काठमाडौं। बबई नदीमा भत्किएकाे जब्दीघाट पुलमा नयाँ ठेक्का आह्वान हुने भएको छ।
बुधबार पत्रकार सम्मेलन गर्दै भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले भत्किएको पुल नजिकै ६ सय मिटर माथितिर नयाँ पुल निर्माण हुने बताएका हुन्।
‘दश दिनभित्र नयाँ पुल बनाउन ठेक्का आह्वान हुन्छ। भत्किएको पुल निर्माण कम्पनीले मुद्दा हालेको छ। त्यसैले केही माथितिर पुल बनाउन लागेका हाैं,’ मन्त्री ज्वालाले भने।
वैशाख २८ गते नै मन्त्रालयले भत्किएको पुलको संरचना हटाउने निर्णय गरेको र दुईवटा मेसिन परिचालन भएको उनको भनाइ छ।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालका अनुसार 'डिजाइन एन्ड बिल्ड' प्रणालीअनुसार ठेक्का आह्वान हुनेछ।
‘दश दिनमै ठेक्का आह्वान गर्ने योजना हो,' महानिर्देशक ढकालले भने, 'खरिद नियमावली नियम पालना गर्नुपर्छ, त्यसकारण एक–दुई दिन फरक पनि हुनसक्छ।’
साथै, बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयलाई आग्रह गरिएको समेत बताइएको छ। तर, थप लागतबारे भने मन्त्रालय र विभागले प्रष्ट पारेका छैनन्।
लामो समयसम्म पुल नबनेको भन्दै नेपाली कांग्रेसका सांसद सञ्जय गौतम भत्किएको पुलमा अनसन बसेका छन्।