काठमाडौं। राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशहरुले गरेको अनुमानित योगदानको तथ्यांक सार्वजनिक गरेको छ।
कार्यालयका अनुसार राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा ५३ खर्ब ८१ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ। जिडिपीमा सबैभन्दा बढी योगदान बागमती प्रदेशको छ।
बागमती प्रदेशको ३७ प्रतिशत योगदान रहेको कार्यालयले जनाएको छ। सबैभन्दा थोरै योगदान गर्नेमा कर्णाली प्रदेश भएको छ।
कुल जिडिपी बागमती प्रदेशले ३७ प्रतिशत योगदान गरेको छ। यस्तै दोस्रोमा कोशी प्रदेश भएको छ। कोशी प्रदेशले १६ प्रतिशत योगदान गरेको छ। लुम्बिनी प्रदेशले १४ प्रतिशत, मधेस प्रदेशले १३ प्रतिशत, गण्डकी प्रदेशले ९ प्रतिशत, सुदूरपश्चिम प्रदेशले ७ प्रतिशत, कर्णाली प्रदेशको ४ प्रतिशत योगदान रहेको कार्यालयले जनाएको छ।
बागमती प्रदेशको उपभोक्ताको मूल्यमा १९ खर्ब ८१ अर्ब, कोशी प्रदेशको योगदान ८ खर्ब ४९ अर्ब, लुम्बिनी प्रदेशको ७ खर्ब ६२ अर्ब, मधेस प्रदेशको ७ खर्ब ७ अर्ब, गण्डकी प्रदेशको ४ खर्ब ८२ अर्ब, सुदूरपश्चिम प्रदेशको ३ खर्ब ७६ अर्ब र कर्णाली प्रदेशको २ खर्ब २१ अर्ब रुपैयाँ रहने अनुमान छ ।