काठमाडौं। केबुलकार सञ्चालनमा ‘पायोनियर’ मानिँदै आएको आइएमई ग्रुपले यती ग्रुपसँग रहेको पाथीभरा केबुलकारको सतप्रतिशत सेयर खरिद गरेको छ। पाथीभरा केबुलकारमा यतीको ५१ प्रतिशत सेयर थियो।
आगामी असारबाट निर्माण सुरु गर्ने गरी आइएमईले यतीको सेयर खरिद गरेर काम अगाडि बढाएको हो।
ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक गन्तव्य पाथीभरा मन्दिर दर्शन तथा भ्रमण गर्न जाने पर्यटक लक्ष्य गरी केही वर्ष अघिदेखि यती ग्रुपले पाथीभरा दर्शन केबुलकार प्रालिमार्फत केबुलकार निर्माण तयारी थाल्ने बताएको थियो।
तर, अन्तिम समयमा आइएमई ग्रुपलाई आफ्नो हिस्साको सबै सेयर बिक्री गरेको हो। यद्यपि, सेयर कति रकममा खरिद–बिक्री भयो भन्ने विषय गोप्य राखेका छन्। परियोजना लागत भने २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको हुने जनाइएको छ। केबुलकारसहित त्यहाँ होटल पनि निर्माण हुनेछ।
यती आफूले ५१ प्रतिशत सेयर राखेर बाँकी ४९ प्रतिशत विभिन्न साझेदारलाई दिने गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्वदेश गुरुङले काम अगाडि बढाएको थियो।
यती ग्रुपका प्रबन्ध निर्देशक ल्हाक्पासोनाम शेर्पा र उनको परिवारले पाथीभरा मन्दिर दर्शन गरेर फर्किने बेला तत्कालीन प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा (सोनामका भाइ) को हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि केबुलकार निर्माणको काम अगाडि बढाउने वा नबढाउने दोधारमा थिए।
खासगरी यती एयरलाइन्सका अध्यक्ष एवं आङछिरिङकी पत्नी चन्दा शेर्पाले पाथीभरा केबुलकार नबनाउने जोडमा थिइन्। जसका कारण अन्तिम समयमा यतीले आफ्नो सबै सेयर नै आइएमईलाई बिक्री गरेको हो।
पाथीभरा केबुलकारमा आइएमई र ड्रिम्स हिल्स प्रालिको नाममा ५१ प्रतिशत सेयर स्वामित्व भएको छ। बाँकी ४९ प्रतिशत भने तारा जे इन्भेस्टमेन्ट, प्रेम गुरुङ एन्ड ग्रुप प्रालि, खेम के आचार्य, सुरेन्द्र गुरुङ र देवी आचार्य छन्।
आइएमईले नेतृत्व गर्ने पाथीभरा केबुलकार निर्माणका लागि रुख काट्ने काम असारदेखि नै सुरु हुने जनाइएको छ। आइएमई ग्रुपका एक अधिकारीका अनुसार असारदेखि रुख काट्न सुरु गरेर केही महिनाभित्रै अन्य भौतिक संरचना निर्माणको काम अगाडि बढाइने छ।
केबुलकार निर्माण गर्न ४.९ हेक्टर जमिन स्थानीय तहसँग भाडामा लिएको कम्पनीले फुङलिङ नगरपालिका–१० फुरुम्बुमा जमिन खरिद गरी यसअघि नै आफ्नो नाममा ल्याइसकेको छ।
१६ वटा गोन्डुलासहितको केबुलकारमा प्रतिघन्टा ५ सय यात्रु ओहोरदोहोर गर्न सक्ने कम्पनीले जनाएको छ। सहमतिअनुसार पाथीभरा मन्दिर क्षेत्रमा कुनै संरचना नबनाउने र पहिले बनेको प्रवेशद्वारबाटै यात्रुलाई प्रवेश गराइने छ।
सदरमुकाम फुङलिङबाट २० किलोमिटर दुरीमा रहेको काफ्लेपाटीबाट मन्दिरसम्म पैदलयात्रा गर्नुपर्छ। काफ्लेपाटीबाट मन्दिरसम्म पैदल दुरी पाँच किलोमिटर छ। ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा अहिले वार्षिक ३ लाख तीर्थयात्री पैदलै पुग्ने गरेका छन्।
त्यहाँ केबुलकार निर्माणको चर्चा २४ वर्षदेखि हुँदै आएको छ। २०५४ सालमा पाथीभरा क्षेत्र विकास समितिसँगको सहकार्यमा अध्ययनसमेत भएको थियो। केबुलकार फुङलिङ नगरपालिका–११ फावाखोलाको काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म २.७ किलोमिटर लामो हुनेछ।
आइएमईले सातवटै प्रदेशमा एक/एक केबुलकार निर्माण गर्ने घोषणा यसअघि नै गरिसकेको छ। पाथीभरा केबुलकार कोशी प्रदेशमा निर्माण हुनेछ। हाल आइएमईले बागमतीमा चन्द्रागिरि केबुलकार, गण्डकीमा मौलाकाली केबुलकार सञ्चालनमा ल्याइसकेको छ भने लुम्बिनी प्रदेशमा लुम्बिनी केबुलकार निर्माण अन्तिम चरणमा पुर्याएको छ।