काठमाडौं। करिब एक महिनाको पर्खाइपछि आरोहीहरू म्याग्दीस्थित धवलागिरि हिमालको चुचुरोतर्फ लागेका छन्।
८,१६७ मिटर अग्लो उक्त हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ। गत चैत महिनाको अन्तिम सातादेखि आधार शिविरमा रहेका आरोहीहरू धवलागिरिको चुचुरोको नजिकै पुगेका त्यहाँ रहेका छेपाल शेर्पाले आफ्नो फेसबुकमार्फत जानकारी गराएका छन्।
छ हजार एक सय मिटर उचाइको धवलागिरिको दोस्रो आधार शिविरबाट सोमबार करिब सात हजार मिटर उचाइमा रहेको तेस्रो शिविरमा आरोही पुगेका उनले बताए। धवलागिरिको पहिलो, दोस्रो र तेस्रो आधार शिविरसम्म शेर्पाहरूले आरोहीका लागि बाटो बनाइसकेका छन्।
दैनिकजसो पानी परेको र हिमपात भएकाले आरोहीहरूलाई समस्या भए पनि स्पेनका ८३ वर्षीय कार्लोस सोरियाको टोली क्याम्प–३ मा पुगेको छ। मौसमले साथ दिएमा मंगलबार चौथो आधार शिविर पुग्ने तयारी गरेको उक्त टोली बुधबारसम्म धौलागिरिको चुचुरो चुम्ने योजनामा छ।
कार्लोसको आरोहण दलको नेतृत्व सेभेन समिट ट्रेकिङ कम्पनीका मिङ तेम्बा शेर्पाले गरेका छन्। यो उनको १३औँ पटकको प्रयास हो। गत वर्ष १२औँ पटकको प्रयासमा कार्लोस सात हजार मिटरको उचाइमा पुगेर फर्किएका थिए।
धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका उनको दुई दशकयता १२औँ पटक आरोहण गर्दा पनि धौलागिरिको चुचुरोमा पुग्ने सपना पूरा हुनसकेको थिएन। पर्यटन विभागका अनुसार वसन्त ऋतुको यस याममा २४ पुरुष र ११ महिलाले धवलागिरि हिमाल आरोहणको अनुमति लिएका छन्।
सेभेन समिटका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंले आफ्नो कम्पनीबाट २६ जनाले धवलागिरि हिमाल चढ्न लागेका बताए । आधार शिविर पुगेर हेलिकोप्टरमा फर्किएका म्याग्दी दानाका पर्यटनकर्मी इन्द्रसिंह शेरचनले आरोहीहरू चुचुरोमा पुग्न अनुकूल मौसमको पर्खाइमा रहेका बताए। ‘वैशाखमा धेरै हिउँ परेकाले आरोहणका लागि आएकाहरू बेसक्याम्पमा एक महिनाभन्दा धेरै समय बस्नु परेको थियो,’ पर्यटकको उद्धार र व्यवस्थापकीय कार्यमा संलग्न उनले भने, ‘मौसम परिवर्तन, तापक्रम वृद्धि र वातावरणीय प्रदूषणको असर हिमालमा पनि परेको छ।