काठमाडौं। नेपालमा उत्पादन हुने सवारीसाधन दर्ताको बाटो खुलेसँगै विद्युतीय ‘यात्री´ मोटरसाइकल दर्ता भएको छ। यात्रीले आफूले उत्पादन गरेको `पि–१´ विद्युतीय मोटरसाइकल यातायात व्यवस्था कार्यालय गुर्जुधारामा दर्ता गरेको हो।
दर्ता भएको पि–१ मोटरसाइकलले ‘बागमती प्रदेश ०२ बा ४३ प ८६५०´ नम्बर प्लेट प्राप्त गरेको छ। दर्ता भएसँगै पि–१ नेपालमा पूर्णरूपमा उत्पादन भएको सवारीसाधन बनेको छ।
मोटरसाइकल दर्तापछि खुसी व्यक्त गर्दै यात्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ, ‘गत वर्ष आज हामीले हाम्रो विशेष सिरिज प्रयोगकर्तालाई हाम्रो पहिलो पि–१ डेलिभर गर्यौं र आज एक वर्षपछि हामीले पहिलो मेड इन नेपाल गाडी दर्ता गरेका छौं।´यात्रीले यो सफलता दिलाउन सहयोग गर्ने सबैप्रति आभारसमेत व्यक्त गरेको छ।
यसअघि नेपालमा उत्पादन हुँदै आएको यात्री मोटरसाइकल पलायन भएको र उत्पादन बन्द गरेको विषय उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा उत्पादित सवारीसाधन दर्ता गर्ने वातावरण मिलाउन निर्देशन दिएका थिए।
प्रधानमन्त्रीको निर्देशनपछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागले वैशाख १३ गते नेपालमा उत्पादित सवारी दर्ताको बाटो खोल्ने निर्णय गरेको थियो।
जसअनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० को बुँदा नम्बर ११.१ मा नयाँ बुँदा ११.१.९ थप गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गरिएको थियो।
‘यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि विदेशबाट पाटपुर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारीलगायत प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन’ नेपालमा जडान वा उत्पादन हुने सवारी दर्तासम्बन्धी विशेष व्यवस्थाको एक नम्बर बुँदमा उल्लेख छ।
त्यस्तै यही व्यवस्थाको दुई नम्बर बुँदामा ‘नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन दर्ता र नामसारीलगायत कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्यय अभिवृद्धि कर बिजक र प्रचलित कानुनबमोजिम अन्तःशुल्कसम्बन्धी प्रावधान आकर्षित हुने सवारीका हकमा अन्तःशुल्क निकासी फारमसमेत पेस गर्नुपर्ने उल्लेख छ।
यसअघि नेपालमा कुनै सवारीसाधन दर्ताका लागि भन्सार प्रज्ञापनपत्र र भन्सार महसुल तिरेको रसिद अनिवार्य थियो। सोही कारण यात्री मोटरसाइकल दर्ता हुनसकेको थिएन। तर, यो कार्यविधि बनेपछि भने यात्री मोटरसाइकल दर्ताको बाटो खुलेको थियो। पी–१ मोटरसाइकल दर्तासँगै नेपालमा भन्सार प्रज्ञापनपत्र विना दर्ता भएको पहिलो मोटरसाइकल बनेको छ।
दर्तापछि चार वर्षदेखि नेपालमा विद्युतीय मोटरसाइकल उत्पादन गर्दै आएको तर दर्ता हुन नसकेर हैरानी खेप्दै आएको यात्री मोटरसाइकलले ठूलो सफलता प्राप्त गरेको छ।
यात्री मोटरसाइकल चार वर्षअघि नेपालमै डिजाइन, विकास र उत्पादन गर्न स्थापना भएको ‘ब्रान्ड’ हो। स्थापनादेखि यात्रीले करिब १ सय मोटरसाइकल उत्पादन गरेर बिक्री गरिसकेको छ। दर्ता हुन नसक्दा यात्री मोटरसाइकल प्रयोगकर्ताले हैरानी खेपेको र दर्ता हुन नसकेको कारण उत्पादनमा सुस्ताएको यात्रीले आफ्नो उत्पादन दर्ता भएसँगै उत्पादन बढाउने अपेक्षा गरिएको छ।
यात्री मोटरसाइकल अशिम पाण्डेसहित अशेष श्रेष्ठ, कनिष्क सुवाल, सुलभ श्रेष्ठ, कृष्ण श्रेष्ठ, सार्थक शर्मा, बत्सल पाण्डेलगायतको टिमले सुरु गरेको थियो। यात्रीले दर्ता नपाएको भए पनि चार वर्षदेखि आफ्नो सवारी उत्पादनलाई भने निरन्तरता दिँदै आएको थियो।