काठमाडौं। अर्थमन्त्री डा. प्रकाश शरण महतले बिमा कम्पनीप्रतिको विश्वास बढाउन आवश्यक भएको बताएका छन्।
नेपाल बिमा प्राधिकरणको ५५ औं वार्षिकोत्सबको अवसरमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले त्यस्तो बताएका हुन्।
'बिमा भनेको सुरक्षा हो। त्यसैले यसलाई सबैको पहुँचमा पुर्याउन आवश्यक छ,' अर्थमन्त्री महतले भने, 'आम नागरिकलाई बिमा सम्म जोड्न सबैभन्दा पहिला बिमा कम्पनीप्रतिको विश्वास बढाउन आवश्यक छ।'
उनले नेपालको सन्दर्भमा बिमा कम्पनी धेरैले भएको भन्दै बढीभन्दा बढी बिमा कम्पनीलाई मर्जको बाटोमा जानुको विकल्प नभएको बताए।
'बिमा कम्पनीहरुको बारेमा यथेष्ट विस्वास भएन भने सरकारले जतिसुकै चाहे पनि यसलाई अगाडि बढाउन सकिदैन,' महतले भने, 'नेपाल जस्तो देशमा यति धेरै बिमा कम्पनी रहनु सुरक्षा तथा खर्चको हिसाबले पनि ठिक होइन।' उनले बिमा प्राधिकरणले बिमाको हकमा महत्त्वपूर्ण भूमिका खेल्छ भन्नेमा विस्वस्त रहेको बताए।
'सरकारले बिमालाई उच्च प्राथमिकता दिएको छ। सरकारको दायित्व बढिरहेको, रेभ्युन्यु बढिरहेकाले यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय पनि महत्त्वपूर्ण छ,' महतले भने, 'आजैको बजेटले सबै समस्या समाधान हुन्छ भन्ने दाबी म गर्दिन तर अब विस्तारै सुधार हुनेक्रम सुरु भइसकेको छ।'