काठमाडौं। चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलले वैशाख १९ गते आत्महत्या गरेपछि व्यवसायीले दिएको उधारो उठ्तीमा झन् समस्या उत्पन्न भएको छ।
व्यवसायी कँडेलको आर्थिक लेनदेन नमिलेपछि वीरगन्जका व्यवसायी प्रदिप रुङ्गटाको नाम उल्लेख गरी ‘सुसाइड नोट’ लेखेर कँडेलले आत्महत्या गरेका थिए। उनको आत्महत्यापछि अवस्थाले नयाँ मोड लियो।
आर्थिक अवस्था दिन प्रतिदिन दयनीय बन्दै गइरहेको मात्र होइन, आर्थिक गतिविधि शिथिल हुँदै गइरहेको अवस्था विद्यामान छ। एकातिर बजारमा उधारो नउठेर व्यवसायी तनावमा छन् भने त्यसैका कारण बैंकलाई बुझाउनुपर्ने साँवा, ब्याज तथा किस्ता तिर्न नसकेर व्यवसायी छटपटिएका छन्।
एउटै व्यावसायिक घरानाको बजारमा उधारो ८ अर्ब रुपैयाँभन्दा बढी छ। प्रारम्भिक आकँडाअनुसार बजारमा करिब २ खर्ब रुपैयाँ उधारो छ। व्यवसायीले उधारो उठाउन उधारो लैजानेलाई फोन गर्दा अहिले उनीहरू उल्टै धम्की दिन थालेका छन्।
‘उधारो तिर्न बारम्बार दबाब दिने हो भने तपाईंकै नाम उल्लेख गरेर सुसाइड गर्छु’ भनेर धम्की आउन थालेको छ। केही व्यावसायिक घरानाले बजारबाट उधारो उठाउन ‘बाउन्सर’ को समेत व्यवस्था गरेका छन्। उधारो लैजाने, नतिर्ने र सम्पर्कविहीन हुन थालेपछि व्यावसायिक घरानाले बाउन्सर लगाएर रकम उठाउने मेसो बनाएका थिए।
तर, कँडेलले व्यवसायी रुङ्गटाको नाम लिएर आत्महत्या गरेपछि अधिकांश उधारो लैजानेले उधारो दिनेलाई तपाईंकै नाम लिएर मर्छु भन्न थालेपछि उधारो उठ्ती प्रभावित भएको छ।
एक कम्पनीबाट एकजनाले ३० लाख रुपैयाँबराबरको खानेतेल उधारोमा लिएका थिए। कम्पनी सञ्चालकले उधारो लैजाने पार्टीलाई ३० लाख तिर्न दबाब दिइरहेका थिए। त्यही बेला कँडेलको मृत्य प्रकरण बाहिरिएपछि तेल कम्पनीबाट उधारो लैजानेले ‘तपाईंकै घरमा आएर आत्महत्या गर्छु’ भनेर धम्क्याए। त्यसपछि उधारो दिने व्यक्तिले ‘मेरो पैसाको चिन्ता नलिनुस्, सकेको बेला दिनुहोला’ भनेर फोन काटिदिए।
अहिले कुनै पनि व्यवसायीले ‘उधारो तिर्नुस्’ भनेर फोन गर्ने आँट गरेका छैनन्। ‘आर्थिक अवस्था राम्रो छैन,’ एक उद्योगीले क्यापिटल नेपालसँग भने, ‘उधारो लैजाने के–कस्ता पीडामा परेको हुन्छ, थाहा हुने कुरा भएन। फ्याट्ट हाम्र्रै फोनका कारण आत्महत्या गरेको हुँ भन्ने सुसाइड नोट भेटियो भने अर्को आपत आइलाग्छ। त्यही भएर कोही पनि फोन गर्न आँट गरिरहेका छैनन्।’
उधारो लानेको पीडा आफ्नो ठाउँमा छ। तर, उधारो दिनेको पीडा कसैले बुझ्न सकेको छैन। ‘समयमा तिर्छु भनेर उधारो लैजाने, पछि तिर्नुस् भनेर फोन गर्दा उल्टै मर्छु भनेर धम्की दिने?,’ ती उद्योगीले आक्रोश पोखे, ‘भोलि हामीलाई बैंकबाट ऋण तिर्न फोन आउँदा पनि बैंकलाई पनि त्यसै भनेर धम्क्याउन?’
अहिले गलत नियत राख्ने व्यवसायीलाई ‘तेरो नाम लिएर मर्छु’ भनेर धम्क्याउन सजिलो माध्यम बनेको उद्योगी बताउँछन्। आर्थिक लेनदेनका कारण मृत्यवरण गर्दा आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले नाम उल्लेख गर्नेलाई पक्राउ गर्ने भएकाले पनि उधारो लैजानेको मनोबल उच्च भएको उद्योगी बताउँछन्।
व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा हुँदा बजारमा कसले बढी उधारोमा सामान बेच्ने भन्ने होड चल्यो। अझ नयाँ कम्पनी बजारमा आफ्नो ‘ब्रान्ड’ स्थापित गराउन सस्तोभन्दा सस्तो र उधारोमै सामान फ्याँके। अहिले उनीहरू उधारो उठाउन ताकेता गर्दा मर्ने धम्की सुन्न बाध्य छन्।
यस्ताखाले विकृतिले प्रश्रय पाउँदै जाने हो भने भोलिका दिनमा साना व्यवसायी यस क्षेत्रबाट पलायन हुने खतरा बढ्छ। ‘किनभने, उनीहरूले उधारोमा सामान लैजान्छन्, निश्चित समयभित्र भुक्तानी गर्छन् र नयाँ सामान उधारोमै लैजान्छन,’ अर्का एक उद्योगीले भने, ‘तर, उधारो तिर्न अनुरोध गर्दा उनीहरूबाट मर्ने धम्की आउन थाल्यो भने भोलिका दिनमा उधारो दिँदैनन्। एकैपटक नगद तिरेर सामान लैजान सम्भव हुँदैन। त्यस्ता चरित्र भएकालाई बैंकले पनि पत्याउँदैन।’
अहिले ‘मर्दिन्छु’ भन्ने धम्की उधारो नतिर्ने ठूलो बहाना भएको छ। उधारो उठाउन फोन गर्ने पनि ‘मर्दिन्छु’ भन्ने शब्द सुनेर डराउँछ। त्यतिमात्रै होइन, त्यही व्यक्तिलाई दोस्रोपटक उधारो तिर भनेर फोन गर्नसमेत आँट गर्दैनन्। अहिले बजार त्यही गतिमा अघि बढेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ बताउँछन्।