काठमाडौं। कर्मचारी सञ्चय कोषले ब्याजदर पुनरावलोकन सुरु गरेको छ। ब्याजदर पुनरावलोकन गर्न लगानी विभागका प्रमुख ठाकुरजंग थापाको संयोजकत्वमा अध्ययन समिति बनाएको छ।
समितिले बजारको अध्ययन गरेर सञ्चयकर्ताको निक्षेपमा दिने र ऋणमा लिने ब्याजदर तयार पारी सिफारिस गर्ने छ। समितिले गरेको सिफारिसका आधारमा कोष सञ्चालक समितिले साउन १ गतेदेखि लागू हुनेगरी ब्याजदर कार्यान्वयनमा ल्याउने छ। ब्याजदरका आधारमा कोषले बजेट बनाउने गर्छ।
अहिले बैंक ब्याजदरको अवस्थाबारे सूक्ष्मरूपमा अध्ययन भइरहेको उनले सुनाए। संस्थागत निक्षेपको ब्याजदर घटेका कारण सञ्चय कोषलाई दबाब छ।
संस्थागत निक्षेपको ब्याजदर २ प्रतिशत बिन्दुले कम राख्दा सञ्चयकर्ताले बचत रकम झिकेर बैंकमा राख्ने डर सञ्चय कोषलाई छ।
बैंक ब्याजदर पनि घट्ने भएकाले सञ्चय कोषलाई पनि घटाउन दबाब परेको उनको भनाइ छ। ब्याजदर कति घटबढ हुन्छ, त्यो अध्ययन समितिको प्रतिवेदन आएपछि मात्र थाहा हुनेछ।
आगामी असार/साउनसम्म बजारको ब्याजदर के रहन्छ, त्यही आधारमा ब्याजदर निर्धारण हुने उनको भनाइ छ। अहिलेको अवस्था हेर्दा ब्याजदर घट्ने सम्भावना देखिन्छ।
साउन १ आइतबारबाट लागू हुनेगरी सञ्चय कोषले बचत र ऋण दुवैको ब्याजदर १.५ प्रतिशत बिन्दुले बढाएको थियो।
कोषले सञ्चयकर्तालाई बचतमा दिने ब्याजदर १.५ प्रतिशत बिन्दुले बढाएर आठ प्रतिशत पुर्याएको थियो। सञ्चयकर्तालाई दिने ऋणको ब्याजदर १.५ प्रतिशत बिन्दुले बढेर ९.१ प्रतिशत पुगेको छ।
सञ्चयकर्ता घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ९.७५ प्रतिशत कायम गरिएको कोषले जानकारी दिएको छ।
यस्तै जग्गा खरिद र सरल चक्र कर्जामा १०.२५ प्रतिशत कायम भएको छ। कोषको बचत र ऋणको ब्याजदर अन्तर (स्प्रेड) १.१ प्रतिशत रहेको छ। सञ्चय कोषमा ६ लाख सञ्चयकर्ता आबद्ध छन्।