काठमाडौं। सिन्धुपाल्चोकमा निर्माणधिन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाबाट आउँदो साउन १५ गतेदेखि बिजुली उत्पादन हुने भएको छ। अहिलेसम्म आयोजनाको ९७ प्रतिशत काम सकिएकाले साउन १५ देखि बिजुली उत्पादनको लक्ष्य तय गरिएको विकासकर्ता मध्यभोटकोसी जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ।
आयोजनाको अब ३ प्रतिशत मात्र काम बाँकी छ। यसअघि असारभित्र आयोजनाबाट बिजुली उत्पादनको लक्ष्य तय गरिएकोमा १५ दिन पछि धकेलिएको कम्पनीले जनाएको छ।
अहिलेसम्म आयोजनाको लट–१ अन्तर्गत सिभिल तथा हाइड्रोमेकानिकल र हेडवक्र्सको काम ९८ प्रतिशत सकिएको छ। इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम तीव्र गतिमा भइरहेको मध्यभोटेकोसीले जनाएको छ।
उपकरण जडानको काम ८५ प्रतिशत सकिएको छ। यस्तै प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको छ। आयोजनाको लागत अनुमान गरिएभन्दा २ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ बढेको छ। कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक आयोजनाको लागत १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ थियो।
आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ पुगेको छ। निर्माणाधीन आयोजनाको सुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ। २०७९ पुसभित्र सक्ने लक्ष्य राखिएकोमा म्याद थपेर असारमा पुर्याइएको थियो।
२०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना लामो भारतीय नाकाबन्दी, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, गत वर्ष असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपास क्षेत्रमा आएको बाढी–पहिरो तथा कोभिड–१९ महामारीको चपेटामा आयोजना परेको थियो।
प्राकृतिक विपत्ति र सिभिल एन्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङ्सी हाइड्रो एन्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यसम्पादनका कारण आयोजना निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ।
आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकल काम इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो। इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिज हाइड्रोले गरिरहेको छ।
आयोजनाको हेड २ सय ३५ मिटर अग्लो छ। सुरुङको लम्बाइ सात किलोमिटर छ।
मध्यभोटेकोसी कम्पनीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ छ। जसमा ५१ प्रतिशत संस्थापक सेयरधनीको हिस्सा छ। संस्थापक सेयरधनीमा विद्युत प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेस्टमेन्ट कम्पनी प्रालिको १ र सिन्धु भोटेकोसी हाइड्रोपावरको १ प्रतिशत सेयर छ।
४९ प्रतिशत सर्वसाधारण सेयरधनी समूहतर्फ सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोक जिल्लाका स्थानीयको १० र सर्वसाधारणको १५ प्रतिशत छ।
मध्यभोटेकोसी आयोजनाले बिजुली बेचेर वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी गर्ने भएको छ। आयोजनाले ५४ करोड २२ लाख युनिट बिजुली नेपाल विद्युत प्राधिकरणलाई बेचेर सो रकम आम्दानी गर्ने भएकोे हो।
कम्पनीले साधारण सेयर निष्कासन गरी रकम संकलन गरिसकेको छ। कम्पनीका साधारण लगानीकर्ता १० लाख ७५ हजार छन्।। नदी प्रवाही (आरओआर) आयोजनाबाट वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ। सुक्खा याममा आयोजनाबाट ८ करोड ३७ लाख र बर्खामा ४५ करोड ४५ लाख युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ।