काठमाडौं। चालू आर्थिक वर्ष २०७९/८० को नौ महिना (साउनदेखि चैतसम्म) मा चीनबाट आयात हुने औषधीको परिमाणमा ९१.२ प्रतिशतले कमी आएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको तुलनामा यो वर्ष आयात हुने औषधीमा ९१.२ प्रतिशतले कमी आएको हो। यस वर्ष नौ महिनामा चीनबाट नेपालमा जम्मा ७१ करोड रुपैयाँबराबरको औषधी आयात भएको छ।
तर, गत २०७८/७९ को सोही अवधिमा ८ अर्ब १८ करोड रुपैयाँबराबरको औषधी चीनबाट आायात भएको थियो। त्यस्तै २०७७/७८ को नौ महिनामा २ अर्ब ३१ करोडको आयात भएको थियो।
राष्ट्र बैंकको तथ्यांकअनुसार २०७७/७८ मा ४ अर्ब ५० करोड रुपैयाँबराबरको औषधी आयात भएको थियो।
२०७८/७९ मा ८ अर्ब ४७ करोड रुपैयाँको औषधी चीनबाट आयात भएको थियो। यसरी राष्ट्र बैंकको तथ्यांक हेर्दा गत वर्षको तुलनामा यो वर्ष चीनबाट औषधी आयातमा ठूलो गिरावट आएको छ।
नेपाल औषधी उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहाल कोरोना महामारी मत्थर भएसँगै चीनबाट आयात हुने औषधीको परिमाण कम भएको बताउँछन्।
‘कोरोना महामारीका बेला भ्याक्सिनलगायत औषधी चीनबाट ठूलो मात्रामा आएको थियो,’ पूर्वअध्यक्ष दाहालले क्यापिटल नेपालसँग भने, ‘तर, कोरोना महामारी घटेसँगै चीनबाट नेपाल आयात हुने औषधी कम भएको हो।’
उनले महामारीअघि पनि चीनबाट कम मात्रामा औषधी आयात हुने गरेको बताए। कोरोना महामारीका बेलामात्रै ठूलो मात्रामा औषधी आयात भएको उनको भनाइ छ।
तर, चीनबाट हुने औषधी आयातमा ठूलो गिरावट आए पनि मेडिकल उपकरण आयातमा भने १.५ प्रतिशतमात्रै गिरावट आएको छ। राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष नौ महिनामा ३ अर्ब ७४ करोड रुपैयाँबराबरका मेडिकल उपकरण चीनबाट आयात भएको छ।
२०७८/७९ को सोही अवधिमा ३ अर्ब ८० करोड रुपैयाँको मेडिकल उपकरण आयात भएको थियो। त्यसअघि २०७७/७८ को नौ महिनामा ३ अर्ब १२ करोडको मेडिकल उपकरण आयात भएको थियो।
राष्ट्र बैंक तथ्यांकअनुसार २०७७/७८ मा ७ अर्ब ८२ करोडको मेडिकल उपकरण चीनबाट आयात भएको थियो। २०७८/७९ मा ५ अर्ब १८ करोडको आयात भएको थियो।