काठमाडौं। सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट चालू आवको भन्दा घटाएर ल्याउने तयारी गरेको छ।आर्थिक संकटका कारण बजेट घटाएर प्राथमिकताका आधारमा आयोजना छनोट गर्ने तयारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।
सोहीअनुसार मन्त्रालयहरुले धमाधम आफु मातहतका कार्यक्रमहरू प्राथमिकता हेर्दै कटौती गरेका छन्। अधिकांश मन्त्रालयले बजेटको सिलिङ घटेकाले नयाँ योजना ल्याउन नसकेको जनाइरहदा सहरी विकास मन्त्रालयले भने प्राप्त बजेट सिलिङ (बजेट सीमा) मासमेत योजना राख्न नसकेर फिर्ता पठाएको छ।
सहरी मन्त्रालयले आव २०८०/०८१ का लागि ५६ अर्ब ७८ करोड ३५ लाखको बजेट सिलिङ पाएको पठाएको थियो। तर, सहरी मन्त्रालयले प्राप्त सिलिङअनुसार कार्यक्रम राख्न नसक्दा ४ अर्ब रुपैयाँ बराबरको सिलिङ फिर्ता पठाएको मन्त्रालयका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुरेशकुमार वाग्लेले बताए।
मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार चालू आवमा भन्दा आगामी आवमा ४ अर्ब २२ करोड ९७ लाख रुपैयाँ घटेरै बजेटको सिलिङ आएको छ। उक्त घटेको सिलिङमा पनि ४ अर्ब रुपैयाँ बराबरका आयोजना नराखी फिर्ता पठाएको मन्त्रालयका सूचना अधिकारी वाग्लेको भनाइ छ।
समग्र बजेट घट्ने भएपछि अन्य मन्त्रालयले जस्तै सहरी मन्त्रालयले पनि प्रथमिकताका आधारमा आयोजना छनोट गरेको छ। बजेट घट्दा आयोजना कटौती गर्नु परेको भन्ने सहरी मन्त्रालय स्वयमले प्राप्त सिलिङ नै किन फिर्ता पठायो? जवाफमा सुचना अधिकारी वाग्ले भन्छन्, ‘वैदेशिकतर्फको बजेट सिलिङ फिर्ता पठाएका छौं, सिलिङ आएपनि हामीसँग कार्यान्वयन गर्न कार्यक्रम तय भएको छैन। त्यसैले काम गर्न नसकिने बजेट राखेर मात्रै पनि हुँदैन भनेर फिर्ता गरिएको हो।’
उनका अनुसार स्वदेशी रकममा काम हुने आयोजनामा बजेट कम हुने भएको छ। तर, वैदेशिकतर्फ भने तयारी नभएका स्थान र सम्झौता नगरिएको आयोजनालाई सिलिङ आउँदा सिलिङ फिर्ता भएको हो।
६१ अर्बको सिलिङ पाएको मन्त्रालयले ४ अर्ब फिर्ता पठाएर ५२ अर्ब ५६ करोड १६ लाख २७ हजार रुपैयाँका आयोजनामा काम गर्ने गरी बजेट विनियोजन गरेको छ।
चालू आवमा मन्त्रालयलाई पूँजिगततर्फ ५६ अर्ब ४१ करोड ६१ लाख र चालूतर्फ ४ अर्ब ५९ करोड ७१ लाख रुपैयाँ गरी कुल बजेट ६१ अर्ब १ करोड ३२ लाख रुपैयाँ रहेको छ। ६१ अर्बमध्ये पनि ४५ अर्ब ५८ करोड रुपैयाँ नेपाल र १५ अर्ब ४२ करोड ३३ लाख रुपैयाँ वैदेशिक ऋण तथा अनुदान सहायताको रकम हो।
तर, आगामी आवका लागि मन्त्रालयको कूल बजेट घटेपनि वैदेशिकतर्फको रकम भने बढेको छ। आव २०८०/०८१ का लागि सहरी मन्त्रालयमा पूँजिगततर्फ ४९ अर्ब ९५ करोड ६० लाख र चालूतर्फ ६ अर्ब ८२ करोड ७५ लाख रुपैयाँको बजेट सिलिङ रहेको मन्त्रालयले जनाएको छ। उक्त सिलिङमा केही परिवर्तन गरेर कार्यालयहरुले योजना तयार गरेको सूचना अधिकारी वाग्ले बताउँछन्।
क्यापिटल नेपालसँग वाग्लेले भने, ‘अहिले सिलिङ पठाएका थियौं, सिलिङलाई आधार मानेर बजेट बनाउने हो त्यसैले योजना बनाउँदा मन्त्रालय मातहतका कार्यालयले केही परिवर्तन गरेका हुनसक्छन्। त्यो बजेट आएपछि थाहा हुन्छ।’
५६ अर्ब मध्ये नेपालको आफ्नै ३२ अर्ब १० करोड १५ लाख रुपैयाँ र वैदेशिक ऋण एवं सहायतातर्फ २४ अर्ब ६८ करोड २० लाख रुपैयाँ गरी कूल ५६ अर्ब ७८ करोड ३५ लाख रुपैयाँको सिलिङ छ। उक्त सिलिङ चालू आवमा भन्दा आगामी आवका लागि ४ अर्ब २२ करोड ९७ लाख रुपैयाँले कम बजेट हो।
कुल बजेटको सिलिङ घटेपनि चालूतर्फको बजेट र वैदेशिक ऋण सहायतातर्फको बजेट भने बढ्ने भएको छ। चालूतर्फ २ अर्ब २३ करोड ४ लाख र वैदेशिकतर्फ ९ अर्ब २५ करोड ८७ लाख रुपैयाँ बढेर सिलिङ आएको मन्त्रालयको भनाइ छ।
कुल सिलिङअनुसार मन्त्रालयअन्तर्गतको ‘राष्ट्रिय भवन अनुसन्धान केन्द्र’ लाई ३ करोड ७६ लाख, मन्त्रालय स्वयमलाई १३ करोड २९ लाख १९ हजार, ‘नगर विकास कोष’ लाई १८ करोड ६१ लाख, ‘संघिय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय’ लाई ५७ करोड ९५ लाख रुपैयाँको सिलिङ पठाइएको मन्त्रालयका सूचना अधिकारी वाग्ल बताउँछन्।
त्यस्तै ‘काठमाडौं उपत्यका विकास प्राधिकरण’ लाई १ अर्ब ५० करोड ६७ लाख रुपैयाँ, ‘अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समिति’ लाई २ अर्ब ५१ करोड ७३ लाख, ‘स्थानीय पूर्वाधार विकास विभाग’ (डोली) लाई १५ अर्ब ५२ करोड ९८ लाख ४३ हजार र ‘सहरी विकास तथा भवन निर्माण विभाग’ लाई ३२ अर्ब ७ करोड १६ लाख ६५ हजार रुपैयाँको सिलिङ छ।
मन्त्रालयले आयोजना र योजनाहरू छनोट गरेर वैशाख २९ गते अर्थ मन्त्रालयमा पठाइसकेको छ। जेठ १५ गते सरकारले बजेट भाषण गर्नेछ। राष्ट्रिय योजना आयोगले आव २०८०/०८१ का लागि सरकारलाई १६ खर्ब ८८ अर्ब ४० करोडको सिलिङ पठाएको छ। जबकि चालू आवका लागि सरकारले २०७९ जेठ १५ मा १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएको थियो।