काठमाडौं। चिनियाँ बहुमत लगानीमा सञ्चालित होङ्सी शिवम् सिमेन्ट प्रालि दाङ सिमेन्ट स्थापना गर्न तयार भएको छ। केही महिनाअघि दाङमा सिमेन्ट उद्योग खोल्ने योजनाबाट पछि हटेको होङ्सी अहिले समझदारी (एमओयु) गर्न तयार भएको हो। होङ्सीले एमओयु गर्न तयार रहेका जानकारी बोर्डलाई गराएको छ।
होङसी अहिले दाङमा सिमेन्ट उद्योग खोल्न भनेर फेरि सम्पर्कमा आएको लगानी बोर्ड स्रोतले बतायो। ‘दाङमा सिमेन्ट उद्योग खोल्ने योजनाबाट पछि हटेको होङसी अहिले समझदारी (एमओयु) गर्न तयार भएको छ’ स्रोतले क्यापिटल नेपाललाई भन्यो, ‘मस्यौदा परिमार्जन गरेपछि होङसीसँग समझदारी हुने छ।’
लगानी बोर्डले कुल लागतको ०.५ प्रतिशत धरौटी (परफरमेन्स बन्ड) लिने व्यवस्था एमओयुमा थप्न लागेको छ। यसअघि निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) नीतिअन्तर्गत आएका परियोजनासँग मात्र परफरमेन्स बन्ड लिने गरेकोमा अब परियोजना लगानी सम्झौता (पिआईए) हुने परियोजनासँग पनि धरौटी लिने व्यवस्था गरेको हो।
बोर्डले दाङमा सिमेन्ट कारखाना निर्माणका लागि ३२ अर्ब ५० करोड रुपैयाँ लगानी स्वीकृति दिइसकेको छ। लगानी बोर्डको २०७७ असार ५ को बैठकले लगानी स्वीकृत गरेको थियो। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकले २०८० असारभित्र परियोजना लगानी सम्झौता (पिआइए) गर्न समयसीमा तोकेको थियो। एमओयुमा भएको ढिलाइले निर्धारित समयमा पिआइए नहुने भएको छ। पिआइएको म्याद थप्नुपर्ने अवस्था आएको बोर्डको भनाई छ।
पिआइए भएपछि दाङले सिमेन्ट कारखाना पूर्वाधार तयार र खानी उत्खनन अनुमतिपत्र (लाइसेन्स) पाउने छ। दाङ सिमेन्टको दैनिक क्षमता ६ हजार टन हुने छ। उद्योगले सिमेन्टको कच्चा वस्तु क्लिंकरसमेत उत्पादन गर्ने लक्ष्य राखेको छ।
उद्योगमा चीनको होङ्सी सिमेन्टको माउ कम्पनी हङकङ रेडलाइन नम्बर ३ लिमिटेडले स्थापना गरेको एसएचई इन्भेस्टमेन्ट होल्डिङ्स, विजय दुगड, केसी समूह र कृष्णमुरारी अमात्यको लगानी हुने बताइएको छ।
सिमेन्ट कच्चापदार्थ क्लिंकर उत्पादन गर्न उद्योगले खानी लिइसकेको छ। उद्योगले जग्गा खरिद साथै खानी सञ्चालन अनुमति पनि पाइसकेको छ। यस्तै उद्योग परिसरमा सडक र विद्युत प्रशारण लाइन पूर्वाधार पनि पुगिसकेको छ। वातावरणीय प्रभाव मूल्यांकन (इआइए) समेत भए पनि थप (सप्लिमेन्टरी) इआइए हुन बाँकी छ।
उद्योगले ४० मेगावाट विद्युत खपत गर्ने अनुमान छ। त्यसमध्ये १२ मेगावाट बिजुली उद्योगले नै उत्पादन गर्ने छ। उद्योगबाट निस्किने धुलोबाट विद्युत उत्पादन हुनेछ। सिमेन्ट कारखाना पूर्वाधार तयार नहुँदै भारतको अम्बुजा सिमेन्ट लिमिटेड एसएचई इन्भेस्टमेन्टलाई बिक्री गरी नेपालबाट बाहिरिएको थियो।
भारतको अम्बुजा सिमेन्ट लिमिटेडले एसएचईलाई ६२ करोड रुपैयाँमा २० लाख २९ हजार कित्ता सेयर बिक्री गरिसकेको छ। कम्पनी रजिस्ट्रारको कार्यालयले अम्बुजाको सेयर एसएचई इन्भेस्टमेन्टमा हस्तान्तरण गरिसकेको छ।
सिमेन्टमा चिनियाँ कम्पनी एसएचई इन्भेस्टमेन्टको झन्डै ८५ प्रतिशत स्वामित्व हुने बताइएको छ। बाँकी नेपाली लगानीकर्ताको हुनेछ। सिमेन्ट कारखाना र खानी उत्खनन पूर्वाधार तयारीका लागि सेयर रहने भएको छ।
दाङ सिमेन्टमा अब चिनियाँ कम्पनी एसएचई इन्भेस्टमेन्टको २० लाख २९ हजार कित्ता स्वामित्व हुनेछ। त्यस्तै नेपाली लगानीकर्ताहरू विजय दुगडको ६२ हजार ७ सय ३०, सूर्यबहादुर केसी परिवारको ३३ हजार ७ सय ३० र कृष्णमुरारी अमात्यको ७९ हजार कित्ता स्वामित्व रहेको कम्पनी राजिस्ट्रारको कार्यालयले जनाएको छ।
लगानी बोर्डको ४७औं बैठकले सेयर किनबेच सम्झौता पनि स्वीकृत गरेको थियो। उद्योगमा ४० प्रतिशत स्वपूँजी (इक्विटी) र ६० प्रतिशत ऋण लगानी हुनेछ।
उद्योगका लागि ४० बिघा जग्गा खरिद भइसकेको छ। उद्योगको सिमेन्ट कारखाना दाङ बबई गाउँपालिका पुरनधारा र क्लिंकर उत्पादन खानी सल्यान त्रिवेणी र कालिमाटी गाउँपालिकामा छ।
दाङ सिमेन्ट चीनको हङकङ लायनको नेपालमा दोस्रो उद्योग हो। यसअघि नेपाली साझेदार शिवम् सिमेन्ट लिमिटेडको ३० र हङकङ रेडलायनको ७० प्रतिशत लगानीमा स्थापना गरेको होङ्सी सिमेन्ट रहेको छ।
बजार खुम्चिँदै गएका बेला नेपालमा सिमेन्ट उद्योगको संख्या ८० पुगेको छ। ६० वटा ग्राइन्डिङ मिल र बाँकी २० वटा क्लिङकर उत्पादन गर्ने उद्योग सञ्चालनमा छन्।। सञ्चालनमा भएका उद्योग आधाभन्दा कम क्षमतामा सञ्चालनमा छन्। अझै केही ठूला सिमेन्ट उद्योग पाइपलाइनमा छन्।