काठमाडौं। ‘बुबा, मलाई दालमोठ व्यवसाय गर्न मन लाग्यो। दालमोठमा कमाई राम्रै हुन्छ। बरु, त्यसका लागि अलिकति पैसा चाहिएको थियो,’ राजेन्द्रप्रसाद रिजालले बुबातिर पुलुक्क हेर्दै भने।
‘कति चाहिएला त बाबु?,’ बुबाले सोधे।
‘सुरुमा ८/१० हजार भए होला कि?,’ राजेन्द्रले भने।
घरमा पैसा त थिएन, तर उनका बुबाले सरसापट गरेर ६ हजार नगद राजेन्द्रको हातमा थमाइदिए।
जसोतसो पैसा जोहो भयो, तर व्यवसाय चाहिँ कहाँ गर्ने?, राजेन्द्र सोच्न थाले।
उनी पहिले जागिर गर्दा दालमोठको ‘मार्केटिङ’ गर्न चितवन पुगिरहन्थे। त्यहाँको ‘मार्केट ग्याप’ उनले राम्रोसगँ बुझेका थिए। चितवनमै व्यवसाय गर्ने सोचमा उनले त्यहीँ घर भएका आफ्ना ज्वाइँसँग सल्लाह गरे। ज्वाइँले व्यवसाय गर्ने भए आफ्नै घरमा खाली ठाउँ भएको बताए।
‘मलाई त सुनमा सुगन्ध भइहाल्यो। त्यसपछि तुरुन्तै ज्वाइँको घरबाट सानो उद्योग सुरु गरेँ,’ रिजालले क्यापिटल नेपालसगँ भने।
राजेन्द्रले २०४४ सालमा ६ हजारबाट सामान्य कोठामा सुरु गरेको दालमोठ कम्पनी अहिले २२ कट्ठा क्षेत्रफलमा ‘रिजाल फुड एन्ड बेभरेज’ भव्य उद्योग बनेको छ। उद्योगमा प्रत्यक्ष १ सयभन्दा धेरैले रोजगारी पाइरहेका छन्। कम्पनीले हाल दालमोठ, भुजिया, चिप्स, बदामलगायत १ दर्जनभन्दा धेरै उत्पादन गरिरहेको छ।
गत वर्षमात्रै कम्पनीले ३५ करोड रुपैयाँबराबर कारोबार गरेको थियो। यो वर्ष ५० करोडको कारोबार गर्ने राजेन्द्रको लक्ष्य छ। उनको कम्पनीमा १५ करोडभन्दा धेरै लगानी भइसकेको छ। सुरुमा दैनिक ५० किलो उत्पादन गर्ने उनको कम्पनीले अहिले दैनिक ५/६ टन दालमोठलगायत खद्यान्न उत्पादन गर्छ।
उनको उत्पादन नेपालभरि चर्चित छ नै, नेपालबाहेक जापान, हङकङ, अमेरिका, अस्ट्रेलियालगायत देशमा पनि निर्यात हुन्छ। यो सफलता हेर्दा सहज देखिए पनि यसलाई सफल बनाउन उनले धेरै संघर्ष गरेका छन्।
मोरङ सलकपुरमा जन्मिएका राजेन्द्रले प्रारम्भिक अध्ययन गाउँमै गरे। तीन दाजुभाइ र एक बहिनीमध्ये जेठा राजेन्द्र एसएलसी दिएपछि उर्लाबारीस्थित आफ्नै काकाको दालमोठ कारखानामा काम गर्न थाले।
‘त्यो बेला अहिलेजस्तो अत्याधुनिक मेसिन थिएन। हामी आफैं कराइमा दालमोठ बनाउथ्यौं, पोको पाथ्र्यौं र बजार पुर्याउँथ्यौं। मैले त्यहाँ दालमोठ बनाउनेदेखि बेच्नेसम्मको कला सिकेँ,’ उनले भने।
त्यहाँ काम गर्दै जाँदा उनलाई आफैं केही गर्छु भन्ने हुटहुटी बढ्दै गयो। ‘मैले काम राम्रोसँग जानेको छु भन्ने अत्मविश्वास थियो। नारायणगढ, भरतपुर, टाँडी बजार बुझेको थिएँ। यहाँको दालमोठ व्यवसायको ग्याप पूरा गर्न सक्छु भनेर चितवनलाई नै कर्मथलो बनाएँ,’ उनले भने।
सुरुवाती चरणमा उनले सानो भुजिया निकाल्ने मेसिन र प्याकिङ गर्न सामान्य हिटर किने। २/३ जना प्याकिङ गर्ने मान्छे राखे। उनको कम्पनीमा ज्वाइँले पनि केही लगानी थपिदिए। ज्वाइँले लगानी थपे पनि उनलाई आर्थिकरूपमा समस्या परेन। त्यसपछि उनी दिनरात दुःख गर्न थाले।
‘त्यो बेला भारतीय दालमोठको वर्चश्व थियो। टिनको बट्टामा आउँथ्यो र जोखेर बिक्री हुन्थ्यो। हामीले मिक्स दालमोठ, चना, केराउ, मुङ ५० पैसा/१ रुपैयाँको सानो–सानो प्याकेट बनायौं,’ राजेन्द्रले भने, ‘चितवनको घाममा आफैं साइकलमा बेच्दै हिँडे । बिस्तारै व्यापार बढ्दै गयो।’
टाँडीबाट सुरु भएको उनको व्यापार नाराणगढ, हेटौंडा हुँदै बुटवलसम्म फैलिन थाल्यो। व्यापार बढेसँगै उनले अर्को घर नै भाडामा लिएर उद्योग विस्तार गरे। आफूले मात्र धान्न नसक्ने भएपछि राजेन्द्रले आफ्ना दुई भाइलाई पनि कम्पनीमा खटाए र सँगै स्टाफ, मेसिन र उत्पादन बढाउँदै लगे।
‘त्यो बेलामा हामीले बनाएको ५० पैसाको दालमोठ बुटवलका व्यापारीलाई खुब मनपरेछ,’ राजेन्द्रले भने, ‘यो त हामी यहाँ एक रुपैयाँमा बेच्न सक्छौं भनेर ठूलो परिमाणमा अर्डर आयो। सुरुवाती दिनमा बुटवलको बजारले हामीलाई धेरै रुचायो।’
त्यसपछि राजेन्द्रले कहिल्यै पछि फर्केर हेर्नुपरेन। ६ वर्षअघि कम्पनीले चितवन बेल्सीमा २२ कट्ठा जग्गा खरिद गरेर भव्य उद्योग सञ्चालनमा ल्यायो। अहिले कम्पनीमा सानादेखि ठूलासम्म करोडौंका अत्याधुनिक मेसिन छन्।
उनले आफ्नो कम्पनीमा ८० प्रतिशतभन्दा धेरै महिला कर्मचारी राखेका छन्। उनीहरूको भविष्यका लागि सामाजिक सुरक्षा कोषमा योगदान पनि गराइदिएका छन्। ‘महिलाहरूले काम राम्रो र दिगोरूपमा गर्नुहुन्छ। हामीले त्यस्ता अभावमा परेकाहरूलाई प्राथमिकतामा राखेर रोजगारी दिएका छौं,’ उनले भने ।
कोरोना महामारी सुरु भएपछि लकडाउनको समयमा भने उनले तुलनात्मकरूपमा धेरै घाटा बेहोर्नुपर्याे। ‘हामीले उत्पादन पूरै बन्द गरेनौं। सामान पनि पठायौं तर त्यो समयमा पसल बन्द भएका कारण लाखाैंको सामान फिर्ता आयो,’ उनले भने, ‘त्यो दालमोठ हामीले माछाको दानाका लागि बेच्नुपर्याे तर सरकारलाई तिरेको दालमोठको कर फिर्ता हुँदैन।’
व्यवसाय गर्ने क्रममा उनले संघर्षसँगै रमाइलो घटना पनि भोगेका छन्। ‘मलाई चिनेका कोही मान्छेले नेपालका दुरदराजमा रिजाल दालमोठ देख्दा खुसी मानेर फोन नै गर्नुहुन्छ। त्यस्तै विदेशका ठुल्ठूला स्टोरमा हाम्रो उत्पादन देख्दा फोटो नै खिचेर पठाउनुहुन्छ। यस्ता घटनाले धेरै खुसी लाग्छ,’ उनले भने।
राजेन्द्रले कम्पनीमा चाहिने कच्चापदार्थको करिब ५० प्रतिशत भारतबाट आयात गर्ने गरेका छन्। ‘हामीले सकेसम्म नेपालकै कच्चापदार्थ प्रयोग गर्छाैं। तर, यहाँकोले मात्रै धान्न सक्ने अवस्था छैन,’ उनले भने, ‘दाल, चिउरालगायत देशकै उत्पादनले धान्छ। तर, बदाम, केराउ, तेलजस्ता कच्चापदार्थ विदेशी प्रयोग गर्नुपर्छ।’
नेपालमा खपत हुने दालमोठमध्ये ५० प्रतिशत नेपालमै उत्पादन हुने उनले बताए। ‘नेपाली उद्योगले नेपालकै माग पनि धान्न सकेको छैनन्। यसको लागि सरकारले उद्योगमैत्री नीति बनाएर नेपाली उद्योगलाई प्रोत्साहन गर्नुपर्छ,’ राजेन्द्रले भने।
हाल रिजाल दालमोठ आक्रमकरूपमा विदेशी बजारमा विस्तार हुँदैछ। यसका लागि उनका छोराहरू पनि लागिपरेका छन्। ‘हाम्रो ब्रान्ड पनि भारतीय ब्रान्ड झैं संसारका सबै स्टोरमा उपलब्ध होस् भन्ने चाहना हो,’ राजेन्द्रले भने, ‘ढिलो/चाँडो त्यो सपना अवश्य पूरा हुन्छ।’