काठमाडाैं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साेमबार सामान्य अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक तीन दशमलव ३४ अंकले घटेर एक हजार आठ सय १८ दशमलव ३१ अंकमा कायम भएको हो।
सोमबार दुई सय ६६ वटा कम्पनीको २३ लाख ४१ हजार दुई सय ४० कित्ता शेयर २० हजार एक सय ५८ पटक खरिद बिक्री हुँदा ७२ करोड ४९ लाख ६९ हजार नौ सय ८० रूपैयाँ बराबरको कारोबार भएको छ।
आज विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको उपसूचक बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। विकास बैंक समूह १० दशमलव ५५, वित्त समूह एक दशमलव ११, उत्पादन तथा प्रशोधन समूह २२ दशमलव ७० र लघुवित्त समूह १० दशमलव ८० अंकले बढेको छ।
सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक ५१ दशमलव ७७ र होटल तथा पर्यटन समूहको उपसूचक १६ दशमलव ६४ अंकले घटेको छ।
बैंकिङ समूह तीन दशमलव ७०, जलविद्युत् समूह पाँच दशमलव ३४, लगानी समूह शून्य दशमलव ०६, जीवन बिमा समूह आठ दशमलव ४७, म्युचुअल फन्ड शून्य दशमलव ०५, व्यापार समूह ६ दशमलव ९४ र अन्य समूह सात दशमलव ४५ अंकले घटेको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंक ग्रोथ फन्डको सेयर मूल्यमा आज सबैभन्दा धेरै नौ दशमलव ८८ प्रतिशतको वृद्धि देखिएको छ भने सबैभन्दा धेरै घट्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्यमा ६ दशमलव ४५ प्रतिशतको गिरावट देखिएको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआइसी एसिया बैंक लिमिटेडको तीन करोड चार लाख ६७ हजार रूपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको एक लाख ३९ हजार ६ सय ३० कित्ता शेयर किनबेच भएको छ।