काठमाडौं। नेपाल टेलिकमले भारत र थाइल्यान्डमा टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर उल्लेखनिय रूपमा कमी गरेको छ।
टेलिकमले मे १७ मा मनाइने आईटीयु डे, २०२३ को अवसरमा यही जेठ ३ गतेदेखि लागू हुनेगरी नयाँ महसुल दर कायम गरेको छ।
अब नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने सेवाग्राहीले पहिलेभन्दा धेरै नै कम महसुल दरमा रोमिङ सेवा प्रयोग गर्न सक्ने छन्। नयाँ दरअनुसार भारतमा नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ७ रुपैयाँ शुल्क लाग्नेछ।
त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल पनि प्रति मिनेट ७ रुपैयाँ लाग्नेछ भने एसएमएस गर्दा प्रतिएसएमएस ७ रुपैयाँ नै लाग्ने छ।
हाल भारतको कुनै नम्बरमा कल गर्दा ३० रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा १४ रुपैयाँ र एसएमएस गर्दा २४ रुपैयाँ लाग्ने व्यवस्था टेलिकमले गरेको छ।
त्यसैगरी थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँ मात्र लाग्नेछ भने कल आएको प्रतिमिनेट २५ रुपैयाँ र एसएमएस गर्दा प्रतिएसएमएस १० रुपैयाँ लाग्नेछ।
हाल कुनै नम्बरमा कल गर्दा १३५ रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा ९० रुपैयाँ लाग्ने व्यवस्था छ भने एसएमएस गर्दा प्रति एसएमएस ३४ रुपैयाँ लाग्ने व्यवस्था छ।
त्यसैगरी डाटा चलाउँदा हाल प्रतिएमबी ४० शुल्क भएकोमा अब प्रति १०० केबी ०.४९ पैसामा उपलब्ध हुनेछ। यस अनुसार प्रति एमबी करिब ५ रुपैयाँ मात्र लाग्नेछ।
अन्य देशमा जाँदा रहँदा समेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा अन्तर्राष्ट्रिय रोमिङ सेवा हो। यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर सिम प्रयोग गरी कल गर्न र फोन उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस आदानप्रदान गर्न सकिन्छ।