काठमाडौं। होटल एसोसिएसन नेपाल (हान) ले पहिलो पटक आफ्नो स्थापना दिवस मनाउने भएको छ। हानको स्थापना १९६६ जनवरी २२ मा भएको मितिलाई आधार मान्दै प्रत्येक वर्ष नेपाल आतिथ्य दिवस मनाउने निर्णय गरेको अध्यक्ष विनायक शाहले जानकारी दिए। सो दिन हानले विभिन्न गतिविधिका कार्यक्रमहरू आयोजना गरी मुलुकभरी नै मनाउने निर्णय समेत गरेको उनले बताए।
संघको कार्यकारिणी परिषद्को बैठकमा पदाधिकारीहरू र देशैभरिबाट प्रतिनिधित्व गर्ने कार्यसमिति सदस्यले होटल संघ नेपालको आगामी वार्षिक नीति, बजेट तथा कार्यक्रम पारित गर्नुका अतिरिक्त समसामयिक विषयमा निर्णयसहित महिला तथा युवा होटल उद्यमीलगायतका ९ विभिन्न उपसमिति गठन र दायित्व निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकको त्रैमासिक मौद्रिक नीतिको समिक्षा मार्फत २०८० असार मसान्तसम्म पुनरसंरचना र पुनरतालिकीकरण गर्न पाउने नीतिलाई हानले स्वागत गरेको छ। मौद्रिक नीतिको समिक्षामार्फत समस्याग्रस्त होटल क्षेत्रलाई कर्जा व्यवस्थापनमा राहत दिने हेतुले ०८० असार मसान्तसम्म पुनरसंरचना र पुनरतालिकीकरण गर्न पाउने उल्लेख गरेको थियो।
संघको काठमाडौंमा सम्पन्न कार्यकारिणी परिषद् बैठकले मौद्रिक नीतिको समीक्षामा गरिएका प्रावधानहरू स्पष्ट र सरल ढंगमा छिटोभन्दा छिटो लागू गर्न कार्यविधि र निर्देशिका बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र गरिनुपर्ने माग गर्दै घोषित नीति र निर्देशन सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूबाट हुबहु कार्यान्वयन हुन पनि माग गरेको छ।
संघले यसअघि भएका यस्तै समीक्षामा घोषित नीति तथा निर्देशनहरू लागू गर्न कार्यविधि र निर्देशिका जारी गर्न ढिलाई तथा बैंक तथा वित्तीय संस्थाहरूका सम्बन्धित सञ्चालक समितिहरूबाट समेतको निर्णय देखाएर फरक र ढिलो गर्ने व्यवहारप्रति ध्यानआकृष्ट गर्दै होटल संघ नेपालले यस विषयमा बैंकर्स संघसँग नजिकबाट सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
एकल अंकको ब्याजदरप्रति हानले गर्दै आएको माग र आगामी आर्थिक वर्षको सरकारी नीति तथा कार्यक्रम, राष्ट्रिय बजेट, वित्तीय एवं मौद्रिक नीतिमा यस क्षेत्रको सुधार तथा विकासका लागि होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यताका साथै पर्यटन तथा होटल क्षेत्रको विकासका लागि राष्ट्रिय कार्यनीतिसहितको व्यवसायमैत्री ठूला प्रकृतिका प्रवर्द्धनात्मक कार्यक्रम लगायत कोभिडपछि क्रमशः उत्थान हुँदै आएको होटल तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम आवश्यक रहेको जनाएको छ। बैठकले पूर्व कार्यसमिति सदस्य घनश्याम श्रेष्ठको संयोजकत्वमा होटल संघ नेपाल बागमती प्रदेश तदर्थ समिति पनि गठन गरेको छ ।