरु, उनलाई कपडा व्यवसाय गर्न मन लागेर आठ वर्षअघि फेसन डिजाइनिङमा डिप्लोमा गरेकी थिइन्। उनले व्यवसाय दर्ता नै गरेर घरबाटै कपडा पनि बेचिन्।
सन् २०१२ मा छोरी भेट्न बेलायत गएकी थिइन् । त्यहाँका स्टोर र मार्ट घुम्न पुगेकी उनले चिनियाँ, भारतीय, बंगाली उत्पादन देखिन् तर नेपाली भने देखिनन्।
‘विदेशमा नेपालको सामान नदेख्दा मन खिन्न भयो। नेपाली स्टोरमा पाइने त रहेछ तर मस्यौरा पनि गुच्चाजत्रो,’ अम्बिकाले क्यापिटल नेपालसँग भनिन्, ‘पकाउँदा पनि नपाक्ने। गुन्द्रक किन्यो भने एक फिटको, काटेर पकायो भने बास्ना नै नआउने।’
केही वर्षपछि उनी छोरा भेट्न अस्ट्रेलिया पुगिन्। विदेशमा नेपाली खानेकुराको महत्व बुझेकी उनले गुन्द्रुक–मस्यौरा टन्न बोकेर गएकी थिइन्।
‘२०१६ मा अस्ट्रेलिया जाँदा गुन्द्रुक, मस्यौरा लिएर गएकी थिएँ। त्यो मैले अरू चिनजानका मान्छेलाई पनि बाँडे। सबैले खुब मन पराएर खाए,’ उन भन्छिन्।
उनले बनाएको गुन्द्रक–मस्यौरा खाएकाले ‘नेपाल फर्केपछि यहाँ सप्लाइ गर्न सक्नुहुन्छ?’ भनेर सोधेछन्। उनले पनि ढुक्कसगँ सक्छु भन्ने जवाफ दिइन्। त्यसपछि उनले नेपाली मौलिक खाद्यान्नको बजार बुझ्न थालिन।
‘बुझ्दै जाँदा मलाई यो व्यवसाय नेपालमै पनि राम्रो हुन्छजस्तो लाग्यो,’ उनी सुनाउँछिन्, ‘काठमाडौं, भरतपुरलगायत सहरमा खेती गर्न नमिल्ने ठाँउका मान्छेलाई मध्यनजर गर्दै व्यवसाय गर्ने निणर्य गरेँ।’
व्यवसाय त गर्ने, तर नाम के राख्ने? उनी सोच्न थालिन्। उनलाई मौलिक खानेकुराको ‘ब्रान्ड’ को नाम मौलिक नै हुनुपर्छ जस्तो लाग्यो। ‘यसो सोच्दा गुन्द्रुक, मस्यौरा सुकाउने मान्द्रोमा हो, त्यही भएर ब्रान्डको नाम नै मान्द्रो राख्ने निर्णय गरेँ,’ उनी भन्छिन्।
२०७५ वैशाख २५ बाट सुरु भयो मान्द्रो नेपाल।
सुरुवाती दिनमा उनले खासै धेरै खर्च गरिनन्। ‘काट्ने, कोर्ने सामान घरमै थियो। साग, कर्कलो बारीमै असरल्ल थियो,’ उनी सम्झिन्छिन्, ‘सुकाउन मान्द्रो पनि आफैसँग थियो। केही खर्च नै भएन।’
उनले उत्पादन सुरु गरेको केही समयमै ‘पाँचौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी’ भयो। त्यहाँ उनी सहभागी भइन्। ‘औद्योगिक प्रदर्शनीमा मेरो सामान धेरैले देख्नुभयो र अर्डर पनि आउन थाल्यो,’ उनी भन्छिन्, ‘पछि त भरतपुरमा तीन ठाउँ र काठमाडौंमा एक ठाउँबाट मेरो सामान होलसेलमा पनि मगाउन थाले।’
व्यापार बढ्दै गएपछि मान्द्रोमा सुकाएर नभ्याउने भयो। व्यवसाय सुरु गरेको एक वर्षपछि उनले ‘सोलार ड्रायर’ किनिन्। उनको उद्यमशिलता देखेर भरतपुर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा ‘इलेक्ट्रिक ड्रायर’ पनि दियो। शून्य लगानीमा सुरु गरेको उनको उद्योगमा अहिले लगानी नै १० लाखभन्दा धेरै पुगिसक्यो।
आफ्नो बारीको साग, कर्कलाले नधानेर उनले महिला समूहका साथीहरूलाई ‘उत्पादन गर्नुस्, सबै म किन्छु’ भनेकी छिन्। उनले आफ्नो सामान विदेश पनि पठाइसकेकी छिन्।
‘अहिलेसम्म त मैले सप्लायर्समार्फत निर्यात गरेकी हुँ। अब भने आफ्नै ब्रान्डको नाममा निर्यात गर्छु,’ उनी भन्छिन्। उनी यो व्यवसाय पैसा कमाउन भन्दा पनि नयाँ पुस्ता प्रोत्साहन गर्नका लागि गरेको बताउँछिन्।
‘नाफा नै हेर्ने हो भने मार्जिन १०/१५ प्रतिशतमात्रै हो। मैले यो व्यवसाय गर्दा भावी पुस्तालाई व्यवसाय गर्न प्रोत्साहन हुन्छ,’ उनी भन्छिन्, ‘आफैंलाई पनि खाली दिमाग नहोस् भन्न व्यवसाया गरेकी हुँ।’
उनले बेलायतमा रहेका छोरी र अस्ट्रेलियामा रहेका छोरालाई नेपालमै आएर यो व्यवसाय बढाउन भनेकी छिन्।
‘यो व्यवसाय ठूलो परिणाममा गर्न सके बेलायत र अस्ट्रेलियाभन्दा यहाँ कमाइ राम्रो हुन्छ, नेपाल फर्क भनेकी छु,’ अम्बिकाले थपिन्, ‘उनीहरू पनि मेरो कुरामा सकारात्मक छन्।’